डा जागृत कोइराला
एलोप्याथिक औषधि अर्थात् विज्ञानमा आधारित औषधि जसलाई 'एविडेन्स बेस्ड मेडिसिन वा मोडर्न मेडिसिन' भनिन्छ। एलोप्याथिक औषधिको नामकरण र सुरुवात १८औं सताब्दीमा भएको हो।
'आयुर्वेदिक औषधि' अर्थात् 'जडिबुटीबाट' बनाइएको औषधि आयुर्वेदको एउटा भाग हो, जसको स्रोत अथर्ववेद हो। यो प्राचीनकालदेखि चल्दै आइरहेको छ। दक्षिण एसियामा दुवै एलोप्याथिक र आयुर्वेदिक औषधि उत्तिकै मात्रfमा अभ्यास गर्ने गरिन्छ तर यी दुवैबीच हुने अन्तर्क्रिया र त्यसले निम्त्याउन सक्ने दुस्प्रभावको भने अनुसन्धान भएको पाइँदैन।
लगभग ७ प्रतिशत बिरामी एलोप्याथिक औषधि-औषधि बीचको अन्तर्क्रियाको कारणले अस्पताल भर्ना हुन्छन्। खासमा प्रेस्क्रिपसनमा जति औषधि बढी लेखिन्छ, त्यति नै औषधिको अन्तर्क्रिया हुने सम्भावना बढ्छ। विशेषगरी बच्चा र वृद्धलाई अन्तर्क्रिया र दुस्प्रभावको जोखिम अलि बढी छ। एलोप्याथिक-आयुर्वेदिक औषधि बीचको अन्तर्क्रियाले आपतकालीन अस्पताल भर्ना हुनुपर्ने हुनसक्छ।
एलोप्याथिक–आयुर्वेदिक औषधि बीचको अन्तर्क्रिया दुवै फार्माकोकिनेटिक, फार्मकोडिन्यामिक चरणमा हुनसक्छ। फार्माकोकिनेटिक अन्तर्क्रिया अर्थात् शरीरमा भएको मेटाबोलिक एनजाइम र ट्रान्सपोर्ट प्रोटिन अल्टर गर्दै एउटा औषधिले अर्को औषधिको प्रभाव बढाउने अथवा घटाउने गर्छ र दुस्प्रभाव देखिन्छ।
फार्मकोडिन्यामिक अन्तर्क्रिया अर्थात् एउटा औषधिले अर्को औषधिको प्रभाव कम गर्ने, बढाउने र दुवै औषधिको एकमुस्ट प्रभाव देखिन सक्छ। यसले तीन किसिमको नतिजा देखिन सक्छ- मेजर, मोडरेट र मइनर। मेजर भन्नाले प्रमुख अन्तर्क्रिया, यसले ज्यान नै जान पनि सक्छ वा अंगमा हानि पुर्याउँछ। अरु अन्तर्क्रियाले सामान्य असर मात्र पर्छ, जसको न्यूनीकरण गर्न सजिलो हुन्छ।
६-३० प्रतिशत दुस्प्रभाव औषधि-औषधि बीचको अन्तर्क्रियाले गर्छ। औषधिको अन्तर्क्रिया रोक्न सकिने र दुस्प्रभाव आउन नदिन सकिने हुँदा यसमा फर्मसिस्टको सक्रियता जरूरी छ।
एलोप्याथिक-आयुर्वेदिक औषधि अन्तर्क्रियामा तीन वटा ठूला दुस्प्रभाव छन्। जस्तै: ब्लिडिङ रिस्क, हेप्याटो टोक्सिसिटी र कार्डियक टोक्सिसिटी। उदाहरणका लागि यदि सर्पगन्धा र रक्तचाप कम गर्ने एलोप्याथिक औषधि खाँदै हुनुहुन्छ भने औषधिको एकमुष्ट प्रभाव पर्न सक्छ र रक्तचाप कम भई दुस्प्रभाव वा ज्यान जान सक्छ।
आयुर्वेदिक ल्याकजेटिव (कब्जियतमा चलाउने औषधि) जस्तै: एलोवेरा, सेन्ना, त्रिफला आदिले एलोप्याथिक औषधिको आन्द्राको ट्रान्जिट समय घटाउँछ र औषधिले काम गर्दैन। अदुवा, लसुन र एनएसएड जस्तै: इबुप्रोफेनको अन्तर्क्रियाले रक्तश्राव बढाउँछ।
