कोही व्यक्ति दुर्घटना वा आगोले पोलेर घाइते भयो भने प्लास्टिक सर्जरी गरिन्छ। सामान्यतः आम मानिसले प्लास्टिक सर्जरीमा प्लास्टिकको नै प्रयोग हुन्छ होला भन्ने पनि सोच्न सक्छन्। वास्तवमा प्लास्टिक सर्जरी भनेको के हो? प्लास्टिक सर्जरीभित्र केके कुरा पर्छन्? लगायतका विषयमा प्लास्टिक सर्जन डा जसवन शाक्यसँग कल्पना पौडेलले गरेको कुराकानीः
प्लास्टिक सर्जरी भन्ने वित्तिकै आम मानिसले प्लास्टिक नै राखेर गर्ने सर्जरी हो कि भन्ने सोचाइ राख्छन्। खासमा यो प्लास्टिक सर्जरी भनेको के हो?
प्लास्टिक सर्जरीमा प्लास्टिक नै प्रयोग हुन्छ कि भन्ने भ्रम धेरैलाई छ। खास यो प्लास्टिक सर्जरी भन्ने शब्द प्लास्टिक कोर्ष भन्ने एउटा ग्रिक आएको हो। हामीले दैनिक प्रयोग गर्ने प्लास्टिकलाई रिमोर्लिङ गर्न सजिलो हुन्छ। त्यसलाई जस्तो आकार पनि दिन सकिने भएकाले त्यो शब्दबाट प्लास्टिक सर्जरी भन्ने शब्द राखिएको हो। जस्तै प्लास्टिक सर्जरीमा छाला तथा मांसपेसीलाई विभिन्न आकार दिएर डिफेक्टहरु बनाउने काम गरिन्छ। त्यसैले प्लास्टिक कोर्ष भन्ने शब्दबाट आएको भएर यसलाई प्लास्टिक सर्जरी भनिएको हो। यसमा कुनै किसिमको प्लास्टिक प्रयोग गरिँदैन।
कतिपय बिरामीले प्लास्टिक सर्जरी भनेको प्लास्टिक नै राख्ने हो कि भनेर सोध्नुहुन्छ। कतिपयले शल्यक्रिया गरिसकेपछि खै त प्लास्टिक नै राख्नुभएन, कसरी प्लास्टिक सर्जरी भयो भनेर पनि सोध्नुहुन्छ। पहिलापहिला त धेरैको प्रश्न यस्तै हुन्थ्यो। अहिले चाहिँ अलि कमले सोध्नुहुन्छ। अहिले प्लास्टिक सर्जरीको विषयमा मिडियाहरुले पनि धेरै जानकारी दिइरहेका हुन्छन्।
कस्ता व्यक्तिलाई कस्तो अवस्थामा प्लास्टिक सर्जरी गरिन्छ?
प्लास्टिक सर्जरी दुई भागमा गरिन्छ, कस्मेटिक सर्जरी र रिकन्स्टक्टिभ सर्जरी। प्लास्टिक सर्जरी सौन्दर्यसँग सम्बन्धित सर्जरी हो। जस्तो हाम्रो शरीरको कुनै भाग वा अंग आफूलाई सानो लाग्यो भने सानो बनाउने, ठूलो लाग्यो भने सानो बनाउने गरिन्छ। यो कस्मेटिक सर्जरी हो।
रिकन्स्टक्टिभ सर्जरी भनेको चाहिँ आगोले पोलेर वा दुर्घटना भए अथवा जन्मजात शरीरमा बिग्रिएको भाग मिलाउने काम गरिन्छ। रिकन्स्टक्टिभ सर्जरीमा राम्रो देखिने भन्दा पनि बिग्रिएको शरीरको पार्टलाई राम्रो बनाउने हो। जस्तैः आगोले पोलेको घाउ निको भएपछि त्यसमा भएको दागले गरेर खुट्टा, औँलाहरु बांगिने, आँखाहरु खोल्न नसक्ने, मुख खोल्न नसक्ने भएमा सर्जरी गरेर खुट्टा तथा औँलाहरु चल्ने बनाउने, आँखा, मुख खोल्न सक्ने बनाउने हो।
यस्तो सर्जरीमा दागहरु देखिन्छ तर आफ्नो दैनिक काम गर्न सहज बनाउन सकिन्छ। यो सर्जरीलाई रिकन्स्टक्टिभ सर्जरी भनिन्छ।
शरीरका सबै भागहरुमा सर्जरी गर्न मिल्छ? प्लास्टिक सर्जरी गरेपछि पहिलाको जस्तै राम्रो होस भन्ने अपेक्षा हुन्छ, प्लास्टिक सर्जरीको नतिजा शतप्रतिशत आउँछ?
