डडेल्धुरा- सुदुरपश्चिम प्रदेश अन्तर्गत रहेको डडेल्धुरा अस्पतालमा पानी चुहिने समस्या भएपछि अस्पतालको सेवा प्रभावित भएको छ।
बिहिबार बेलुकीपख परेको पानीले छाना चुहिएपछि सेवा प्रवाहमा समस्या भएको अस्पतालले जनाएको छ। पानी चुहिएपछि अस्पतालमा भर्ना भएका बिरामीलाई पनि समस्या भएको छ।
अस्पतालको वार्ड भित्र पानी चुहिएपछि करीब ६ शय्यामा रहेका बिरामीलाई अन्यत्र सारेर उद्दार गरिएको छ। अस्पताल भित्रै पानी जमेपछि वार्डमा रहेका सबै बिरामी समस्यामा परेका छन्।
बिरामीका कुरुवा महेन्द्र धनाडीले भने, ‘पानी छल्दै बेडमा बस्नु परिरहेको छ। धेरै त भागे तर हामी बसेकै छौ।’
नयाँ भवनको पानी समेत पुरानो भवनको छानामा पर्ने र बाहिर निकास नभएपछि पानी भित्र पस्ने समस्या रहेको अस्तालले जनाएको छ।
भौतिक संरचनाको अभावमा एचडिसिएस नामक गैर सरकारी संस्थाले अस्पताल स्थापनाका बेला निर्माण गरेको पुरानो जीर्ण भवनबाट सेवा सञ्चालन गर्दा समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगदिशचन्द्र विष्टले बताए। यस अस्पतालमा सात वटै पहाडी जिल्लाबाट बिरामीहरु उपचारका लागि आउने गर्छन्।
सुदुरपश्चिमको केन्द्र भागमा रहेको डडेल्धुरा अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्दै जाँदा भौतिक संरचनाको अभावका कारण वर्षादको समयमा यस किसिमको अस्पतालमा समस्या हुने गरेको छ।
अस्पतालमा कोरोना परीक्षण गर्न प्रयोगशालाको लागी संघीय सरकारले अध्ययन गरेको छ भने कोरोना उपचारका लागी भन्दै ४ जना डाक्टरहरु पठाएको छ।