काठमाडौं- कोरोना उपचार गर्ने अस्पतालमा कार्यरत भएको भन्दै थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका चिकित्सकले रक्तश्राव भई उपचार लागि पुगेकी गर्भवती नर्सको उपचार नगरी फर्काएका छन्।
समयमा उपचार नभएपछि पहिलो गर्भ खेर जान सक्ने जोखिम बढेको ती नर्सले गुनासो गरेकी छिन्। उनले गर्भवती र सुत्केरीलाई स्वास्थ्यकर्मीले कोभिडको बहानामा नहेरेका कारण धेरै लकडाउनमा धेरै गर्भवती सुत्केरीले ज्यान गुमाइरहेको समेत दुखेसो गरिन्।
आफू सरकारी कर्मचारी भएकाले नेपालकै गुणस्तरीय प्रसूति अस्पतालमा उपचार सेवा लिन जाँदा दुर्व्यवहार भोग्नुपरेको स्वास्थ्यखबरलाई बताइन्।
उनी अस्पतालले उपचार नगरेपछि निजी अस्पतालमा गई उपचार गराई अहिले आराम गरिरहेकी छिन्।
‘समयमा उपचार नपाएकाले मेरो गर्भ खेर जाने जोखिम बढेको छ, निजी अस्पतालका प्रसूति विशेषज्ञले औषधि खाएर केही दिन आराम गर्नुस् भन्नुभएकोले अहिले आराम गरिरहेको छु,’ उनले भनिन्, ‘बेलाबेलामा नराम्रो गरी पेट दुख्छ। त्योभन्दा नराम्रो गरी मन दुखेको छ। चिकित्सकले एक स्वास्थ्यकर्मीलाई उपचार गर्दैन भने सर्वसाधारणले झन् उपचार पाएकै छैनन् र ज्यान गुमाएका गुमाएकै छन्।’
जेठ २५ गते आइतबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत नर्स रक्तश्राव भएपछि श्रीमानका साथ उपचारका लागि प्रसूतिगृह पुगेकी थिइन्।
उनलाई त्यहाँ कोभिड-१९ स्क्रिनिङ वार्डमा खटिएका चिकित्सकले सरुवा रोग अस्पतालबाट आएर अरुलाई समेत जोखिममा पारेको भन्दै धम्क्याएका थिए। ती नर्सले भनिन्,‘सरुवा रोग अस्पतालबाट आएको भनेर जानासाथ नै मलाई निकै केरकार गरियो। एक जना नर्स साथी भएकाले निकै समयपछि स्क्रिनिङ गर्ने डाक्टरकोमा लगिदिनुभयो। डाक्टरको सिफ्ट चेन्ज हुँदैछ भनेर निकै बेर पर्खाए। भित्र एक्जामिनेसन बेडमा राखिसकिएपछि फेरि बाहिर बोलाएर गाली गर्दै उपचार गर्न माननेन्।’
उनले रक्तश्राव भएकोले भिडियो एक्सरे गर्नका लागि चिकित्सकलाई आग्रह गरेकी थिइन्। तर, उनीहरू कोभिड अस्पतालबाट आएको र अस्पतालको प्रोटोकल नभएकाले गर्न नमानेको उनले बताइन्।
‘उनीहरुले टेकु अस्पतालबाट आएको कुरा किन लुकाएको भनेर रिसाए। तर, मैले मेरो सबै कुरा कार्डमा लेखेको थिएँ। उपचार नगर्ने भनेपछि मन्त्रालयमा कम्प्लेन गर्छु भनेपछि ती चिकित्सकले (स्पेकुलम एक्जामिनेसन) शारीरिक जाँच मात्र गर्छु भने, मैले मानिनँ,' उनले भनिन्। उनले आफूलाई भिडियो एक्सरे नै गर्नुपर्ने भएकाले दुखाईपूर्ण जाँच नगर्ने अडान लिएकी थिइन्।
उनले उपचार नपाएपछि अस्पतालकी नर्सिङ प्रमुखलाई समेत गुनासो गर्न गएको तर उनी अस्पतालमा नभएकाले नेपाल मिर्डवाइफ्री सोसाइटीकी अध्यक्षलाई फोनमा उपचार नभएको गुनासो गरेको बताइन्।
बेलाबेलामा प्रसूतिकै मिडवाइफहरूसँग फोनमा काउन्सिलिङ पनि लिइरहेकी थिएँ। अस्पताल निर्देशकलाई कम्प्लेन गर्न २ तला चढेपछि अब यहाँ उपचार राम्रो हुन्न भन्ने लागेर आफू निजी अस्पतालमा गएको उनले बताइन्।
उनले लकडाउनपछि रक्तश्रावका कारण गर्भवती मृत्यु भइरहेको भन्ने खबर सुनिरहेको भन्दै आफूलाई निकै डर लागेको उल्लेख गरिन्। उनले भनिन्,‘ त्यहाँका चिकित्सक र अन्य स्टाफले फुलसेट पिपिई लगाएका थिए। मैले पनि एन-९५ मास्क, गगल्स लगाई सुरक्षित नै भएर गएको थिएँ। नर्सलाई उनीहरूले त्यस्तो व्यवहार गर्छन् भने केही थाहा नपाएको जनतालाई कस्तो सेवा दिइरहेका होलान्?’ घटनाले आफू मानसिक रुपमा विक्षिप्त भएको उनले बताइन्।
पछिल्लो समय वीर, सिभिल अस्पतालले पनि गम्भीर बिरामीको उपचार नगरी फर्काएको गुनासो आइरहेको छ। वीरले बिरामी भर्ना नगर्दा उपचार नपाई एक बिरामीको ज्यान गएको समाचार समेत प्रकाशन भइरहेको छ।
स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका अनुसार लकडाउन सुरु भएपछि देशभर ३३ जना गर्भवती र सुत्केरीले ज्यान गुमाएका छन्। २५० गर्भभित्र रहेका शिशु तथा नवजात शिशुको मृत्यु भएको छ।