अस्पतालबाट एक्कासि फोन आउँदा
म अलि झस्किएँ ,म अलि आँत्तिएँ
आशा गरेअनुरुपै फोनको आवाजमा भनियो
"सिस्टर, भोलिबाट तपाइँको ड्युटी कोभिड वार्डमा"
सुन्नासाथ श्वास बढ्न थालेछ, धड्कन बढ्न थालेछ
आँखामा एकाएक आँसु भरिएछ।
युद्धमा लडिरहँदा, सेवा गरिरहँदा
आफ्ना धेरै साथीले देह त्यागेको थाहा हुँदाहुँदै
जाऊ लड भनेर एक्कासि भन्दा
हरकोही सिपाहीको मन झसंग हुन्छ
मेरो पनि मन नाआत्तियोस् कसरी,
मेरो शरीर नकाँपोस् कसरी,
फेरि यो युद्धमा त म एक्लै जाँदै छैन
मेरो परिवारलाई पनि साथमा लिएर जाँदैछु।
आकाशका ताराहरुलाई बादलले छेक्दा
परबाट हावाको बहाब आई त्यो बादल हटाएपछि
ती ताराहरु फेरि चम्किएझैँ
मेरो मनमा छाएका पीडाको बादल हटाउने
हावारुपी मेरी आमाका शब्दहरु थिए
"यो तेरो लागि सेवा को ठूलो अवसर हो,
तैँले गर्नैपर्छ छोरी"
ती शब्दहरुले दिएको ऊर्जा बटुल्दै
गह्रौं प्लास्टिक बुट अनि भारी पिपिईमा
आइसोलेसन वार्डका प्यसेजमा
मेरा पाइलाहरु चाल्दै गर्दा
ममा भएको अलिअलि डर, अलिअलि असहजता त
तब मलाई पूर्ण रुपमा न्यून लागे
जब मेरा पिपिईले नढाकिएका नयनहरुले
आइसोलेसन कक्षको बेडमा एक्लै छट्पटाइरहेका
वृद्ध बुबाका बग्न चाहेर पनि
बग्न नसकेका आँसु भरिएका
ती नयनहरु देखें।
मेरो दु:ख, मेरो पीडा, मेरो वेदना त
मलाई तब शून्य लागे
जब आइसोलसन कक्षका बेडमा
एक्लै छट्पटाइरहेका आमा, दिदी, दाइका
बेदनाहरु मैले महसुस गर्न सकेँ।
तीनै वेदना महसुस गरेर
म हरेक पटक उनको समिपमा पुगेर
आमा नडराउनुस्
दिदी, दाइ तनाव नलिई बस्नुस्
भनेर सम्झाउने कोसिस गर्छु
र ती मेरा सान्त्वनाका शब्दहरुले
उनलाई कति राहत मिल्छ
त्यो मलाई तब महसुस हुन्छ
जब उनी सब खुलेर आफ्ना भावना
मेरो सामु पोख्न थाल्छन्,
आफ्नो परिवारलाई समेत छेउमा आउन
अनुमति नदिएको त्यो प्रहरमा
मलाई नै आफ्नो सम्झी
आफ्ना वेदना, आँसु मेरो सामु
व्यक्त गर्न थाल्छन्
कोभिड पोजिटिभ गर्भवती आमाकी
सानी कोपिलालाई
जन्मिनासाथ मेरो भरमा छोडिँदा
ती सानी कोपिलालाई ल्याक्टोजेन खुवाउँदाखुवाउँदै
उनको बिकार सफा गर्दागर्दै
उनलाई चाहिएअनुसार तातोपना दिँदादिँदै
उनको रोदन सुन्नासाथ बेगले धड्किने मेरो मुटुमा
गाढा बनी बसिदिन्छिन्
त्यो भविष्यको ठूलो मान्छे।
उनी सबैका बेदना कम गर्ने कोसिसमा
घन्टौँ पिपिई लगाइरहँदा मेरो शरीरबाट बग्ने
पसिनाका थोपाहरुभन्दा धेरै गुणा बढी ,
गह्रौं बुटहरुमा निरन्तर गुम्सिँदा मेरा
पैतालाहरुमा हुने दुखाइहरु भन्दा धेरै गुणा बढी,
घन्टौँ लगाएर फेस मास्कहरुले
मेरो अनुहारमा बनाएका रेखा र दागहरुभन्दा
धेरै गुणा बढी खुसी
मलाई तब प्राप्त हुन्छ,
जब रिपोर्ट राम्रो आएको खबर
सुन्नासाथ ती दु:खका आँसुले भरिएका
आँखाहरुमा एकाएक
खुसीका फूलहरु फुल्न थाल्छन्
म भोलि बाँचुला नबाँचुला थाहा छैन
तर ती वृद्ध बुबाका सम्झनाहरुमा
म थोरै भए पनि बाँचे होला
जन्मनासाथ मेरो भरमा
आफ्नो बच्चा छोडिदिएकी
ती आमाका ममताका केही भागहरुमा
म थोरै भए पनि बाँचे होला
आइसोलेसन कक्षबाट निको भएर
फर्किएका दाइ, दिदी, आमाका खुसीहरुमा
म थोरै भए पनि बाँचे होला।
(शर्मा पाटन अस्पतालको कोभिड वार्डमा कार्यरत नर्स हुन्।)