काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचाररत कोरोना संक्रमित युवा अस्पताल पुग्नुअघि धेरै व्यक्तिको सम्पर्कमा रहेको पाइएको छ।
उनी चैत ६ गते (मार्च १९) मा युएईको सारजाँहबाट एयर अरेवियाको उडानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए। त्यसपछि उनी ट्याक्सी चढेर सामाखुसी क्षेत्रमा रहेको गोरखा-तनहुँ होटलमा बसेको पाइएको छ। उनले त्यहाँ काठमाडौंका एक बैंकका म्यानेजरलगायतका साथीहरुलाई भेटेका थिए।
‘उनीहरुले त्यहाँ दुई/तीन दिनसम्म भेटघाट र रमाइलो गरेको पाइएको छ। धेरैलाई भेटेको छ। पटकपटक साझा यातायात चढेको छ’ अस्पताल स्रोतले भन्यो।
धादिङ घर भएका ती ३२ वर्षिय युवालाई भेटेका व्यक्ति पनि धेरै ठाउँमा पुगेको भन्दै मन्त्रालय पनि चिन्तित भएको बताइएको छ। तर, उनी आएलगत्तै लकडाउन भएकोले उनीसँग सम्पर्कमा आएका व्यक्ति काठमाडौं छाडेर जान नपाएको मन्त्रालयका कर्मचारी बताउँछन्।
मन्त्रालयका एक कर्मचारीले भने, ‘कोरोना संक्रमण देखिएकी युवती बरु बाहिर घुमेको पाइएन। तर, ती युवाले भने धेरैतिर घुमेर जोखिम थपिदिए। ती भाइले भेटेका बैंकका म्यानजरसहित केही सम्पर्कमा आएका छन्। तर उनीहरु पनि कहाँ कहाँ पुगेका छन्?’
ती युवा चैत ६ गते नेपालमा आएपनि १० गते मात्र टेकु अस्पताल पुगेका थिए। अस्पताल पुगेका उनको नमुना परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको हो।
तर, उक्त अवधिमा उनी धादिङ घरमा भने गएका थिएनन्। उनले विभिन्न स्थानमा जानका लागि साझा यातायात र ट्क्यासी लिएका थिए। ‘उनी आएदेखि रमाइलोमै थिए, स्थिती गम्भीर छ। अहिले उनका साथी परीक्षणका लागि आएका छन्। १४ दिन क्वारेन्टाइनमा नबसी जाँच हुँदैन, अरु सम्र्पकमा आउँदै छन्,’ मन्त्रालय स्रोतले भन्यो।
स्वास्थ्य मन्त्रालयले उनी गएका स्थान र भेटेका व्यक्ति र ती व्यक्तिको सम्पर्कमा आएका अन्यको पनि विवरण संकलन गरिरहेको छ।