सचिन पोखरेल
बिमा गराउने बेला १ वर्षभित्र कोरोना लागेर पिसिआर पोजेटिभ आए त्यही रिपोर्टको आधारमा रु१ लाख पाउनुहुन्छ भनेर बिमा गराइयो। कोरोनाले समायो, पिसिआर पोजिटिभ पनि आयो। बिमा एजेन्टलाई फोन गरियो, ५-६ दिनपछि। पोजिटिभ आएको ७ दिनभित्र दावी गर्नुपर्छ भन्ने मौखिक सूचना पाइयो।
पोजिटिभ मान्छे कसरी निस्किनु? भनेपछि एउटा निवेदन मेल गरिदिनूस् भन्नुभयो। मेल गरियो, २ हप्तासम्म रेस्पोन्स आएन। फेरि फोन गरियो। कार्यालयमा यो-यो कागज लिएर दावी गर्न जानूस् भन्नुभयो।
कार्यालय पुगियो। बिमा गर्दाको उमेर सालले ३१ वर्ष अहिले ३२ वर्ष। पिसिआर रिपोर्टमा ३२ लेखिएको थियो। उमेर मिलेन भनेर फिर्ता गरियो।
सच्याउन सरकारी ल्याब गइयो। नागरिकता ल्याउनूस् भनियो। लिएर आइयो। उमेर सालले ३२ नै छ त भन्नुभयो। बिमामा यो समस्या भयो उमेरले गर्दा भनेपछि सच्याइदिनुभयो।
होला अब त भनेर इन्स्योरेन्स कार्यालय गइयो। वडाबाट होम आइसोलेसन बसेको सिफारिस ल्याउनूस् भनियो। हाल बसिरहेको वडा कार्यालय गइयो। तपाईँको ठेगाना जहाँको हो त्यहीँबाट बनाउने हो यहाँबाट हैन भनेर पठाइयो।
गाउँ पुगियो। तपाईं यो ठाउँमा होम आइसोलेसन बसेकै होइन, कसरी यहाँबाट बनाउनु। जहाँ बस्नुभएको हो, त्यहीँ ठाउँ जानूस् भनेर पठाइयो।
फेरि हालको वडा पुगियो। समस्या फेरि भनियो। त्यसोभए कार्यारत कार्यालयबाट स्थाई ठेगाना उता भए पनि हाल यहाँ कार्यरत रहेको पुष्टि हुने चिठी ल्याउनू भन्ने जवाफ पाइयो।
आफू काम गर्ने अफिसमा गएर उक्त चिठी बनाइयो। वडा गइयो। सिफारिस बनाइयो रु५१० तिरेर।
इन्स्योरेन्स कम्पनी गइयो। सक्कली पिसिआर रिपोर्ट ल्याउनूस् भनियो। ल्याबले बकाइदा छाप लगाएर दिएको रिपोर्ट हो यो। योभन्दा सक्कली के हुन्छ भनेर सोधें। माथि रातो कलरको लेटर प्याडमा प्रिन्ट गरेको, सक्कली सही भएको र छाप लगाएको रिपोर्ट चाहिन्छ भनेर फर्काइयो।
फेरि पिसिआर ल्याब गइयो। त्यहाँबाट हामीले दिने सक्कली रिपोर्ट यही यो, योभन्दा हुँदैन भन्ने जवाफ पाइयो। फेरि हाकिमकोसम्म पुगेर समस्या भनेपछि बनाइदिन राजी हुनुभयो र भनेजस्तो रिपोर्ट हात लाग्यो।
अब त पाइएला भनेर इन्स्योरेन्स कम्पनी गइयो। बुझाएर छोड्नूस, हुँदै गर्छ भनेको १ महिना भइसक्यो। भदौ २९ गतेदेखि कसैलाई बिमा बापतको रकम दिइएको छैन भन्ने पढें पत्रिकामा।
अब बिमाको पैसा आउने आश पनि छैन। अनि हिसाब गर्न थालें बिमाको चक्करमा कति नाश भयो भनेर। लगभग ४५ हजार चहार्दाचहार्दै सकिएछ। समयको बर्बादी र तनावको लेखाजोखा चाहिँ गर्न आएन। तर बिमाको लागि भएको यो तनाव फिर्ता गरिदिने मान्छे भए २ लाख नै दिन्थें।