राजेशकुमार यादव
क्षयरोग र कोरोना दुवै सरुवा रोग भएको हुँदा एक संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ। क्षयरोग विश्वमा एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहिरहेको अवस्थामा हाल आएर कोरोना महामारी पनि अर्काे जनस्वास्थ्य समस्याको रुपमा देखापरेको छ। विशेषगरी नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा यी दुवै रोगले चुनौतीपूर्ण परिस्थिति सिर्जना गरेका छन्।
क्षयरोगको वर्तमान अवस्था
नेपालमा कुल जनसंख्याको ४५ प्रतिशत व्यक्तिहरु क्षयरोगबाट संक्रमित भएको अनुमान गरिएको छ, जसमध्ये करिब ६० प्रतिशत क्षयरोग वयश्क व्यक्तिमा भएको अनुमान गरएिको छ। “राष्ट्रिय क्षयरोग प्रिब्यालेन्स सर्वे-२०१९” को प्रतिवेदन अनुसार नेपालमा क्षयरोगीको संख्या ६९ हजार देखिन्छ। नेपालमा प्रतिएक लाख जनसंख्यामा ४१६ क्षयरोगका बिरामी छन्।
आव २०७६/७७ मा कुल ३२०४३ क्षयरोगका बिरामी उपचारमा रहेका छन् र नेपालमा प्रत्येक दिन १८ देखि २२ जनाको क्षयरोगबाट मुत्यु हुने गरेको अनुमान गरिएको छ।
कोरोनाको वर्तमान अवस्था
नेपालमा पहिलो कोरोना पोजेटिभको केस मिति २०७६/१०/११ गते पहिचान भएको थियो भने अहिलेसम्म कोरोना संक्रमितको संख्या ३९ हजार पुगिसकेको छ। संक्रमतिमध्ये २२५ भन्दा बढीको ज्यान गइसकेको छ।
क्षयरोग र कोरोनाको प्रभाव नेपालभर विद्यमान रहे तापनि अन्य क्षेत्रमा भन्दा विशेषत सहरी र तराई क्षेत्रमा तुलनात्मक रुपमा बढी देखिएको छ।
क्षयरोगका लक्षण
- बेलुकीपख हल्का ज्वरो आउनु
- खोकी लाग्नु र खकारमा रगत देखिनु
- खान मन नलाग्नु
- शरीरको तौल घट्नु
- छाती दुख्नु
- चाँडै थकाई लाग्नु
- श्वासप्रश्वासमा समस्या देखिनु
कोरोनाका लक्षण
- सुख्खा खोकी लाग्नु
- ज्वरो आउनु
- थकान महसुस हुनु
- श्वासप्रश्वासमा समस्या देखिनु
- टाउको दुख्नु
- छाती दुख्नु
- स्वाद/गन्ध थाहा नपाउनु
क्षयरोगको लागि जोखिम समूह
- उत्पादनशील उमेर (१५-५४ वर्ष) समूहका व्यक्ति
- मधुमेहका बिरामी
- कुपोषित बालबालबालिका
- एचआइसभ संक्रमित व्यक्ति
कोरोनाको लागि जोखिम समूह
- वृद्ध/वृद्धा
- क्षयरोग, मधुमेह, मिर्गौैला, क्यान्सर, उच्च रक्तचाप लगाएका दीर्घरोगी
- रोगसँग लड्न सक्ने क्षमता कमजोर भएका व्यक्ति
- एचआइभी संक्रमित व्यक्ति
क्षयरोगको पहिचान र निदान
क्षयरोग र कोरोनाका लक्षणहरु तुलनात्मक रुपमा धेरैजसो मिल्नुका साथै जोखिम समूह पनि उस्तै खालको भएको हुनाले पहिचान गर्न गाह्रो हुनसक्छ र क्षयरोगका वास्तविक बिरामीहरुको निदानमा समस्या आउन सक्छ। तसर्थ शंकास्पद क्षयरोगीको लक्षण सही तरिकाले पहिचान गरी नजिकको निदान केन्द्रमा पे्रषण गर्ने कार्यको लागि हाल देशभर ५६ वटा जिन एक्सपर्ट केन्द्र, ६०४ वटा प्रयोगशाला र २ वटा राष्ट्रिय पे्रषण प्रयोगशाला सञ्चालनमा छन्।
समुदायमा रहेका तर पहिचान हुन बाँकी क्षयरोगीको समयमै निदान गरी उपचारमा ल्याउन नसक्नुको कारणले क्षयरोग नियन्त्रण कार्य जटिल र चुनौतीपूर्ण बन्नुका साथै हाल कोरोना महामारीका कारण यो समस्याले थप जटिल रुप लिन पुगेकोे छ।
उचित समयमा संकास्पद क्षयरोगीहरुको निदान गर्न नसकेको खण्डमा विश्व स्वास्थ्य संगठनको क्षयरोगमुक्त विश्व बनाउने परिकल्पनामा अनि राष्ट्रिय क्षयरोग केन्द्रले लिएको आवधिक लक्ष्य पूरा नभई कागजमा मात्र सीमित हुने सम्भवना देखिन्छ।
कोरोना महामारीको कारणले क्षयरोग कार्यक्रममा चुनौती
- क्षयरोग जाँच गर्न प्रयोगशालामा केमिकलको अपुग हुनु
- जिन एक्सपर्ट केन्द्रहरुमा आवश्यक सामग्रीहरु तथा काटिज अपुग हुनु
- धेरै ठाउँको प्रयोगशाला र जिन एक्सपर्ट केन्द्रहरु कोरोनाका महामारीको कारण बन्द भएको हुनाले संकास्पद क्षयरोगीको जाँच वा निदान नहुनु
- कोरोना महामारीको कारण शंकास्पद क्षयरोगका बिरामीहरु जाँच वा निदान गराउने दर ७० प्रतिशतदेखि ८० प्रतिशत घट्नु साथै निदानको पहुँचमा २० देखि २५ प्रतिशत मात्र आउनु
- शंकास्पद क्षयरोगका बिरामी भए तापनि पनि यो कोरोना महामारीको कारण निदान गर्न स्वास्थ्य संस्था तथा अस्पतालको पहुँचमा नजानु
- क्षयरोगका बिरामी समुदायमा बिना निदान बसिरहेकोले क्षयरोग सर्ने दर बढ्नु
केही सुझाव
- जिन एक्सपर्ट केन्द्रहरुमा नियमित रुपमा जिन एक्सपर्ट काटिज आपूर्ति गर्ने
- प्रयोगशालामा आवश्यक केमिकल लगायत अन्य सामग्रीहरु नियमित रुपमा आपूर्ति गर्ने
- अभिलेख तथा प्रतिवेदनमा गुणस्तरीयता कायम गरी वास्तविक तथ्याङ्क उपलब्ध गराउने
- कोरोना संक्रमितहरुको पहिचान गर्ने क्रममा संकास्पद क्षयरोगीको पनि पहिचान गर्ने
= सरकारी, निजी तथा गैरसरकारी संस्थाहरुबीच प्रभावकारी समन्वय कायम गरी देखापरेका समस्या समाधान गर्ने।
(यादव जनस्वास्थ्यकर्मी हुन्।)