कुनै दिन जनताको सेवा गर्नबाट हुनुपर्नेछ वञ्चित
हाम्रो निस्वार्थ सेवा भावलाई बुझ्ने छैनन् कदाचित
डाक्टरहरुको त्यागप्रति सबको सोच नै संकुचित
किन बुझून् देशको स्वास्थ्य प्रणाली छ अनुचित
परोपकार गर्ने डाक्टर सबको आँखामा बिझाउँछ
यस्तै छ परिपाटी सिएमएले नै जनता रिझाउँछ
निष्ठावान भई कर्म गर्न खोज्यो समाजले अल्झाउँछ
अस्तव्यस्त राजनीतिले डाक्टरको समस्या बल्झाउँछ
जुन देशमा न्यायाधीशले न्यायको गर्छ बलात्कार
धनको सामु अन्धो हुने नालायक छ अख्तियार
पदको रवाफमा देश लुट्न नेताहरु छन् तम्तयार
यस्तो देशमा सेवा दिन डाक्टर बन्नु रहेछ बेकार
आदर्श बोकी मलम लगाउँदा रोगीको घाउमा
शीर लुकाउने छानो अनि हुने छैन जुत्ता पाउमा
डाक्टरलाई इज्जत दिँदैनन् हाम्रो सहर गाउँमा
लुटेरा, पागल शब्द जोडिन्छ डाक्टरको नाउँमा
के होला डाक्टरले नै छोडिदिए मानवीय धर्म
नभनोस् डाक्टरले कस्तो रैछ फुटेको यो कर्म
सायद देशमा कोही छैन बुझ्ने डाक्टरको मर्म
डाक्टर कुटपिट गर्ने जनतामा छैन कुनै सर्म
स्वास्थ्य क्षेत्रमा नै हुने गर्छ अर्बौंको भ्रष्टाचार
जनताको आक्रोश खप्नुपर्ने डाक्टर छन् लाचार
डाक्टर चोर देश छोड् भन्ने छ जनताको विचार
अझै कति भोग्नुपर्छ डाक्टरमाथिको अत्याचार