कोभिड-१९ भिडियो

आइसोलेसनबाट कोरोना संक्रमितको सुझाव : आत्तिनु पर्दैन, यो बेला झन् बलियो हुनुपर्छ [भिडियो]

काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या करिब १९ हजार नजिक पुगेको छ। जसमध्ये ४ हजार ९ सय ५० जना सक्रिय संक्रमित छन्। 

हालसम्म नेपालमा ४८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। मन्त्रालयका अनुसार नेपालमा कोरोना पोजेटिभमध्ये मृत्युदर शून्य दशमलव ३ प्रतिशत छ। 

अस्पतालबाट डिस्चार्ज भएपछि संक्रमितहरु जसरी नाचगान गर्दै बाहिर निस्कन्छन्, त्यसको ठिक विपरीत आइसोलेसनमा रहँदा कतिपयको मनमा भने ठूलो डर रहेको हुन्छ। 

दोलखा जिरीका शिवबहादुर बस्नेत (उनकै आग्रहमा नाम उल्लेख गरिएको हो) काठमाडौंको एक अस्पतालमा निको हुने दिन कुर्दै छन्। तर उनको मनमा भने कोरोनाका कारण कुनै डर पैदा भएको छैन। अस्पतालको शय्याबाटै उनी अन्य संक्रमितलाई नआत्तिन ढाडस दिन्छन्। 

उनी केही दिनअघि बहराइनबाट नेपाल फर्किएका थिए। त्यहाँबाट नेपाल फर्किंदा उनी स्वस्थ थिए। तर नेपालमा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भयो। तर हालसम्म कुनै  लक्षण भने देखिएको छैन। 

बस्नेतले स्वास्थ्यखबरसँग आफूलाई कसरी कोरोना संक्रमण देखियो? लगायतका अनुभव साटेका छन्, अनुभव उनकै शब्दमाः

नमस्कार, म शिवबहादुर बस्नेत। मेरो घर दोलखा जिरी हो। म बहराइनबाट फर्किएको हुँ। बहराइनबाट फर्किंदा मैले आरडिटी टेस्ट गरेको थिएँ। त्यहाँबाट नेपाल फर्किंदासम्म मलाई कोरोना देखिएको थिएन। 

नेपाल फर्किएपछि म एक होटलमा सात दिनसम्म बसें। त्यसपछि गरिएको परीक्षणमा मेरो कोरोना पोजेटिभ देखियो। म होटलबाटै संक्रमित भएँ की भन्ने लाग्छ। 

सामाजिक सञ्जालमा अहिले कोरोना सम्बन्धी विभिन्न विकृति आएका छन्। यी सब हल्ला हुन् जस्तो मलाई लाग्यो। किनभने मलाई अहिलेसम्म कुनै पनि लक्षण देखिएको छैन। 

सुरुमा कोरोना पोजेटिभ आउँदा एकदमै आत्तिएको थिएँ। विभिन्न सामाजिक सञ्जाल अनि युट्युबमा संक्रमितहरु छट्पटिएको, आत्तिएको भिडियो देखेको थिएँ। त्यसैले कोरोना पोजेटिभ आउँदा म पनि अन्तिम अवस्थामा पुगें की जस्तो मनमा निकै डर लाग्यो। तर त्यस्तो केही पनि नहुने रहेछ। 

मलाई लाग्छ, यो सब नबुझ्ने मानिसले भन्ने कुरा मात्र रहेछ। कसैलाई कोरोना भाइरसको संक्रमण भइहालेमा नआत्तिनु होला। 

मलाई लाग्छ, कोरोना संक्रमणबाट कोही पनि अछुतो रहँदैन। संक्रमण भइहाले पनि केही हुँदैन। उपचार गरेपछि र आराम गरेपछि निको हुन्छ। तनाव लिनु हुँदैन। यो बेला झन् आफूलाई बलियो बनाउनुपर्छ। 

भिडियो : निमेष जंग राई

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने