काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरले लिखित र मौखिक परीक्षाबिना नै पहुँचका आधारमा नर्स भर्ना गर्न खोजेको भन्दै आन्दोलनमा उत्रिएका नर्सहरुले कानुनी प्रक्रियामा जाने तयारी गरेका छन् ।
राष्ट्रिय ट्रमा सेन्टरले फागुन २० गते खुला प्रतिस्पर्धाबाट २५ जना स्टाफ नर्स माग गरेको थियो। यसका लागि १२ सय जनाभन्दा बढीले आवेदन दिएकोमा ट्रमा सेन्टरले १ सय ७७ जनालाई मात्र सर्टलिस्ट गरेको भन्दै नर्सहरु आन्दोलनमा छन्।
ट्रमा सेन्टरले असार १९ गते १ सय ७७ जनालाई सर्टलिस्ट गरेको थियो।
आन्दोलनरत नर्सहरुले कानुनी प्रक्रिया जान नेपाल नर्सिङ संघमा निवेदन दिएको बताएका छन्। ‘ट्रमा सेन्टरले कुनै पनि प्रक्रिया नअपनाई आफ्ना निकटलाई जागिर दिने मनसायले यो आवेदन खोलेको प्रष्ट भएको छ,’ आन्दोलनरत एक नर्सले स्वास्थ्यखबरसँग भनिन्, ‘अब हामी कानुनी प्रक्रियामा जान्छौं, यसका लागि नर्सिङ संघलाई जानकारी गराएका छौं।’
कोरोना संक्रमणका कारण लिखित परीक्षा लिन सम्भव नरहेको र तत्काल अस्पताललाई नर्सको आवश्यकता रहेकाले स्वास्थ्य मन्त्रालय र चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)सँगको सल्लाहका आधारमा सर्टलिस्ट तयार गरिएको ट्रमा सेन्टरले जनाएको छ।
‘हामीले मन्त्रालय र न्याम्ससँगको परामर्शका आधारमा एउटा मापदण्ड बनाएका हौं,’ ट्रमा सेन्टरका सूचना अधिकृत अर्जुन भेटुवालले भने, ‘निवेदकको प्राप्तांक, कार्यअनुभव र शैक्षिक योग्यताको आधारमा सर्टलिस्ट गरिएको हो। यसमा कुनै भेदभाव गरिएको छैन।’
नर्सहरु भने अस्पतालको जवाफसँग सन्तुष्ट छैनन्। उनीहरु अस्पतालले नर्स छनोटमा मापदण्ड बनाएको भने पनि पारदर्शी नभएको दावी गर्छन्। कोरोनाका कारण लिखित परीक्षा लिन समस्या भए मौखिम भए पनि लिनुपर्ने आन्दोलनरत नर्सहरुको माग छ। उनीहरुले लिखित परीक्षा नभए अन्तर्वार्ताबाट भए पनि नर्स छनोट गर्नुपर्ने माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नर्सिङ संघसम्म उजुरी दिएका छन्।
नर्सिङ संघले भने कर्मचारी छनोट गर्ने अधिकार सम्बन्धित निकायलाई हुने भन्दै नर्सहरुको आन्दोलनबारे बुझ्ने प्रतिक्रिया दिएको छ। संघकी अध्यक्ष मनकुमारी राईले अहिलेसम्म नर्सहरुले कुनै लिखित गुनासो नगरेको बताइन्। ‘नर्सहरु समस्यामा परेका होलान् तर हामीलाई कुनै आधिकारिक रुपमा जानकारी आएको छैन’, उनले भनिन्, ‘त्यसमा पनि कर्मचारी छनोट गर्ने विषय कुनै पनि संस्थाको अधिकारको कुरो हो।’ उनले आन्दोलनरत नर्सहरुले लिखित जानकारी दिएमा बुझ्न सकिने बताइन्।
नर्सहरु भने कर्मचारी छनोट प्रक्रियामा असहमति जनाउँदै अघिल्लो शनिबारदेखि चरणबद्ध आन्दोलनमा छन्। ‘कति प्रतिशतसम्म अंक ल्याएकालाई प्राथमिकतामा राख्ने भन्नेबारे सूचनामा केही पनि उल्लेख गरेको छैन,’ आन्दोलनरत एक नर्सले भनिन्, ‘सूचना निकाल्दा अस्पतालले कुनै अनुभवको कुरा गरिएको थिएन। २५ जना नर्स चाहिएको छ मात्र भनिएको थियो। अहिले न लिखित परीक्षा लिएको छ, न मौखिक।’
अस्पतालले असार १९ गते निकालेको सर्टलिस्टमा प्राप्तांक, कार्याअनुभव र शैक्षिक योग्यताको आधारमा सर्टलिस्ट तयार पारेको उल्लेख गरेको छ। अस्पतालले सर्ट लिस्टमा परेका १ सय ७७ जनाको अन्तर्वार्ता लिइसकेको छ। केही दिनमै २५ जना नर्स छनोट गरी काममा बोलाउने अस्पतालले जनाएको छ।