काठमाडौं- काठमाडौं उपत्यकामा गरिएको एक अध्ययनले कोरोना भाइरसबाट जोगिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ्यको मापदण्ड अनुसारको सामाजिक दुरीको नियम ६९ प्रतिशत स्थानमा लागू नभएको देखाएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययनले संस्थागत तहमा जस्तैः तरकारी बजार, मल, बैंक, मालपोत कार्यालय, मठमन्दिर र होटलहरुमा गरेको अध्ययनले ३१ दशमलव २५ प्रतिशत स्थानमा मात्र सामाजिक दुरीको नियम पालना भएको देखाएको हो।
'अध्ययनका क्रममा कम स्थलमा मात्र सामाजिक दुरीको (२ मिटर) लागि मार्किङ गरिएको थियो,' अध्ययन प्रतिवेदनमा भनिएको छ, 'मार्किङ कायम गरेता पनि ३१ दशमलव २५ प्रतिशत स्थानमा मात्र सामाजिक दुरीको नियम पालना गरिएको पाइएको थियो।'
त्यसैगरी, साबुन पानी र स्यानीटाइजरको व्यवस्था भने लगभग ६० प्रतिशत स्थलहरुमा मात्रै उपलब्ध थियो।
निजी र सरकारी अस्पतालमा अवलोकन गर्दा सामाजिक दुरीको लागि ओपिडी, फार्मेसी, टिकट काउन्टर अगाडि मार्किङ कायम गरिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ। तर
अस्पतालको चमेना गृहमा भने सामाजिक दुरीको (२ मिटर) मार्कीङ कायम गरिएको थिएन। २० प्रतिशत अस्पतालमा मात्र सामाजिक दुरीको नियम पालना भएको पाइएको थियो।
३० ओटा सार्वजनिक यातायातमा अवलोकन गर्दा ५० प्रतिशत भन्दा कम यातायातमा मात्र एउटा सिटमा १ जना मात्र बस्ने व्यवस्था मिलाएको र एक सिट छोडेर अर्को सिटमा मात्र यात्रु बस्ने नियम पालना भएको थियो र स्यानीटाईजरको व्यवस्था थियो।
जनस्वास्थ्य मापदण्ड एसमएमएस (भौतिक दुरी, मास्क र स्यानिटाइजर र साबुनको प्रयोग)का विषयमा परिषदले गरेको अध्ययनले यस्तो तथ्यांक देखाएको हो।
परिषदले स्वास्थ्य मन्त्रालयको साउन ७ गतेको निर्णय अनुसार अनुसन्धान अगाडि बढाएको हो। परिषदले अनुसन्धान टोली गठन गरी साउन ९ गतेबाट अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। अनुसन्धानका लागि परिषदबाट ६ जनाको विज्ञ समुह गठन भएको थियो। तथ्यांक संकलनका लागि ३९ जना परिचालन भएका थिए।
यो पनि :