काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले काठमाडौं उपत्यकाभित्र संक्रमण समुदाय स्तरमा भएको जनाकारी दिए।
उनले भने,‘यहाँ संक्रमण कसलाई भएको छ, कहाँबाट भएको हो भन्ने थाहा छैन। किनभने हामीले उपत्यकाका २० प्रतिशत भन्दा बढी केसमा ट्राभल ह्रिष्टी र कन्ट्याक्ट पनि भेटिरहेका छैनौँ।’
उपत्यकामा समुदायमा संक्रमण फैलिएको भए पनि देशभरको स्थिति भने संक्रमण कलस्टरमा भएको उनले बताए।
‘यसलाई २ अर्थमा बुझौँ। कलस्टर संक्रमण भनेको पनि समुदायमा गएको हो, तर सम्बन्धित समुदायमा मात्र छ भन्न खोजेको हो। हुम्ला, दार्चुला, मुगुमा छैन। काठमडौं, चितवन जस्ता ठाउँमा छ,' उनले भने, ‘देशभरी देखिन थाल्यो। स्रोत पत्ता लागेन भने त्यसलाई संक्रमण समुदायमा गएको मानिन्छ। कलस्टर पनि झण्डै झण्डै समुदायमा गएको अवस्था हो।’
जहाँ घना वस्ती, मानिसको आवतजावत बढी छ त्यस्तो ठाउँमा धेरै संक्रमण देखिन थालेको उनको भनाई छ।
स्वास्थ्य मन्त्रालयले उपत्यकामा संक्रमणदर उच्च रहेकाले दसैंका समयमा बाहिरीने मानिसले गाउँगाउँमा कोरोना लैजान सक्ने खतरा रहेको भन्दै सतर्क रहन सुझाव दिएको छ।
उपत्यकाबाट बाहिरीने मानिसबाट संक्रमण फैलन नदिन परीक्षण दायरा बढाई संक्रमितलाई आइसोलेसन गर्ने काम तिव्र भइरहेको प्रमुख विशेषज्ञ पोखरेलले जानकारी दिए।
अहिले देशभर हुने कुल पिसिआर परीक्षणको ६० प्रतिशतभन्दा बढी परीक्षण उपत्यकामा मात्र हुन्छ। परीक्षण धेरै भएकाले संक्रमित पनि बढी पत्ता लागेको उनको भनाई छ।
दसैंको समयमा उपत्यकाबाट ५० प्रतिशत मानिस बाहरीने मन्त्रालयको अनुमान छ।
‘त्यसैले अहिले हामीले परीक्षणको दायरा बढाएर जतिसक्यो छिटो १४ दिनभित्रै संक्रमित पत्ता लगाउन सक्यौँं र आइसोलेसनमा राख्न सकिन्छ भन्ने रणनीतिमा काम गरिहेका छौँ,’ उनले भने।
उपत्यकामा स्थानीय तहमा पिसिआर परीक्षणका लागि नमुना संकलन गर्ने व्यवस्था मिलाएको बताइएको छ।
काठमाडौं उपत्यकामा मंगलबार साँझसम्म ३२ हजार ६५ जनामा संक्रमण पुष्टि भइसकेको छ। काठमाडौंमा २५ हजार ९९७, ललितपुरमा ३ हजार ३९७ र भक्तपुरमा २ हजार ६९३ संक्रमित भएका छन्।