काठमाडौं— सरकारले कोरोनाविरुद्धको भ्याक्सिन र औषधि खरिद तथा व्यवस्थापन गर्न अध्यादेश ल्याउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यादेशको मस्यौदा मन्त्रिपरिषदमा पठाइसकेको छ।
कोरोना भाइरसको खोप तथा औषधिको सहज व्यवस्थापन, खरिद तथा उपलब्ध गराउनका लागि अध्यादेश ल्याउन लागिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले सोमबार अध्यादेश स्वीकृतिको प्रस्ताव मन्त्रीपरिषद्मा पठाइएको जानकारी दिए।
विश्वका धेरै देशमा आकस्मिक रुपमा प्रयोग भइरहेका औषधि र भोलीका दिनमा आउन सक्ने खोप नेपाल ल्याउन सहज होस् भनेर अध्यादेशको मस्यौदा तयार परिएको हो।
‘रेम्डिसिभिर औषधि संसारभर लागू भएको थिएन। त्यसलाई आकस्मिक प्रयोगका लागि स्वीकृति दिइएको थियो। नेपालमा त्यसलाई स्वास्थ्य अनुसन्धान परिषद्ले ट्रयाल गर्यो। त्यसकै आधारमा नेपालमा औषधि आयो,’ उनले भने, ‘त्यस्तै भोलि खोप पनि आकस्मिक प्रयोगका लागि ट्रयालमा जानुपर्ने हुन्छ। यस्तो अवस्थामा केही समय र प्रक्रियागत ढिलाई हुनसक्छ। त्यही कुरालाई ध्यानमा राखेर सहज व्यवस्थापनका लागि अध्यादेश ल्याउन लागिएको हो।’
विश्व नै यतिबेला कोरोना भाइरस विरुद्धको खोपको तीव्र प्रतीक्षामा छ।
अमेरिकास्थित फाइजर कम्पनीले बनाएको कोरोना विरुद्धको खोप थर्ड फेजमा ९० प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ भने रसियाले पनि आफूले बनाएको खोप ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले पनि कोरोना विरुद्धको खोप जिटुजी खरिद गर्ने र खोप खरिदका लागि अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयका सचिव रहेको तीन सदस्यीय समिति समेत गठन गरिसकेको छ।
विश्वका सबै देश कोरोना संक्रमणबाट आक्रान्त बनेको सन्र्दभमा सबै देश सकेसम्म छिटो खोप आफ्नो देश भित्र्याउन चाहन्छन्।
नेपालले कार्यदल नै बनाएर कोरोना विरुद्धका खोपहरुमध्ये कुन खोप उपयुक्त हुन्छ, कसरी खरिद गर्ने, हालको भौतिक संरचना (कोल्ड चेन) भण्डार गर्न मिल्छ कि मिल्दैन, आपतकालीन अवस्थामा कसरी खोप भित्र्याउन सकिन्छ, कति खोप चाहिन्छ र त्यसका लागि आर्थिक व्यवस्थापन कस्तो हुनुपर्छ लगायतका कुराहरु अध्ययन गरिरहेको छ।