टिप्स/जानकारी

सर्पले टोक्दा गर्नै नहुने यी ६ काम र बच्ने १२ उपाय

लोकेन्द्र अवस्थी 

प्राय: सर्पले मानिसलाई त्यसै टोक्दैनन्। केही गरेर मानिसको सम्पर्कमा आएमा वा जानी-नजानी मानिसले सर्पलाई चलाएमा आफ्नो ज्यान रक्षाका लागि टोक्ने गर्छ।

सर्पले टोकेको प्राथमिक उपचार
सर्वप्रथम त सर्पले टोकेको हो या होइन जान्न जरुरी हुन्छ। यदि टोकेको शंका लागेको ठाउँमा स-साना दुई वटा घाउ छन् भने त्यो सर्पले टोकेको हुनसक्छ। सर्पले टोकेको थाहा पाएमा सकेसम्म सर्प चिन्ने प्रयास गर्नुपर्छ। प्राय: करेत, गोमन, लम्भा नामले जानिने सर्पहरु बढी भेटिने गर्छन्। 

सर्पले डसेको व्यक्ति अत्यन्त डराएको हुने हुँदा उसलाई सान्त्वना दिनुपर्छ। टोकेको भागलाई धेरै चलाउँदा विष छिटो र बढी मात्रामा रगत र लिम्फमा फैलिने भएकोले उक्त भागलाई सकेसम्म चलाउनु हुँदैन। हातखुट्टामा टोकेको छ भने ब्यान्डेज वा स्पिलिन्ट  लगाएर नचलाई राख्नुपर्छ।

गोमन र करेतले टोकेको हो भने टोकेको भागबाट अलि माथिसम्म हल्का प्रेसर पर्ने गरी ब्यान्डेज बाँध्नुपर्छ। यसलाई प्रेसर इमोबिलाइजेसन विधि भनिन्छ तर एकै ठाउँमा एकदमै कसेर बाँध्नु हुँदैन। कसेर बाँध्नाले त्यसभन्दा मुनिको भागमा रक्तसञ्चार पूरै बन्द हुन जान्छ र उक्त भाग मरेर खेर जान सक्ने हुन्छ।

विषका लक्षणहरु कम नभएसम्म वा प्रतिविषको प्रयोग सुरु नभएसम्म त्यो प्रेसर ब्यान्डेज खोल्नु हुँदैन। सकेसम्म चाँडो बिरामीलाई नजिकको अस्पताल वा सर्पको टोकाइको उपचार हुने केन्द्रमा लग्नुपर्छ। 

सर्पको टोकाइबाट बच्ने उपाय
१.    आफ्नो ठाउँ वरिपरि पाइने सर्पहरुको बारेमा जानकारी राख्ने। ती कस्तो ठाउँमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढी सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्नुपर्छ।

२.    वर्षाको समयपछि, खेत रोपाइँका बेलामा सर्पको बारेमा विशेष ध्यान पुर्‍याउनुपर्छ। किनभने यस्तो बेला सर्पहरु बाहिर निस्कने सम्भावना बढी हुन्छ।

३.    रातको समयमा बाहिर निस्कँदा उज्यालो बत्ति, टर्चलाइट, लालटिन, लठ्ठी लिएर मात्रै निस्कने गर्नुपर्छ। एक अध्ययनका अनुसार करिब ७५ प्रतिशत विषालु सर्पको डसाइका घटना रातको समयमा भएको पाइएको छ।

४.    सर्प पाइनसक्ने ठाउँमा जानुपर्दा घुँडासम्म आउने बाक्लो जुत्ता, रबरको बुट र पूरा खुट्टा छोप्ने बाक्लो पाइन्ट लगाउने गर्नुपर्छ।

५.    जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नांगो हातले समाउने गर्नु हुँदैन। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन, त्यसैले सकेसम्म खाली हातले छुने वा समाउने कोशिस गर्नु हुँदैन।

६. सम्भव भएसम्म भुईंमा नसुत्ने। सुत्दा झुल लगाएर सुत्ने बानी गर्नुपर्छ।

७. रुख अथवा जमिनमा भएका प्वालहरुमा जथाभावी हात छिराउनु हुँदैन।

८. जुत्ता लगाउँदा जुत्ताभित्र राम्रोसँग हेरेर मात्रै लगाउनुपर्छ।

९. भ्यागुता, मुसा, चरा, छेपारो आदि सर्पका आहारा भएकाले तिनलाई सकेसम्म घरभित्र बस्न दिनुहुँदैन।

१०. सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली हाल्नुपर्छ।

११. बालबालिकालाई सर्प हुनसक्ने ठाउँहरुका बारेमा जानकारी दिने र सावधान रहन सिकाउनुपर्छ। 

१२. सर्पको डसाइमा गरिने प्राथमिक उपचार थाहा पाइराख्ने र प्रतिविष पाइने नजिकको स्वास्थ्य संस्था वा अस्पतालका बारेमा जानकारी राख्ने। 

सर्पको डसाइका चिह्न र लक्षण 
सर्प भन्ने वित्तिकै विषालु हुन्छ भन्ने विश्वास व्याप्त भएकोले जुनसुकै सर्पले टोक्दा पनि अत्यधिक डरका कारणले केही लक्षणहरु देखिन सक्छन्। जस्तै: छिटोछिटो श्वास फेर्ने, पसिना आउने, चक्कर लाग्ने, हातखुट्टा झमझमाउने, पेट र सम्पूर्ण शरीर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मुटुको धड्कन कम हुँदै जाने, रक्तचाप घट्ने, बेहोस हुने आदि। 

