विचार/ब्लग

सरकार र समाजले नर्सको महत्व बुझेन

आज मे १२ अर्थात् अन्तर्राष्ट्रिय नर्सिङ दिवस। विश्वको परिस्थिति यदि सामान्य हुन्थ्यो भने आजको दिन दिवस केन्द्रित विभिन्न कार्यक्रम हुने थिए। विश्व नै कोरोना महामारीको चपेटामा परेको हुनाले यस पटकको नर्सिङ दिवसले खासै महत्व पाएन। नेपाल नर्सिङ काउन्सिलका अनुसार अनमी र नर्स गरी मुलुकभर करिब ९५ हजार जनशक्ति छ। जसमध्ये ६० हजार बढी नर्स र ३३ हजार बढी अनमी छन्। आफूहरुले पाउने पारिश्रमिक, सेवा-सुविधामा विभेद हुने गरेको नर्सहरुको गुनासो छ। यी मुद्दामाथि बहस अझै पनि टुंगिएको छैन। विपतको यो घडीमा नर्सहरु कसरी काम गर्दैछन्? उनीहरुको समस्या र चुनौती केके छन्? लगायतका विषयमा हामीले केही नर्सहरुसँग कुराकानी गरेका छौं। उनीहरुले साटेका अनुभव उनीहरुकै शब्दमाः

नर्सले पाउने सेवा-सुविधा विभेदपूर्ण छ 
रामेश्वरी खायामली, अस्पताल नर्सिङ निरीक्षक, सिन्धुली अस्पताल

२०६५ सालदेखि म नर्सिङ पेसामा छु। कोरोनाको महामारी व्यवस्थापन र उपचारका लागि सिन्धुली अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरिएको छ। अस्पतालको छुट्टै भवनमा क्वारेन्टाइनको व्यवस्था पनि गरेका छौं। 

अहिले लकडाउनका कारणले टाढाका सुविधासम्पन्न अस्पताल जान समस्या भएकाले पनि होला, पहिलेको तुलनामा सुत्केरी हुन आउनेको संख्या यो अस्पतालमा बढेको छ। अस्पतालमा अन्य नियमित सेवा पनि सञ्चालन भइरहेका छन्। 

सुरुवाती दिनमा कोरोना भन्ने बित्तिकै मनमा एक किसिमको त्रास अनि तनाव हुन्थ्यो। त्यो डर र तनाव एक÷दुई हप्तासम्म नै भयो। तर विस्तारै सामान्य हुँदै गयो। अस्पतालमा अहिलेसम्म एउटा पनि संक्रमित आएको छैन। चिकित्सकहरु पनि धेरै छन्। समन्वय छ। त्यसैले पनि त्यो डर अहिले कम भइसक्यो।

हामी निरन्तर बिरामीको सेवामा खटिइरहेका छौं। तर हामीसामु धेरै समस्या अनि चुनौती छन्। यो क्षेत्रमा सेवा जति नै दिए पनि सन्तुष्ट हुन गाह्रो नै हुने रहेछ। बिरामीका आफन्तको व्यवहार नर्सप्रति अलि फरक खालको पाउँछु। 

हामी दैनिक सयौं बिरामीको सम्पर्कमा रहनुपर्छ। उनीहरुको उपचारदेखि लिएर अन्य सेवामा खटिनुपर्छ। बिरामीको आफन्तसँग समन्वय गर्न सबैभन्दा समस्या हुन्छ।

कोरोनाको संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्नुपर्छ। तर यहाँ बिरामीसँगै आफन्तहरु धेरै आउँछन्। सामाजिक दूरी कायम राख्न पनि समस्या छ। अस्पतालमा आउने भिजिटर्स कम गर्न हामीलाई निकै समस्या हुन्छ। एक जना बिरामी आउँदा पाँच जना आफन्त सँगै आउने गर्छन्।  

अहिले पनि नर्सहरु धेरै समस्यामा छन्। नेपालमा नर्सिङ काउन्सिल, नेपाल नर्सिङ संघ छ। अझै पनि नर्सले पाउने पारिश्रमिक, बिरामीको व्यवहार, सेवा–सुविधा लगायतको मुद्दा सम्बोधन हुन सकेको छैन। नर्सका यी मुद्दा नर्सिङ काउन्सिल र नर्सिङ संघले सम्बोधनका लागि सरकारलाई दबाब दिन सक्नुपर्छ। 

चिकित्सकमाथि कुनै ठाउँमा दुर्व्यवहार भए तत्काल सम्बोधन हुन्छ। उनीहरुको संगठन एकत्रित छ। तर नर्सको यति धेरै मुद्दा भए पनि काउन्सिल र संघले त्यति धेरै दबाब सिर्जना गर्न सके जस्तो लाग्दैन।  

सरकारले नियम–कानुन बनाएर मात्र हुँदैन। ती कानुनको कार्यान्वयन र प्रभावकारी अनुगमन पनि हुन जरुरी छ। 

मैले काम गरेको १२ वर्ष भयो। तर यो पेसाप्रति खासै सन्तुष्ट छैन। जति चिकित्सकको महत्व छ, हामी नर्सको पनि महत्व त्यति नै छ। तर सरकार र समाजले हाम्रो महत्व अझै पनि बुझ्न सकेको जस्तो लाग्दैन। किनभने हामीले पाउने सेवा–सुविधामा अझै पनि विभेदपूर्ण छ। यो पेसामा छिटो पदोन्नति पनि हुँदैन। 

सिन्धुली अस्पतालमा समायोजन भएर आएको ६ महिना मात्र भयो। यसअघि म भक्तपुर अस्पतालमा काम गर्थें। भक्तपुर अस्पतालमा मैले पाँच वर्ष बिताएँ। यसअघि म पाँचथरमा थिएँ। सबैलाई रोटेसन गर्नुपर्छ। जसको पैसा अनि पावर छैन, उसलाई मात्र यसरी घुमाउनु त भएन नि। 

नर्सिङ पेसालाई जसरी विकसित गरिनुपथ्र्यो, त्यसरी भएजस्तो लाग्दैन। यसमा नर्सिङ काउन्सिलले महत्वपूर्ण भूमिका खेल्दै नर्सिङ पेसालाई अझ बढी मर्यादित र सुरक्षित बनाउनुपर्छ। 

जोखिम भत्ता पनि बढाउन आवश्यक छ
सोनी शेर्पा, अस्पताल नर्सिङ परीक्षक, जिल्ला अस्पताल, सोलुखुम्बु 

चैत ११ गतेदेखि यस अस्पतालमा इमर्जेन्सी बिरामी मात्र लिएका छौं। गर्भवती, सुरक्षित गर्भपतन, परिवार नियोजनका सेवाहरु हामीले रोकेका छैनौं। कोरोनाकै कारण कुनै पनि बिरामी सेवाबाट बञ्चित हुनु परेको छैन। 

सुरुका दिनमा कोरोनाको डर थियो। त्यो बेला हामीसँग सुरक्षाका लागि पिपिई पनि थिएन। पछि एन–९५ मास्क, सर्जिकल गाउन लगायत सामग्री खरिद ग¥यौं। 

आइसोलेसनमा कुनै संक्रमित भर्ना गर्नुपर्‍यो भने कर्मचारीको अभाव हुने देखिन्छ। एकै पटक धेरै संक्रमित आए उनीहरुको उपचार र व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छ। 

जिल्ला अस्पतालमा कर्मचारीको अभाव छ। त्यसैले २४सै घण्टा खटिनुपर्छ। तालिमप्राप्त कर्मचारीको पनि अभाव छ। समायोजनपछि त झन् यहाँ पर्याप्त कर्मचारी छैनन्। अहिले मैले नै कार्यालय प्रमुखको रुपमा पनि काम गरिरहेको छु। त्यसैले सबै कुराको व्यवस्थापन गर्नुपर्ने ठूलो चुनौती छ। कार्यबोझ पनि धेरै छ। 

हामीले गर्ने कामको पारिश्रमिक ठिक छ। तर त्यस बाहेक अतिरिक्त काम गरे बापतको सुविधा छैन। जोखिम भत्ता पनि बढाउन आवश्यक छ। जिम्मेवारी धेरै छ, तर त्यस अनुसार सेवा–सुविधा छैन। 

सरकारी अस्पताल होस् या निजी अस्पताल, सबैमा नर्सहरुको सेवा–सुविधा समान हुनुपर्छ। उनीहरुले पाउने सेवा–सुविधा र पारिश्रमिकमा विभेद हुनु हुँदैन। किनभने नर्स बिरामीको प्रत्यक्ष सम्पर्कमा रहनुपर्छ। हामीले पनि विभिन्न जोखिम मोलेर काम गरिरहेका हुन्छौं। त्यसैले सरकारको ध्यान यसतर्फ पनि जानु आवश्यक छ। 

अतिरिक्त काम गरे बापत नर्सलाई सेवा–सुविधा दिनुपर्छ। उनीहरुले पाउने सेवा–सुविधा विभेदपूर्ण नभई एकरुपता हुनुपर्छ। सरकारले नर्सहरुको मनोबल बढाउन प्रोत्साहन गर्नु आवश्यक छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने