काठमाडौं- नेपालजञ्जमा आइतबार मात्रै ९ जना कोरोना संक्रमित थपिएका छन्।
यो सँगै नेपालगञ्जमा संक्रमितको संख्या १० पुगेको छ भने देशभर ६९ जनालाई कोरोना संक्रमण देखिएको छ। ६९ मध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।
नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालको ल्याबमा गरिएको परीक्षणमा आइतबार ९ जना संक्रमित थपिएका हुन्। नेपालगञ्जमा पहिलो संक्रमित शुक्रबार देखिएको थियो।
आइतबार देखिएका संक्रमित शुक्रबार भेटिएका संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु भएको बताइएको छ। उनीहरु सबै एउटै टोलका हुन्।
शुक्रबार संक्रमित देखिएपछि नेपालगञ्ज नगरपालिकाका ४ स्थान डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरि संक्रमितका सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ गरिएको थियो।
शुक्रबार नेपालगञ्जमा ६० वर्षीय वृद्धमा कोरोना संक्रमित देखिएको छ।
आइतबार उनका सम्पर्कमा आएका व्यक्तिको परीक्षण गर्दा ७ वर्षीय बालिका सहित ९ जनामा संक्रमण पोजिटिभ देखिएको हो।
ती बालिका नेपालमा संक्रमितमध्ये सबैभन्दा कम उमेरकी हुन्। यसअघि जनकपुरका १४ वर्षीय बालकमा संक्रमण देखिएको थियो।
भेरी अस्पतालका मेसु डा प्रकाश थापाका अनुसार ९० जनाको स्वाब परीक्षणका लागि लिइएको नमूनामध्ये ३० जनाको रिपोर्ट आइसकेको र तीमध्ये ९ जनामा पोजेटेभि देखिएको हो। उनका अनुसार अब ६० जनाको रिपोर्ट आउन बाँकी छ।
उनले भने,‘नेपालगञ्जमा ल्याब सञ्चालन भएदेखि हामीले ३ सय ५४ जनाको स्वाबको नमुना लिएका छौँ भने २ सय ३६ जनाको रिपोर्ट आइसकेको छ। जसमध्ये हालसम्म १० जनामा कोरोना पोजिटिभ देखिएको छ।’ कन्ट्याक्ट ट्रेसिङ गरी नमुना लिने काम जारी रहेको उनले बताए।
संक्रमितको उपचारका लागि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोभिड१९ अस्पताल तयार गरिएको छ। निर्देशक थापाले भने,‘खजुरामा ४० जनरल बेड, ८ आइसियु, ३ भेन्टिलेटर र ५ मोनिटरको व्यवस्था गरेका छौँ।’
उनले यसरी नै संक्रमितको संख्या बढ्दै जाने हो स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री थप आवश्यक पर्ने बताए।
उनले भने,‘बिरामी बढेसँगै अस्पतालको क्षमता पनि बढाउनुपर्ने हुन्छ। अहिले देखिएका संक्रमितमा कुनै लक्षण नदेखिएकोले सामान्य हुनुहुन्छ भोली लक्षणसहितका बिरामी देखिएभने हाम्रो तयारी बढाउनुपर्ने हुन्छ।’
उनले संक्रमितको संख्या बढेसँगै थप तयारीका लागि छलफल गर्ने र आगामी योजना तय गर्ने तयारी भएको बताए।
यसअघि नै बाँकेका सबै धार्मिक स्थलमा रहेका धर्मगुरुहरुको कोरोना परीक्षण गर्ने निर्णय भएको छ। ती धार्मिक स्थलमा नियमित आउने व्यक्तिको पनि नमुना परीक्षण गर्ने निर्णय गरी नमुना लिन सुरु गरिसकिएको छ।
हालसम्म विभिन्न धार्मिक स्थलका १०० भन्दा बढी व्यक्तिको नमुना नमुना संकलन भएको र उनीहरुको नमुना परीक्षण जारी रहेको बताइएको छ।
शुक्रबार भेटिएका संक्रमित एक महिनाअघि भारतबाट आएको बताइएका थिए। उनी नेपालगञ्ज उपमहानगरपालिकाले भारतबाट आएका व्यक्तिका लागि बनाएको क्वारेन्टाइनबाट भागेका थिए।
नेपालञ्जस्थित मस्जिदमा बस्दै आएका धर्मगुरु र अन्य व्यक्रिहरुको नमुना संकलन गर्ने र जाँच गर्ने निर्णय गरीएसँगै उनलाई संक्रमण भएको पत्ता लागेको थियो।
शुक्रबार बाँकेका एसपी वीर बहादुर ओलीले शंकास्पद क्षेत्र सिल गरी त्यहाँ संक्रमितको सम्र्पकमा आएका, उनले भेटेका सबै व्यक्तिको ट्रेसिङ गर्ने कार्य सुरु गरिएको जानकारी दिएका थिए।
नेपालगञ्ज बाहेक हाल कोशी अस्पताल विराटनगरमा ३१ जना, नारायणी अस्पतालमा ८ जना, चितवनमा १, सेतीमा १ र बुटबलमा १ संक्रमितको उपचार भइरहेको छ। हालसम्म सबैको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।