बुढा: जहानको पेट भर्ने चिन्ताले पिरोल्छ सबेरै
काम गर्न पाइएन बन्दाबन्दी भयो है धेरै
बुढी: पैसा छैन कसरी किन्ने नुनतेल तरकारी
अब त अनाज पनि सकियो रित्तियो भकारी
बुढा: लागेको छ शीघ्र नै यो जिन्दगीको डोरी चुडिन्छ
परिवारको बिजोग देख्दा मन मेरो कुँडिन्छ
बुढी: गरेर खाने निम्नलाई पार्न खोज्दैछ सखाप
भोको पेट मरिन्छ हेर बस्यौँ भने चुपचाप
बुढा: निमुखा मार्न सरकारको प्रयास छ अथक
तरकारी बेच्दै हिँड्नेको छिनिन्छ तराजु ढक
बुढी: रोगले हैन सरकारले खोस्दैछ बाँच्ने हक
आस नमार्नू जे गरे नि बाँच्नुपर्छ भरसक
बुढा: यसरी बाँच्नुभन्दा कालले टिपेर लगे बेस
कोरोना हैन जीवनबाटै खाइसकेँ हरेस
बुढी: पीर धेरै नगर्नू ए प्राण बिन्ती म बिसाउँछु
मर्ने बात गर्यौ भने म सात जुनी रिसाउँछु
बुढा: भोक कहाँ चिन्दछ साहु महाजन र भरिया
कसले देख्छ भोको पेट च्यातेको दौरा फरिया
बुढी: कोरोनाको त्रासले बाँच्नुपर्छ होला कतिन्जेल
एकछाक नै खान पाउनु पर्यो हे बाँचुन्जेल
बुढा: को बुझ्ने सवाल भरिएको जनताको लोचन
सरकार चुक्यो पुर्याएन रक्षा गर्ने वचन
बुढी: ठूला पसल खोल्दा चल्न दिन्न किन ठेलागाडा
निमुखा बाँच्न नदिन सरकार ल्याउँछ बाधा
बुढा: भोकले घरमा नबस् भन्छ छैन केही राहत
निरीह भो सुनाउनै नसकिने भो चिच्याहट
बुढी: यहाँकै जनता हौं सरकार गर्दैन पर्वाह
दीनदुःखी ले त कसरी गरून् जीवन निर्वाह
बुढा: खानेकुरा बाँड्ने ठाउँमा जान गरौं है तयारी
खान नि दिन सकिनँ यो साल है मेरी पियारी
बुढी: कोरोनाले सिंगो विश्व नै थला पारेको यो वर्ष
तिम्रो साथ भए यस्ता साल बिताउँछु सहर्ष
बुढा: बिहान खाए भरे के खाऊँ भन्ने मान्छे म आम
कम्तीमा भोको नबस्न गर्न सकिनँ जोरजाम
बुढी: कति नै समयको लागि गर्नुपर्ने त हो जोहो
जनता नबुझ्ने सरकार यो बनाउने को हो
बुढा: भारी बोक्न नपाउँदा रुने गर्छ है मेरो नाम्लो
उपाय छैन कसरी बलियो बनाऊँ यो थाप्लो
बुढी: लाखौं गरिबहरूको हेर्नुस् यस्तै छ हविगत
राम्रो पुर्पुरो चाहिएन तिमी नै मेरो तागत
बुढा: भाडा तिर्न सकेको छैन छोड्नु पर्नेछ है यो डेरा
अनि हामी बस्ने ठाउँको हुने छैन है चौघेरा
बुढी: सरकार किन सुन्न खोज्दैन जनताको आवाज
आफू अघाई अरु भोको राख्छ छैन कुनै लाज
बुढा: भोकोलाई भोजन दिने सक्यो जस्तो छ रिवाज
गरिबको फोटो खिचेर रमाउँछ यो समाज
बुढी: सुनेँ कैयौं भोका खाँदै थिए पानीमा रुझेर
जनताले दुःख पाए सरकारले नबुझेर
बुढा: भन्थे खान नपाएर मर्नै आँटे साना बालक
बन्दाबन्दी मात्र गर्ने सरकार छ नालायक
बुढी: रोग हो धनी-गरिबबीच बढाउने खाडल
विश्व उज्यालो पार्न हटोस् है कोरोनाको बादल
बुढा: गरिबलाई कसरी पाल्ने हो चिन्ता छ गहिरो
हाम्रो अनुनय नसुन्ने सरकार छ बहिरो
बुढी: अन्धो सरकार देख्दैन आँसुका बलिन्द्र धारा
रोगले हैन गरिब मार्ने सरकार यो ज्यानमारा
बुढा: सरकार पन्छिदै छ गर्न गरिबको हिफाजत
यही थिति रह्यो भने उठ्ने छ कदम गलत
बुढी: यो बेलामा खान दिनेप्रति हुनुपर्छ आभार
यस्तो रीति सबै मिलेर गर्नुपर्छ है सम्भार।