सपना देख्ने आँखाहरुमा
डरले डेरा जमाएको छ।
उन्नति–प्रगतिपथका पाइलाहरुमा
अदृश्य जन्जिर जेलिएको छ।
दृढ र निश्रित यात्राहरु
द्विविधा र अन्योलका पहिरोमा पुरिएका छन्।
मानव–मानवका बीचमा
अविश्वासका पर्खालहरु ठडिएका छन्।
बेदना र आर्तनादको तराजुमा तौलेर हेर्दा
के यो युद्धभन्दा कम छ?
युद्धमा जस्तै लड्नु छ
अदम्य साहसले,
सपनालाई जीवित राख्नु छ, दृढ संकल्पले।
सहेर भोकभोकै अनेकै चोटहरुलाई
बचाउनु छ, युद्धमैदानका कैयौँ घाइतेहरुलाई
कोरोनाको चाल मनन गर्दै,
परास्त पार्नु छ दुश्मन यो रोगलाई।
हो हामी यौद्धा हौँ
विजयलाई आफ्नो लक्ष्य मनेका छौँ ।
कर्तव्य र निष्ठालाई सर्वोपरि ठान्छौँ
त्यसैले त हामी कोरोना विरुद्धको लडाइँमा लड्दै–उठ्दै
अटल विश्वास र संघर्षका साथ अघि बढिरहेका छौँ।
बैरी बलियो छ
र युद्ध जटिल छ तर विजय असम्भव छैन।
त्यसैले आज लोभ, अहंकार, तेरो–मेरो, सबै त्यागेर उपकारतर्फ,
कलह, प्रतिद्वन्द्व सबै त्यगेको एकतातर्फ
आक्रोेश, रिस, राग सबै त्यागेर उद्धारतर्फ
विरोध, झैझगडा सबै त्यागेर शान्तितर्फ पाइला कोर्नु छ।
क्लह, लोभ, आक्रोश र विरोधका पाइला मेटाउनु छ।
एकले अर्कोको इज्जत गर्दै
एकअर्कोको जीवनमा माया र साथ भर्दै,
शान्तिको बिगुल फुक्दै
मिल्दै,जुट्दै अघि बढ्नु छ।
कोरोनालाई परास्त पारी
सुन्दर भविष्य यात्रामा अघि बढिन्छ।
(गौतम आइओएम शिक्षण अस्पतालमा बिएससी नर्सिङ, तेस्रो वर्ष अध्ययनरत छिन्।)