मुसामा गरिएको अनुसन्धानमा तुलसीको पत्ताले कलेजोमा दुस्प्रभाव परेको पाइएको छ। त्यसैले तुलसी र पारासिटामोल (पारासिटामोल हेप्याटो टोक्सिक हो) सँगै प्रयोग गर्दा कलेजोमा समस्या आउन सक्छ, जसलाई हेप्याटो टोक्सिसिटी भनिन्छ। जेठीमधु र गर्भ निरोधक औषधि सँगै प्रयोग गर्दा रक्तचाप बढ्ने, हातखुट्टा सुन्निने हुन सक्छ। जेठीमधु उच्च रक्तचापको औषधि जस्तै: थायाजाइड डायुरिटिक्स सँगै खान मिल्दैन, शरीरमा पोटासियमको मात्रा कम हुन्छ।
मेथी र मधुमेहको औषधि सँगै प्रयोग गर्दा मधुमेहमा प्रयोग हुने औषधिले कम काम गरेको पाइएको छ। अश्वगन्धा र मिर्गीमा प्रयोग हुने एलोप्याथिक औषधि सँगै प्रयोग गर्दा अश्वगन्धाले एलोप्याथिक औषधिको प्रभाव कम गर्छ भने डिप्रेसनमा प्रयोग हुने औषधिको प्रभाव बढाँछ।
सबै एलोप्याथिक-आयुर्वेदिक औषधिको अन्तर्क्रियाले दुस्प्रभाव पार्छ भन्ने चाहिँ होइन। उदाहरणका लागि रिसोरिन भन्ने औषधि क्षयरोगमा प्रयोग गरिन्छ। यसमा पिपला र रिफामपिसिनको (एल्लोप्याथिक औषधि) कम्बिनेसन हुन्छ। यसलाई ‘क्याडिल्ला’ भन्ने कम्पनीले बनाएको हो। यस्तो दुस्प्रभावबाट बच्न सबैभन्दा उचित उपाय नै फर्मासिस्ट वा चिकित्सकको सल्लाह बिना कुनै पनि औषधि प्रयोग नगर्नु हो।
औषधि संवेदनशील वस्तु हो। यसको सही प्रयोगले बिरामीलाई फाइदा पुग्छ भने दुरुपयोग र त्रुटिले नकारात्मक प्रभाव पर्छ। औषधिको प्रयोग भएको ठाउँमा त्रुटि हुने सम्भावना पनि उत्तिकै हुन्छ। औषधिको त्रुटि अर्थात् मेडिकेसन एरोर औषधिको मात्रा नमिल्दा, औषधि खाने समय नमिल्दा, उचित व्यक्तिलाई तोकेको औषधि नखाँदा, उचित अन्तरालमा नाखाँदा दुस्प्रभाव हुन्छ। औषधि-औषधि बीचको अन्तर्क्रिया हुँदा मात्र दुस्प्रभाव हुने होइन। यस्तो त्रुटि चिकित्सकले औषधि लेख्ने बेलादेखि फर्मासिस्टले औषधि दिने बेला र बिरामीले उपभोग गर्ने बेलामा हुन सक्छ।
यस्ता सम्भावित त्रुटिहरुबाट बच्न पश्चिमी देशहरुमा क्लिनिकल फर्मासिस्ट प्रयोग गर्ने गर्छन्। स्वास्थ्य नभई समृद्ध र सुखी बनिन्छ भन्नु केवल मित्थ्या हो। समृद्ध नेपाल सुखी नेपालीको नारालाई साँच्चिकै सार्थक बनाउनु छ भने क्लिनिकल फर्मासिस्ट जस्तो प्राविधिक विषयका ज्ञाताहरुलाई उचित मूल्यांकन गर्न जरूरी छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा पब्लिस भएको रिसर्च अनुसार क्लिनिकल फर्मसिस्टको इन्टरभेन्सन (प्रयोग) ले औषधिको दुस्प्रभाव भई हस्पिटल भर्ना हुने २७ प्रतिशत बिरामी घटेका छन् र बिरामीको आर्थिक भार पनि कम भएको छ। नेपालमा पनि यो सम्भव छ।