काठमाडौं– नेपाल मेडिकल काउन्सिलले आइसोलेसन र क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिको विस्तृत अध्ययन गर्न स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ।
काउन्सिलको फुल हाउसको बैठकले यस्तो निर्णय गर्दै मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको हो।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले आइसोलेसन र क्वारेन्टाइनमा बस्दा मृत्यु भएकाको कारण पत्ता लगाउन, त्यहाँ चिकित्सक, स्वास्थ्यकर्मी थिए कि थिएनन् लगायतका विषयमा अध्ययन गर्न आवश्यक भएकाले फुल हाउसले यस्तो निर्णय गरेको बताए।
उनले भने,‘क्वारेन्टाइन र आइसोलेसनमा कोरोनाका लक्षण नभएका व्यक्तिहरु धेरै रहेकाले त्यहाँ कसैको अचानक मृत्यु हुनु स्वभाविक नभएकाले त्यसको अध्ययन आवश्यक छ, त्यो अध्ययनले मृत्यु बचाउन सकिने थियो वा थिएन भन्ने पनि प्रष्ट पार्छ।’
मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले असार २४ गते बसेको फूल हाउसले क्वारेन्टाइन र आइसोलेसनमा मृत्यु भएका व्यक्तिको विस्तृत विवरण राखिनुपर्ने, के कारणले मृत्यु भएको हो भन्ने स्पष्ट हुनुपर्नेबारे विवरण राख्नपर्ने भन्दै मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको जानकारी दिए।
उनले निर्णय भएपनि मन्त्रालयलाई पत्राचार गर्न भने अझै बाँकी रहेको बताए।
क्वारेन्टाइनमा मृत्यु भएका कतिपय व्यक्तिहरुले उपचार नपाएर, कतिपय स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मी नहुँदा तथा केही स्थानमा अस्पतालसम्म जान एम्बुलेन्स नहुँदा ज्यान गएको समाचारहरु आइरहेका थिए। काउन्सिलले क्वारेन्टाइन र आइसोलेसनमा रहँदा मृत्यु भएकाहरुको ज्यान बचाउन सकिथ्यो वा सकिदैन्थ्यो भन्नेबारे अध्ययन गर्न समेत आवश्यक रहेको जनाएको छ।
नेपालमा हालसम्म कोरोना संक्रमण देखिएकामध्ये ४० जनाको मृत्यु भएको छ। यी बाहेक कोरोनो पोजिटिभ नदेखिएकाको पनि क्वारेन्टाइनमा मृत्यु भएको छ।
मन्त्रालयले मृत्यु भएका व्यक्तिको विस्तृत विवरण संकलन गर्न र्यापिड रेन्सपोन्स टिम बनाएको छ। मन्त्रालयले उक्त अध्ययन गर्दा काउन्सिललाई समेत टिममा समावेश गर्न सक्ने बताइएको छ।