केसी सर!
सत्याग्रहले कसलाई
ब्युँझाउदै हुनुहुन्छ?
यो देशमा
पदमा हुनेहरुको कान
घमण्डले बहिरो छ
जनताको दृष्टि
बेचिएको मतले मैलो छ।
कोही बुझ्थे होलान् पहुँचवाला तर
तिनलाइ चाप्लुसीको नै स्वाद मिठो छ।
सबै मस्त छन्
कोही कुर्सी भाँच्दै छन्
कोही कुर्सी साँच्दै छन्
कोही पुरस्कार थाप्दैछन्
बस सबलाई
आफू ठूलो हुनु परेको छ।
खुबीलाई जिस्क्याउने,
मिहिनेतलाई टिठ्याउने,
कुलमानलाई हटाउने,
भाइ-भतिज र सम्धीसम्म अटाउने,
सिलसिला छ,
बालुवाटारको राजमहलदेखि
संघीयताका कुनाकुनाका खुद्रा बजारसम्म ।
सत्यलाई बंग्याएर हुन्छ कि
सोझालाई नंग्याएर हुन्छ,
बस जित्नु परेको छ,
यस्तैयस्तै ताण्डव चलेको छ!
पछाडिबाट एक हुल थपडी पिट्नेहरु
जयजयकार गरिरहेछन्,
तिम्रा स्वर त्यहाँ पुग्दैनन्
किनकी त्यो रंगमन्चको ध्वनीमा
रमाइलो मान्नेहरु तिम्रो
लवजलाई पाखण्डी ठान्दछन्।
यस्तै हो केसी सर।
विलाशिता त्यागेर जोगी भएका
डाक्टर खप्तड,
नामले गोविन्द भए पनि
आफूले आफूलाई कुरुक्षेत्रको
कृष्ण नसम्झिनूस्
किनभने तपाइँको
गीता सुन्ने यहाँ अर्जुन हैन
कौरवहरु छन्।