काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरले पहुँचका आधारमा सर्टलिस्टमा नाम निकालेको भन्दै स्टाफ नर्सहरु आन्दोलनमा उत्रिएका छन्।
कोरोना कहरका बीच लिखित परीक्षा लिन नसके पनि मौखिक अन्तर्वार्ताबाट परीक्षा लिनुपर्ने माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
स्टाफ नर्सहरुले शनिबारबाट चरणबद्ध आन्दोलन गर्दै आएका छन्। उनीहरुले फारम शुल्क आफूहरुले पनि तिरेको र मिहिनेत गरेर पढेको भन्दै विभेदपूर्ण छनोट गरिएकोले विरोधमा उत्रिएको बताएका छन्। परीक्षा लिएर मात्र छनोट गर्नुपर्ने माग राख्दै नर्सहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयदेखि नेपाल नर्सिङ संघसम्म पत्र बुझाएका छन्।
कोरोना कहरका बीच सबैको परीक्षा लिन नसक्ने भन्दै ट्रमा सेन्टरले १ सय ७७ जनाको नाम पहुँचको आधारमा सार्वजनिक गरेको अन्दोलनरत नर्सहरुले आरोप लगाएका छन्। ‘राम्रालाई होइन, हाम्रालाई छानिएको छ,’ अस्पतालको यस्तो व्यवहारको विरोध गर्छौं। यो हाम्रो मात्र समस्या होइन, सम्पूर्ण नर्सहरुको समस्या हो,’ उनीहरु भन्छन्।
सूचनामा कति प्रतिशतसम्म अंक ल्याएकालाई प्राथमिकतामा राख्ने भन्नेबारे कुनै कुरा उल्लेख नगरेको आन्दोलनरत नर्सहरुको दाबी छ।
उनीहरु भन्छन्, ‘सूचना निकाल्दा अस्पतालले कुनै अनुभवको कुरा गरेको थिएन। सूचनामा २५ जना नर्स चाहिएको छ मात्र भनिएको थियो।’
आन्दोलनरत नर्स प्रश्न गर्छन्, ‘यस्तै गर्नु थियो भने जम्मा २५ जना आवश्यक परेकोमा १२ सयले आवेदन दिँदासम्म किन रोकिएन?’
राष्ट्रिय ट्रमा सेन्टरले फागुन २० गते खुला प्रतिस्पर्धाबाट २५ जना स्टाफ नर्स माग गरेको थियो। जसको लागि झन्डै १२ सय जनाले आवेदन दिएका थिए।
अस्पतालले असार १९ गते सर्टलिस्टमा परेकाको सूचना प्रकाशित गरेको थियो। सूचनामा प्राप्ताङ्क, कार्यअनुभव र शैक्षिक योग्यताको आधारमा सर्टलिस्ट तयार पारेको उल्लेख गरिएको छ।
कोरोना कहरबीच लिखित परीक्षा लिन नसकिरहेको बेलामा अस्पताललाई छिटोभन्दा छिटो नर्स चाहिएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चिकित्सक विज्ञान प्रतिष्ठान न्याम्ससँग सल्लाह गरेर मन्त्रालयको मापदण्ड अनुसार प्राप्ताङ्क, कार्यअनुभव र शैक्षिक योग्यताको आधारमा सर्टलिस्ट तयार पारेको अस्पतालका सूचना अधिकृत अर्जुन भेटुवालले जानकारी दिए।
उनले भने, ‘मन्त्रालयको मापदण्ड अनुसार न्याम्स र मन्त्रालयसँग परामर्श गरेर यस्तो निर्णय गरेका हौं।’
सर्ट लिस्टमा परेका १ सय ७७ जनाको १५ जनाका दरले सोमबारबाट अन्तर्वार्ता भइरहेको र अन्तर्वार्ता शनिबारसम्म चल्ने अस्पतालले जनाएको छ।