अचम्म लाग्न सक्छ, तर यी सबै लक्षण विष नभएको सर्पले टोक्दा पनि धेरै डराएमा देखिन सक्छ। तर पनि सर्पले टोकेका हरेक बिरामीलाई सकेसम्म चाँडो नजिकको अस्पताल पुर्‍याउनुपर्छ।

त्यस्तै सर्पले टोकेको भागबाट विष नफैलियोस् भनेर त्यसभन्दा केही माथि जोडसँग कस्ने गरिन्छ (जुन हिजोआज पनि गर्ने गरिन्छ) त्यसले रक्तसञ्चारमा अवरोध पुगेर उक्त भाग दुख्ने, सुन्निने, निलो हुने र मरेर खेर जाने पनि हुनसक्छ।

सर्पले डसेको भाग र त्यस वरपरमा देखिने लक्षण
डसेको भागमा सर्पको दाँतको चिह्न देखिन सक्छ, तर सधैं यो देखिन्छ भन्ने छैन। डसेको भाग दुख्ने, सुन्निने, घाउ हुने, रगत बग्ने, फोका उठ्ने, निलडाम बस्ने, नजिकैका लिम्फ ग्रन्थी सुन्निने, गाँठागुठी बढ्ने हुन्छ।

सम्पूर्ण शरीरमा देखिने लक्षण
वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, कमजोरी महसुस हुने, पसिना आउने, चक्कर लाग्ने, हेर्ने शक्तिमा ह्रास आउँदै जाने, रक्तचाप घट्दै जाने, बेहोस हुने, मुटुको चालमा गडबडी आउने।

डसेको घाउबाट रगत बग्ने, गिजा, नाक, मुखबाट रगत बग्ने, छालामा मसिना र ठूलाठूला राता दाग देखिने, रगत बान्ता हुने, खोकीमा रगत देखिने, पिसाबमा रगत देखिने आदि। यी रगत बग्ने लक्षणहरु मुख्यतया: भाइपर जातका सर्पहरुको डसाइमा देखिने गर्छ, किनकी यिनीहरुको विष रगतको जम्ने क्षमतामा असर गर्ने खालका हुन्छन्।

त्यस्तै गोमन, करेत (जसको विष स्नायुहरुमा असर गर्ने र प्यारालाइसिस गराउने खालका हुन्छन्) हरुको डसाइमा हातखुट्टा झमझमाउने, आँखाको ढकनी भारी हुने, स्वर परिवर्तन हुँदै जाने, बोल्न नसक्ने हुने, थुक निल्न गाह्रो हुने, मुखबाट र्‍याल बगिरहने, स्वास फेर्न गाह्रो हुने, हातखुट्टा लुलो हुने र पूरै शरीर प्यारालाइसिस हुने जस्ता लक्षण देखिन्छन्।

सर्पको डसाइपछि के नगर्ने?
१) टोकेको ठाँउमा ब्लेडले चिरेर रगत बगाई विषलाई बाहिर फाल्ने प्रयास नगर्ने, त्यसो गर्दा विषभन्दा रगत बढी गई बिरामीको मृत्यु हुनसक्छ।

२) चलचित्रहरुमा देखाएको जस्तो मुखले चुसेर विष निकालेर फाल्न सकिँदैन। बरु मुखमा घाउहरु छ भने त्यस्तो गर्नेलाई नै विष लाग्नसक्छ, त्यसैले त्यस्तो प्रयास नगर्ने।

३) धामीझाँक्रीको उपचार, विष सोस्ने कालो ढुंगाको उपचारतर्फ लागेर महत्वपूर्ण समय नगुमाउने। विश्वासका आधारमा यी उपचारले बिरामीलाई मानसिक रुपमा सन्तुष्टि त मिल्छ तर विषालु सर्पले टोकेको रहेछ भने उपयुक्त उपचारको ढिलाइमा बिरामीको ज्यान जानसक्छ।

४) टोकेको अंगलाई अनावश्यक रुपमा नचलाउने।

५) घाउमा कुनै पनि प्रकारको जडिबुटी, बरफ तथा औषधिको प्रयोग नगर्ने। 

५) चिकित्सकले नभनेसम्म केही नखाने, नपिउने।

६) विष नफैलियोस् भनेर टोकेको भागभन्दा माथि कस्सेर बाँध्ने गर्नुहुँदैन। यसले फाइदाभन्दा बेफाइदा बढी गर्छ।

सर्पको डसाइको उपचार
प्रतिविष (एन्टी स्नेक भेनम) को प्रयोग विषालु सर्पको डसाइको अन्तिम र एकमात्र उपचार  हो र कुन बिरामीलाई चलाउने र कुनलाई नचलाउने भन्ने महत्वपूर्ण कुरा हो।

नेपालमा प्रयोग गरिने प्रतिविषले ४ प्रकारका विषालु सर्प (गोमन, करेत, भाइपर) को टोकाइमा काम गर्छ। यसको पनि आफ्नै खराब असरहरु छन्, त्यसैले विषको असर नदेखिएसम्म, विषालु सर्पले टोकेको यकिन नभएसम्म प्रतिविषको प्रयोग गरिँदैन।

यो एन्टी स्नेक भेनम सर्पदंश उपचार केन्द्रहरुमा पाइन्छ। यसका खराब असरहरु धेरै हुने, बढी महँगो हुने र सीमित मात्रामा मात्र उपलब्ध हुने भएकोले सर्पले टोक्यो भनेको आधारमा मात्रै लक्षणहरु नदेखिई प्रयोग गरिँदैन।

(अवस्थी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एमबिबिएस अन्तिम वर्ष अध्ययनरत छन्।)
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने