नर्सिङ

कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मीलाई परिवारको हौसला आवश्यक छ

श्रुती साह नारायणी अस्पताल वीरगञ्जमा नर्सिङ अफिसरका रुपमा कार्यरत छिन्। १२ वर्षदेखि नर्सिङ पेसामा सक्रिय उनले नारायणी अस्पतालमा कोभिड–१९ संक्रमित भर्ना भएदेखि व्यवस्थापकीय जिम्मेवारी सम्हालेकी छिन्। संक्रमितको उपचारमा खटिने नर्सका साथै संक्रमितका गुनासा समेत उनी व्यवस्थापन गर्छिन्। अस्पतालको व्यवस्थापकीय जिम्मेवारी सम्हालेपछिका अनुभव उनकै शब्दमाः

नारायणी अस्पताललाई पूर्णतः कोभिड अस्पताल बनाइएको छ। अहिले यहाँ २९ जना संक्रमित उपचाररत छन्। 

सुरुमा स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार आइसोलेसन वार्ड बनाएर शंकास्पद व्यक्तिलाई मात्र राखिएको थियो। अस्पताल प्रशासन लगायतको बैठकले संक्रमित आइहालेमा कसरी व्यवस्थापन गर्ने भन्ने तयारी पनि गरेका थियौँ।

जब चैत २९ गते ३ जना भारतीय नागरिकको परीक्षण रिपोर्ट पोजेटिभ आयो, त्यसपछि भने डर लागेको थियो। अहिले संक्रमितको संख्या बढेर २९ पुगेको छ।

अहिले एउटै परिवारका १८ जना सदस्य संक्रमित भएर भर्ना हुनुभएको छ। त्यसमध्ये ८ जना बच्चा छन्। परिवारका एक जना पहिले नै संक्रमित भएर भर्ना हुनुभएको थियो। त्यसपछि परिवारका अन्य सदस्यको कोरोना परीक्षण गर्दा १७ जनामा कोरोना पोजेटिभ देखिएको थियो। 

४ महिनाको बच्चादेखि ६, ७, ८ र १३ वर्षका गरी ८ जना बच्चा छन्। सुरुमा व्यवस्थापन कसरी गर्ने भनेर निकै गाह्रो भयो। बच्चाका लागि खाना, खाजा, दूध, डायपर, खेलौना, बेबीकेयर जस्ता सामग्रीको समेत आवश्यकता प¥यो। पहिला यी कुरामा तयारी गरिएको थिएन। त्यसको व्यवस्थापन चुनौतीपूर्ण थियो।

अहिले पनि विभिन्न ठाउँमा यी सामग्रीको व्यवस्थापनका लागि कुरा गरिरहेको छु। एउटा कम्पनीसँग डायपरको लागि कुरा भयो। उहाँहरु घरमा ताला लगाएर सबै अस्पतालमा हुनुहुन्छ। खाना, खाजाको लागि समय तोकेका छौँ। दिउँसो २ बज्ने बित्तिकै संक्रमितले खाजाको लागि फोन गर्नुहुन्छ। 

सुरुमा त कसरी गर्ने, कस–कसलाई ड्युटीमा खटाउने भन्ने हतार भएको थियो। हामीले कोभिड–१९ का लागि ड्युटीमा खटिने २५ जना नर्सको लिस्ट बनायौं।

नारायणी अस्पतालकी नर्सिङ निरीक्षक हिमा थापाले अघि सरेर पहिला मेरो ड्युटी राखिदिनूस् भन्नुभयो। उहाँ अघि सरेपछि अन्य नर्सलाई पनि हौसला मिलेको थियो। स्टाफ नर्स मनिषा पाण्डे र अस्मिता थापाले उहाँसँग पहिलो ड्युटीमा साथ दिनुभएको थियो। 

एउटा सिफ्टमा २ जना नर्ससहित अन्य पारामेडिक्स साथीहरु पनि हुनुहुन्छ। एक हप्ताको ड्युटी गरी १४ क्वारेन्टाइनमा बसेर मात्र घर जान पाइन्छ। कोभिड–१९ अस्पतालमा खटिएका सबै स्वास्थ्यकर्मी, सहयोगीका लागि होटलमा बस्ने व्यवस्था गरिएको छ।

नर्सको ड्युटी लिस्ट तयार पार्दा स्तनपान गराइरहेका नर्स, ३ वर्षभन्दा कम उमेर बच्चा भएका लगायतलाई मध्यनजर गरी बनाएका छौँ। 

एक पटक ड्युटी परेपछि कम्तीमा एक महिना परिवारसँग अलग बस्नुपर्ने हुन्छ। सबैभन्दा चुनौती यही नै हो। अस्पतालको ड्युटीसँगै घरको पनि जिम्मेवारी हुन्छ। सबैको साना बच्चा भएकाले गाह्रो हुन्छ। 

एकातिर हामी कोभिडसँग लडिरहेका छौँ भने अर्कोतिर यो समयलाई स्वास्थ्य सेवा सुधारको अवसरको रुपमा पनि लिन सक्नुपर्छ। 

संक्रमित राखिएका अस्पतालमा खटिएका स्वास्थ्यकर्मीलाई समाजले फरक रुपमा हेर्दा पनि चिन्ता लाग्छ। यो समयमा स्वास्थ्यकर्मीको मनोबल बढाउनुपर्छ।

अहिले त व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) पनि छ। तर संक्रमितको संख्या बढ्दै गयो भने हामीलाई सबैभन्दा पहिले जनशक्तिकै समस्या पर्छ। व्यक्तिगत सुरक्षा सामग्रीको अभाव हुन्छ। 

नर्सहरुले पेसागत र पारिवारिक दोहोरो जिम्मेवारी निभाउनुपर्ने भएकाले लामो समय परिवार, बालबच्चासँग छुट्टिएर बस्नु निकै पीडादायी हुन्छ। 

यस्तो अवस्थामा परिवारका सदस्यको सहयोग र हौसला निकै आवश्यक पर्छ। उहाँहरुले सहयोग गर्नुभयो भने पेसागत काम गर्न सहज हुन्छ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने