जीवनशैली

सपुत गुमाएकी आमा

अंकित आचार्य

आमा!
यी नेताहरुको विश्वास गर्नै हुन्नथ्यो!

तर,
पक्कै भने होलान्-
'डाक्टर भगवान हुन्...
पठाउनुस् भगवानहरु अस्पतालमा...
देश स्वस्थ हुनेछ...
इतिहासले गर्व गर्नेछ...!'
आमा!
देश रोगी बनाउनेहरुको कुरा मान्नै हुन्नथ्यो!

किन सुन्नुभयो आमा!
मुखले मात्र प्रोत्साहन गर्नेहरुलाई?
कि बिर्सिनुभा'थ्यो? मास्कभित्र लुकेको यिनीहरुको अनुहार?

भ्रष्टाचारको महामारी फैलाउनेहरु यिनै त हुन्!
स्वास्थ्यकर्मीको श्वास निमोठ्ने डरलाग्दा भाइरस पनि यिनै हुन्!

आमा!
लाज पचाएर कुनै दिन बोलाउने छन्
एउटा सानदार होटेलमा
अनि भाषण गर्नेछन् हजारौंको भीडमा
'देशका लागि सहिद हुने सपुतहरु कहिल्यै मर्दैनन्...!'

आमा!
त्यो बेला दुई-चार शब्द तपाईंले बोलिदिनुस्
अब त बेस्मारी भरिदिनुस्, यिनीहरुको मनमा भय...
एकएकलाई औंल्याएर भनिदिनुस्
'बन्दैन मुलुक दुई-चार कपुत मरेर नगए...!'
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने