समाचार

१२ वर्षे छोरालाई रक्त क्यान्सर भएपछि शान्ताले भनिन् - छोरालाई बचाउन चाहन्छु, तर पैसा छैन

काठमाडौं - शुक्रबार दिउँसो नुवाकोट किन्तांग-४ की शान्ता सुनार बानेश्वरस्थित सिभिल अस्पतालको गेटमा रुदै थिइन्। 

उनको हातमा अस्पतालको रिपोर्टहरु थिए। त्यो रिपोर्ट उनको १२ वर्षीय छोराको थियो। डेढ वर्ष अघि उनको छोरालाई घाँटीमा ट्युमर भएको थियो। 

जसोतसो पैसा जुटाई उनले ट्युमरको उपचार गरिन्। तर अहिले छोराको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भयो। कारण थियो – रगतको क्यान्सर। 

घाँटीको ट्युमरको उपचार नसकिँदै रगतको क्यान्सरको उपचार गर्नुपर्ने चिकित्सकले बताएपछि उनी छाँगोबाट खसे जस्तै भइन्। उनले भनिन्, ‘किमो दिएपछि छोरोको घाँटीको ट्युमर त निको भयो तर पछि रक्त क्यान्सर देखियो।’

बोनम्यारो तत्काल प्रत्यारोपण नगरे क्यान्सर फैलदै जाने उनले बताइन्। चिकित्सकले उनलाई बोनम्यारो प्रत्यारोपण गर्न १५ लाख बढी लाग्ने बताएका छन्। तर उपचारका लागि उनीसँग ठुलो रकम छैन। 

‘छोराको बोनम्यारो प्रत्यारोपण नगरे शरीरभरी क्यान्सर फैलिन्छ भन्छ। उपचार गर्न म सँग पैसा पनि छैन। अब के गर्ने कसो गर्ने मन आत्तिरहेको छ। जसरी हुन्छ, छोरालाई बचाउन चाहन्छु’ उनले भनिन्। 

उनको श्रीमान साउदीमा मजदुरी गर्छन्। घर नुवाकोट भएपनि उनी छोराको उपचारका लागि अहिले भक्तपुरमा बस्दै आएकी छिन्। भन्छिन्, ‘डाक्टरले बोनम्यारो प्रत्यारोपण गरेपछि मात्र तपाईंको छोरा निको हुन्छ भनेका छन्। नत्र शरीरभरी क्यान्सर फैलिन्छ रे।’

आर्थिक सहयोग गरेर छोरालाई बचाइदिन उनले सबैमा आग्रह गरेकी छिन्। ‘म छोरालाई बचाउन चाहन्छु। उपचार गर्न चाहन्छु। तर मसँग पैसा छैन’ उनले भनिन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने