कमरेड!
बालुवामा पानी
र बालुवाटारमा तिमी,
हुनु र नहुनु एकै भो!
तिमी सपनाहीन महान निद्रामा हुँदा
तिम्रै भुपू सपना बोकेर
एउटा आगोको फिलिंगोजस्तो मान्छे
अर्थात् ‘गोविन्द केसी’ हिंडेको छ
र तिमी निद्रामै उसकै बाटो छेक्दैछौ!
आँखा खोली हेर तिमी आफ्नै बाटो छेक्दैछौ!
अहो कति छिट्टै भुलेछौ कमरेड
आफ्नै भुपू सपनाहरु
अल्जाइमर्सको रोगीले झैँ!
नि:शुल्क शिक्षा, नि:शुल्क स्वास्थ्य
...ह्यान-त्यान भन्थ्यौ भेटेजतिलाई
ठ्याम्मै नदेख्ने/नचिन्ने भएछौ
अब त सपना देख्नेलाई!
कमरेड!
बालुवामा पानी
र बालुवाटारमा तिमी,
हुनु र नहुनु एकै भो!
बस्! अब यत्ति गर
हाम्रो आँखाबाट थुतेर
यो आगोजस्तो सपना
चपाउने दुस्साहस नगर!