विवेक कट्टेल
चीनको वुहान सहरबाट सुरु भई संसारभरि नै पैmलिएको नोबेल कोरोना भाइरस अर्थात् कोभिड–१९ अहिले सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा प्रत्येक घरघरमा चर्चाको विषय बनेको छ।
११ मार्च २०२० मा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणको वर्गीकरणलाई स्वास्थ्य आपतकालबाट महामारीमा परिवर्तन गर्यो।
आधा करोडभन्दा बढी जनसङ्ख्यालाई संक्रमित बनाइसकेको यो भाइरसबाट संक्रमित हुने नेपालीको सङ्ख्या पनि दिनानुदिन बढ्दो छ।
जब पत्रपत्रिका तथा टिभी च्यानलहरुमा ‘महामारी’ शब्दले स्थान पाउन थाल्छ तब जनमानसमा त्रासले प्रभाव पार्न थाल्छ। यही डर र त्रासको छत्रछायामा डेरा जमाउँछ ‘गलत जानकारी र अफवाह’ ले।
यो लेखमा हिजोआज फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमा प्रचलित तथा गाउँघरमा विद्यमान भ्रान्तिमूलक तथ्यहरुको विश्लेषण गर्ने चेष्टा गरिएको।
१. कोरोना भाइरस मानिसलाई थाहा भएको सबैभन्दा घातक भाइरस हो
यो भाइरस ‘इन्फ्लुएन्जा’ भन्दा अधिक गम्भीरजस्तो देखिए पनि मानव सभ्यताले भोगेका ‘मारवर्ग’, ‘इबोला’ जस्ता भाइरसको तुलनामा कम घातक देखिन्छ।
२. केवल वृद्ध र वयस्कहरू मात्र जोखिममा छन्
अन्य कोरोना भाइरस जस्तै सार्स–कोभ–२ ले कुनै पनि उमेर समूहका व्यक्तिलाई संक्रमण गर्न सक्छ। तर पूर्व अवस्थित स्वास्थ्य समस्या जस्तैः मधुमेह वा दम रोग भएका व्यक्तिहरूको लागि भने गम्भीर बिरामी हुने सम्भावना बढी हुने देखिएको छ।
३. बच्चाहरू कोभिड–१९ बाट संक्रमित हुन सक्दैनन्
हालसम्मको तथ्याङ्क हेर्दा धेरैजसो संक्रमण वयस्कमा भए तापनि बच्चाहरू प्रतिरोधात्मक छन् भन्न सकिन्न। प्रारम्भिक प्रमाणहरूले बच्चामा पनि संक्रमण हुने समान सम्भावना देखाउँछन् तर तिनीहरूको लक्षणहरू भने कम गम्भीर हुने गर्छ।
मे २०२० मा केही वैज्ञानिकहरुले आफ्नो शोधमा सार्स–कोभ–२ सँग सम्पर्कमा आएका एक हजार जना बच्चामध्ये एक जनामा संक्रमण हुने कुरा उल्लेख गरेका छन्।
४. कोभिड–१९ सामान्य रुघाखोकी जस्तै हो। (सार्स–कोभ–२ साधारण चिसोको एक परिवर्तित रूप हो)
दुवैको लक्षण जस्तैः पीडा हुने, ज्वरो, खोकी आदि मिल्न गए पनि दुवै उस्तै हैनन्। त्यस्तै दुवै कोभिड–१९ र रुघाखोकी सामान्य, गम्भीर र कहिलेकाहीँ घातक हुन सक्छन्। दुवैले निमोनिया पनि निम्त्याउन सक्छन्।
५. कोभिड–१९ संक्रमित धेरै मानिस मर्छन्
यो कथन गलत छ। माथि उल्लेख गरेअनुरुप कोभिड–१९ केवल थोरै मानिसमा मात्र घातक रहेको छ। ‘चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ ले हालसालै तयार पारेको एक प्रतिवेदनमा चीनमा देखिएका ८०.९ प्रतिशत केसहरु घातक नभएको उल्लेख गरेको छ।
त्यस्तै डब्लुएचओले आफ्नो प्रतिवेदनमा करिब ८० प्रतिशत जनसङ्ख्यामा संक्रमण हुने तर तुलनात्मक रुपमा घातक नहुने र उनीहरुलाई अस्पतालमा विशेष उपचारको आवश्यकता नपर्ने कुरा उल्लेख गरेको छ।
सामान्य लक्षणहरूमा ज्वरो, खोकी, घाँटी दुख्ने, थकान, र श्वास फेर्न गाह्रो हुने हुन सक्छ।
६. एन्टिबायोटिकले कोरोना भाइरसलाई मार्छ, फ्लु र निमोनियाको खोपले कोभिड–१९ विरूद्ध संरक्षण गर्छ
एन्टिबायोटिकले मात्र ब्याक्टेरियाहरूलाई मार्छ, भाइरस मार्दैन। सार्स–कोभ–२ अन्य भाइरसहरुभन्दा फरक छ, कुनै अवस्थित खोपले संक्रमण विरूद्ध रक्षा गर्दैन।
७. घरेलु उपचारले कोभिड–१९ विरूद्ध उपचार र सुरक्षा गर्न सक्छ
केही अनुसन्धानले देखाए अनुसार लसुन, अदुवा, बेसार, तिलको तेल, गहुँत, गोबरले ब्याक्टेरियाका केही प्रजातिहरूको वृद्घिविकास सुस्त बनाउन सक्छ। तर कोभिड–१९ को संक्रमण विरुद्ध रक्षा गर्न सक्छ भन्ने प्रमाण छैन।
कोभिड–१९ बाट बच्ने उत्तम उपाय भनेको हात धुने राम्रो विधि अपनाउनु हो र बिरामी हुने स्थानबाट टाढा बस्नु हो।
८. वातावरणमा तापक्रम बढ्दा भाइरस मर्छ
केही भाइरसहरू चिसो महिनामा सजिलै फैलन्छन् तर यसको मतलब यो हैन कि, मौसम प्रतिकूल हुँदा पूर्ण रूपमा रोकिन्छ। तापमान परिवर्तनहरूले सार्स–कोभ–२ को व्यवहारमा पर्ने प्रभावमा अझै पनि अनुसन्धान भइरहेको छ।
९. मास्कले कोरोना भाइरसबाट बचाउँछ
स्वास्थ्यकर्मीहरूले पेसागत मास्क लगाउँछन्, जुन अनुहारको वरिपरि फिँजिएको हुन्छ। जसले तिनीहरुलाई संक्रमणबाट बचाउँछ। यद्यपि डिस्पोजेबल मास्कले त्यस्ता सुरक्षाको ग्यारेन्टी गर्न सक्दैन। यी मास्कहरू अनुहारमा पूर्ण रूपले मिल्दैनन्। यसबाट साना भाइरल कणहरू मुख र नाकमा छिर्न सक्छन्।
जहाँसम्म, यदि कसैलाई श्वासप्रश्वास सम्बन्धी रोग छ भने मास्कको प्रयोगले अरूलाई संक्रमणबाट बचाउन मद्दत गर्छ।
साथै, जब मास्क लगाइन्छ, यो राम्रोसँग लगाउनु र यसलाई प्रयोगपछि राम्रोसँग डिसपोज गर्नु महत्वपूर्ण हुन्छ।
१०. छालामा क्लोरिन वा मदिराको स्प्रेले शरीरमा भाइरसहरू मार्छ
यी रसायनहरू सतहलाई किटाणुरहित गर्न प्रयोग गर्न सकिन्छ तर तिनीहरूलाई छालामा प्रयोग गर्नु मुर्खता हो। यस्ता रसायनहरु छर्किंदा यदि आँखा वा मुखमा गयो भने हानि हुन सक्छ।
हामीले के गर्नुपर्छ?
रोग नियन्त्रण र रोकथाम केन्द्रले सार्स–कोभ–२ को प्रसारलाई कम गर्न तल उल्लेखित साधारण कदमहरु सिफारिस गरेको छः
१. लक्षणहरू देखिएका मानिसको सम्पर्कमा नजानुहोस् वा गएपनि सामाजिक दूरी राख्नुहोस्
२. सकेसम्म आफ्नो आँखा, नाक, मुख नछुनुहोस्
३. यदि तपाईं बिरामी हुनुहुन्छ भने घरैमा बस्नुहोस्
४. खोक्दा हाँच्छ्यु गर्दा रुमाल, तथा रुमाल नभएको खण्डमा हात दोबारेर कुहिनोको भित्री भागले छोप्नुहोस्, टिस्युको प्रयोगपछि व्यवस्थित ठाउँमा फ्याँक्नुहोस्
५. तपाईंले प्रायः छुने वस्तु र सतहमा किटाणुशोधन गर्न स्प्रे र वाइपहरू प्रयोग गर्नुहोस्
६. २० सेकेन्डको लागि नियमित रूपमा साबुनपानीले हात धुनुहोस्
जबसम्म तपाईं स्वास्थ्यकर्मी हुनुहुन्न वा बिरामीको हेरचाह गर्नुहुन्न, तबसम्म सिडिसीले फेस मास्क लगाउन सिफारिस गरेको छैन।
माथि उल्लेखित सल्लाह सरल देखिन सक्छन्, तर महामारीको समयमा यी नै उत्तम तरिकाहरू हुन्।
‘कोरोना विरुद्घको लडाईंमा एकजुट रहौँ, आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ।