'पागल डाक्टर'
हे!! पागल डाक्टर
कति देखाउँछौ अझै पागलपन
कति गर्छौ आफ्नो देह माथि अन्याय
कति गलाउँछौ त्यो ज्यानलाई
अनि कति सुकाउँछौ आफ्ना नसाहरू।
देशको सिंगो विधानलाई हाँक दिएर
किन बन्दै छौ देशद्रोही
किन खनिएका छौ भ्रष्टाचारीहरू माथि
किन उठाउँदैछौ आवाज विभेद बिरुद्ध
किन रच्न खोज्दैछौ युद्द
सेवालाई व्यपार बनाउने यि माफियाहरू संग
अनि किन बन्दैछौ आँखाको कसिङ्गर
सत्ताका लागी तछाडमछाड गरिरहेका यि पातकिहरूसंग।
बुझ्न अब त
बलात्कृत भएर मारिएका ति अबोध
नाबालिकाहरूको न्यायको बिगुल नसुन्ने
यो बधिर सरकारले
तिमी जस्तो डुब्न लागेको घामको आवाज के सुन्ला
ति कोमल कोपिलाको अस्मिता
जोगाउन नसक्ने यो नपुंसक सरकारले
तिमी जस्तो मक्किएर झर्नै लागेको हागालाई के जोगाउला।
सुन्छु अब त तिम्रो नाडीको गति
मलिन हुन थालेको छ रे
श्वास फेर्न कठिन हुन थालेको छ रे
पिठिउँको घाउले सुत्नै सक्दैनउ रे
सुख्खा भएर तिम्रो छाला
सर्पको काँचुली झै हुदै छन रे
अब त एक्लै कोल्टे फेर्ने सामर्थ्य सम्म छैन रे
बोली पनि काप्न थाल्दैछन् रे
तिम्रो शरीर नै शिथिल र जीर्ण भएको छ रे।
नहोस् पनि कसरी १९औं अनसन
अनि सत्याग्रहको २७ औ दिन हो आज
धन्न पो टिकेका छौ तिमी
हामीलाई एकदिन भोकै बस्दा
चट्टान फोरे सरह हुन्छ
हिमाल चढे सरह हुन्छ
आश्चर्य लाग्छ तिमी कसरी निराहार यतिका दिन बाचेको छौ
अब त अत्ति भयो भरिदेउ अन्नका गेडाहरू त्यो पेटमा
पिलाई देउ जल त्यो सुकेको घाटीमा
अनि फुलाइदेउ ति नशाहरू।
उठिदेउ अब त नओइलाउ यसरी
तिमी त आशाको किरण हौ
आफु जलेर ज्ञानको प्रकाश छर्ने
आशामयी दियोको बत्ति हौ
त्यसैले निभ्न नखोज यसरी।
तिमी निभ्यौ भने
ति दुष्कर्मीहरूको साहस बढ्ने छ
गरिबीकै व्यापार गरी गर्ने छन मनपरि
अनि तिमी संगै निभ्ने छ गरिबको उज्यालो भविष्य
तिमी संगै ओइलाउने छन् बिपन्नहरूको डाक्टर बन्ने सपना
तिमीलाई त ज्यानको माया छैन सायद
तर तिमीलाई केहि भयो भने
देशको चिकित्सा जगत नै टुहुरो हुने छ
तेसैले म चाहन्छु तिमी धेरै बर्ष बाच्नु पर्छ
बरू मेरो आयु पनि तिमीलाई लागोस
अनि तिमीले आफु जस्तै कयौं गोबिन्द केसी जन्माउनु पर्छ।
आफ्ना सारा रहरहरू मारेर
सम्पूर्ण भौतिक सुविधाहरू त्यागेर
स्वार्थ र लोभलाई फ्यालेर
आफ्ना लागी हैन हामी र हाम्रा सन्ततिका लागी
जनस्वास्थ्यका सुधारका निम्ति
तिमी लडिरहेका छौ अहिले सम्म
युद्द भुमीमा एक्लो सिपाही बनि।
तर अब त तिमी उठ्नै पर्छ
हाम्रो पराक्रम बन्न
डगमगाएका हाम्रा पाइलालाई मार्गदर्शन गर्न
हामी पनि उठ्ने छौ तिमी संगै
तिम्रै आवाजको बिगुल फुक्दै
तिम्रो युद्दका सहयोद्दा बनी
अनि तर्साउने छौ यि दुराचारी शासकिहरूलाई
तिमी जस्तै पागल डाक्टर गोविन्द केसि बनि।
(बिना शिवा, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, न्याम्स, वीर अस्पतालमा ब्याचलर इन मिडवाइफी साइन्स अध्यानरत छिन।)