जीवनशैली

बारम्बार! किन हुन्छ डाक्टर माथि प्रहार? [कविता]

डा अच्युत शाली घिमिरे

यहाँ
पिपिई बिनै अस्पतालमा काम
गर्न विवश छन् डाक्टरहरु
तर डाक्टरको कुरा बुझ्दिन
भन्छ सरकार,
यहाँ
दिनरात नभनी बिरामीको सेवामा
खटिन्छन् डाक्टरहरु
तर डाक्टर साक्टर चिन्दिन
भन्छ पुलिसको लाठी,
यहाँ
ज्यान बाजी राखेर
महामारीमा खटिन्छन् डाक्टरहरु
तर
लाइसेन्स खारेजीको धम्की
दिन्छ सरकार,
कठै मेरो देश
र मेरो देशको सरकार।

किन यति विघ्न
खट्टिन परेको छ डाक्टरलाई?
हर हमेशा
सहानुभूति र मानवतामा
किन चमत्कारी बन्न परेको छ डाक्टरलाई?
यस्तो महामारीमा
उपकरण छैन, प्रोत्साहन छैन
भन्दै आराम गर्न
किन सक्दैन डाक्टर?
किनकी
डाक्टर अनभिज्ञ छ
नाम स्वास्थ्य मन्त्रालय भएर पनि
अस्वस्थ कमिसनको खेलहरुमा,
किनकी
डाक्टर आशावादी छ
गृह मन्त्रालयले
जारी गर्ने शान्ती सुरक्षाका
ग्यारेन्टियुक्त हुकुमहरुमा,
अझै बुझ्दैन 
एउटा सोझो डाक्टर
कसरी बिरामीको ज्यान जोगाउन 
खोज्दा खोज्दै
हातपात हुन्छ उस्को शरीरमाथि!
सायद
यति नै बेला
आलिसन सिहंदरबार
निच्च परेर गिज्याईरहेछ
चोटका डामहरुलाई,
अनि
देशको प्रशासन
मुसुमुसु हासिरहेछ।

देख्नेहरुलाई
सेतो एप्रोन र
चिटिक्क पोसाकमा
रहरलाग्दो छ पेशा,
सरकारलाई
बिरामीको रोग किन
च्याट्टै पारिनस् भनेर
स्पष्टीकरण सोध्नलाई 
कष्टदायी छ पेशा,
घर पुग्दा अध्यारो हुन्छ
घरबाट निस्कदा बल्ल 
घाम झुल्किन्छ,
छोराले
ड्याडी भन्न पाउदैन
दमका रोगी बाबुलाई
तातो पानी खुवाउन पाईदैन,
थाकेर बेलुका चाडै सुतिन्छ
आडैमा सुतेकी
श्रीमती सुम्सुम्याउन
समेत 
अर्लाम बजाउनु पर्छ,
एउटा डाक्टर
घर पुग्दा
परदेशी आए झै
सबै जना आखाँ तन्काएर हेर्छन्
छुट्टिएर हिड्दा
कोरोना सम्झिएर
आखाँ न्यास्रो पार्छन्,
आखिर पैसाकै लागि 
डाक्टर दौडिएको त होइन नि,
तर समय जस्तै
डाक्टरको जिन्दगी
भित्तामा झुण्डाएको
घडि जस्तै छ
आफ्नै तालमा छ
सोच विचार गर्दैन
तर कुदिरहेछ
नि:सन्देह निःस्वार्थ,
आखिर डाक्टर पनि त मान्छे न हो!
हातपात गर्नलाई 
कुनै अपराधी त होइन नि।

डाक्टरको जिन्दगी
खाली किटाणु-विषाणु
लब-ढब
मात्र रहेनछ,
समरभुमिमा
जसरी योद्धा लड्छ
उसैगरि महामारीमा
चेतावनीलाई लक्षण सम्झिएर
अभावलाई चुनौति सम्झिएर
हरेक आत्मजिज्ञासा र त्रासहरुमा
अस्पताल रुपी युद्ध भूमिमा
एक्लै लड्दो रहेछ,
जति नै आखा चिम्लिउन् शासकहरुले
दुनिया ढाकून् भाषणहरुले,
हातपात गरुन्
डाक्टरका आफन्तहरुले,
एक्लै लडिरहदो रहेछ
बस् एक्लै लडिरहदो रहेछ
तर आखिर कहले सम्म?

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने