काठमाडौं- कोरोना भाइरसको संक्रमण पुष्टि भएको तीन दिनपछि बल्ल बाँकेका कोरोना संक्रमितलाई आइसोलेसनमा राखिएको छ। कोरोना पुष्टि भएपछि उनीहरुलाई छुट्याएर आइसोलेसनमा तत्कालै राख्दै उनीहरुको सम्पर्कमा आएकालाई परीक्षण गर्नुपर्ने मापदण्ड छ।
तर सरकारले बाँकेका ५९ जना कोरोना संक्रमितलाई २ दिनसम्म कोरोना पोजेटिभ नदेखिएकाहरु सँगै एकै ठाँउमा राखेर चरम लापरबाही गरेको छ। यति मात्र होइन सरकारले संक्रमण देखिएकाहरुलाई आइसोलेसनमा राखेर लक्षणका आधारमा आवश्यकता अनुसार उपचार प्रक्रिया समेत अगाडि बढाएन।
नेपालगञ्जको चर्को गर्मीमा संक्रमितलाई सरकारले २५ बेड भएको स्थानमा ५९ जनालाई कोच्ने काम समेत गरेको छ।
चौतर्फी दबाबपछि अन्ततः नरैनापुरमा तीन दिन अघि संक्रमण देखिएका ५९ जना र बुधबार थपिएका ५ जनासहित ६४ जनाको व्यवस्थापन गरेको छ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड--१९ फोकल पर्सन नरेश श्रेष्ठले संक्रमितको बुधबार राति व्यवस्थापन गरिएको बताए।
बाँकेको प्रशासनले आफूले गरेको निर्णय कार्यान्वयन नगर्दा नरैनापुरका संक्रमित सोमबारदेखि बिचल्लीमा थिए।
श्रेष्ठका अनुसार लायन्स डेन्टल हस्पिटल खजुरामा २२ जना र कोहलपुरस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा बनाइएको आइसोलनमा ४१ जना संक्रमित राखिएको छ। आज ५ जना थपिएका संक्रमितलाई समेत त्यही राखिएको छ। बुधबार राति ४१ संक्रमितलाई कोहलपुर स्थानान्तरण गरिएको छ।
कोहलपुरका स्थानीयबासिको विरोधका कारण मंगलबार संक्रमितलाई आइसोलेसनमा राख्ने प्रयास असफल भएको थियो।
नरैनापुरमा सोमबार ५९ जना संत्रमितलाई मंगलबार राती मात्र नेपालगञ्जस्थित लायन्स डेन्टल अस्पतालमा ल्याइएको थियो। भने बुधबार थपिएका ५ जनालाई समेत सोही ठाउँमा दिनभर कोचाकोच गरी राखिएको थियो।
कोहलपुरको कृषि विकास बैंक तालिम केन्द्र र लायन्स डेन्टलमा संक्रमित राख्ने निर्णय गरेपनि कोहलपुरबासीले विरोध गरेपछि २६ वेडको आइसोलेसनमा मंगलबार ५९ जना राखिएको थियो। जहाँ एक महिला सात महिनाको बालक सहित थिइन।
यद्यपी महिलालाई बुधबार, खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोभिड-१९ लागि बनाइएको आइसोलेसनमा सारिएको छ।
मापदण्ड अनुसारको नभएको आइसोलेसनमा क्षमताभन्दा बढी संक्रमित राखिएपछि स्थानीयबासि त्रसित बनेका थिए। उनीहरुले क्षमताअनुसार मात्र संक्रमित राख्न र बाँकिलाई अन्यत्र सार्न दवाव दिँदै अन्यथा आन्दोलन गर्ने चेतावनी समेत दिएको दिएको बताइएको छ।
बाँकेमा हालसम्म ९९ जना संक्रमित पुगेका छन्। खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा बर्दियाको १ सहित २८ जना, लायन्स डेन्टल हस्पिटलमा २२ जना, कृषि विकास बैंक तालिम केन्द्र कोहलपुरमा ४१ र बेलझुण्डी कोरोना अस्पताल दाङमा ८ जना संक्रमितलाई राखिएको छ। बाँकेमा कोरोनाका एक जनाको मृत्यु भएको छ।