काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणका लागि खरिद गरेको र्यापिड टेस्ट किट तत्काल प्रयोग नगर्ने भएको छ।
मन्त्रालयले शनिबार चीनबाट विश्व स्वास्थ्य संगठनले स्वीकृति नदिएको ७५ हजार थान र्यापिड टेस्ट किट खरिद गरेर ल्याएको थियो। जसको मूल्य ७ करोड रुपैयाँभन्दा बढी छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले तत्काल र्यापिड टेस्ट किट प्रयोग गर्ने योजना नभएको बताए। उनले भने, ‘अहिले रियल टाइम पिसिआएरबाटै टेष्ट भइरहेको छ, र्यापिड टेस्ट किट हालसम्म प्रयोग गरिएको छैन।’
उनले स्वास्थ्य मन्त्रालयले प्रयोगशाला सम्बन्धी सबै जाँच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य संगठनको सल्लाहअनुसार मात्रै गरिने बताए।
मंगलबारको नियमित कोरोना ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले केही अस्पतालले र्यापिड टेस्ट किट प्रयोग गरिरहेको जानकारी गराउँदै ती किट गुणस्तरहीन भएको भन्दै प्रयोग नगर्न अनुरोध गरेका थिए।
तर स्वास्थ्य मन्त्रालयले चीनबाट खरिद गरेको र्यापिड टेस्ट किट समेत सोही किट भएको बारेमा खुलाएनन्।
‘केही पोलिक्निनिकले एक हजार मानिसको टेस्टप्रति व्यक्ति १६ सय रुपैयाँका दरले लिई गरिरहेको आधिकारिक सूचना आएपछि मैले त्यसो भनेको हुँ। मन्त्रालयको सन्दर्भमा राष्ट्रिय अनुसन्धान परिषद्ले अनुसन्धान गरी त्यसबाट आउने रिजल्टपछि मात्र प्रयोग गर्ने नगर्ने निर्णय हुनेछ। परिषद्ले काम सुरु गरिसकेको छ’, उनले भने।
ती किट स्क्रिनिङका लागि ल्याइएको उनले बताए।
उनले व्यवस्थापन महाशाखाले सामान खरिदका लागि परामर्श गरी आह्वान गरेको टेन्डरमा सो किट पनि रहेको र सोहीअनुसार चीन सरकारले अनुमति दिएको तथा चीनमा प्रयोग रहेको किट नै ल्याइएको जानकारी दिए।
‘हामीले चीन सरकारले अनुमति दिएको, त्यहाँ प्रयोग भइहेको र्यापिड टेस्ट किट नै अर्डर गरेका थियौँ। सोही समयमा स्पेनबाट अपुष्ट खबर आयो। हामीले जाँच गरी योग्य भएमा मात्र राख्छौं अन्यथा प्रयोग हुँदैन त्यसको पेमेन्ट पनि हुँदैन,’ उनले भने।
मन्त्रालयले पहिलो प्राथमिकतामा कोभिड १९को परीक्षण पिसिआरबाटै गर्ने योजना रहेको र परीक्षणको दायरा बढाउन र्यापिड टेस्ट किट ल्याइएको विज्ञ सल्लाहकार कार्कीले बताए।
उनले सञ्चारमाध्यममा आफैंले भनेको विषयको अन्यत्र अर्थ लगाइएको दाबी गरे।
यो पनि