शरीरको सबै भागमा सर्जरी गर्न मिल्छ। तर शल्यक्रियाको रिजल्ट चाहिँ त्यो कस्तो किसिमको बिग्रिएको हो, त्यसै अनुसार हुन्छ। सबैको रिजल्ट एकै किसिमको हुँदैन। सबै बिग्रेको भाग राम्रो हुन्छ भन्ने हुँदैन। यो अवस्था अनुसार हुन्छ।
हाम्रो छालामा कुनै किसिमको चोट लाग्दा त्यो चोट निको भएपछि दाग बस्छ। त्यो दाग मन पर्दैन। त्यसलाई हटाउने चाहना हुन्छ। आगोले पोलेर वा दुर्घटना भएर अनुहार, हात तथा शरीरको अन्य भागमा काटिएको दागलाई पूरै नदेखिने गरी शल्यक्रिया गरे पनि हटाउन सकिँदैन। पुरानै अवस्थामा फर्काउन सकिँदैन। हामीले गर्ने भनेको त्यो दागको साइज घटाउने मात्र हो।
नेपालमा प्लास्टिक सर्जरीमा कस्ता कस्ता सुविधा छन्? कस्तो सुविधाको लागि विदेश जानुपर्ने अवस्था छ?
१५/२० वर्षको अवधिमा प्लास्टिक सर्जरीको क्षेत्रमा नेपालमा पनि धेरै विकास भइसक्यो। प्लास्टिक सर्जनहरु कम छन् तर पनि यसमा धेरै विकास भइसक्यो। काटिएको हात जोडियो, औंला जोडियो भनेर सामाचारहरु आउन थालेका छन्। यो पनि प्लास्टिक सर्जरी नै हो। मलाई लाग्छ, कुनै पनि सर्जरीको लागि विदेश नै जानुपर्ने अवस्था छैन। १०० प्रतिशत नहोला तर ७५ प्रतिशत सर्जरी नेपालमै हुन्छ।
अहिले पनि विभिन्न ठाउँमा कहिलेकाहीँ प्लास्टिक सर्जरीका शिविरहरु सञ्चालन हुन्छन्। नेपालमा प्लास्टिक सर्जरी सेवाको पहुँचमा कति मानिस छन्? सबै मानिसका लागि प्लास्टिक सर्जरी सेवा आवश्यक छ?
मैले सुष्मा कोइराला मेमोरियल अस्पतालमा १२ वर्ष काम गरें। त्यो समयमा मैले धेरै पटक यस्ता शिविर आयोजना गरेको छु, म आफू पनि गएको छु। त्यतिबेला विशेषगरी पहाडी जिल्लामा आगोले पोलेर उपचार नपाएर अंगभंग भएका बिरामी धेरै भेट्थे। १०/१५ वर्ष पहिला मानिसहरुलाई आगोले पोल्दा अस्पतालमा उपचार गर्न पहुँच थिएन। उनीहरुले आफ्नै तरिकाले पोलेको घाउ निको बनाउँथे। तर निको भए पनि खुट्टाका औंलाहरु जोडिने, अंगभंग हुने, खुट्टा नै बटारिने, घाँटी टिउँडोसम्म जोडिने केसहरु धेरै हुन्थे। उनीहरुलाई यस्तो समस्याको अप्रेसन हुन्छ भन्ने नै थाहा हुँदैनथ्यो। जोडिएको औला, टाँसिएको कान, घाँटी लिएर १०औं वर्षसम्म पनि बसिरहेका मान्छेहरु पनि मैले देखेको छु। पहिलापहिला नेपाली डाक्टरहरु थिएनन्। अहिले नेपाली डाक्टर नै सक्षम भइसके। तर अहिले पनि कतिपयलाई थाहा नै छैन, यस्ता समस्याको उपचार हुन्छ, खर्च कति लाग्छ भन्ने विषयमा। त्यसैले हामीले अहिले पनि ग्रामीण क्षेत्रमा गएर कहिलेकाहीँ शिविर सञ्चालन गर्छौं।
नेपालमा अहिले पनि आगो वा कुनै तरल पदार्थले पोल्दा उपचार नै नगराउनेहरु पनि छन्। चिसो मौसममा पोलिएका घटना धेरै सुनिन्छन्। कुनै वस्तुबाट पोलिनबाट कसरी जोखिन सकिन्छ? यदि पोलिहालेमा तुरुन्त के गर्नुपर्छ?
नेपालमा ओगोले पोलेका घटना सबैभन्दा धेरै छन्। तातोपानी, तताइएको झोलिलो पदार्थ, तातो तेल, एसिड लगायतले पनि पोलेर मानिसहरु घाइने हुन्छन्। नेपालमा आगोले पोलेको घटना जाडोयाममा धेरै हुन्छन्। त्यसमा पनि महिला र बालबालिकालाई आगोले पोलेका घटना धेरै हुन्छन्। नेपालमा वृद्धा महिला आगो तापेर बस्नुहुन्छ, त्यसमा पनि सारी लगाएर। सारीमा आगोले छिटो भेट्न सक्छ। बालबालिकालाई सेक्दा पोल्ने सम्भावना हुन्छ।
आगोले पोल्दा सबैभन्दा पहिला आगो निभाउने, सकिन्छ हातले निभाउने, नसके कुनै बाक्लो कपडाले छोपेर निभाउने। आगोले पोलेको भागमा नर्मल धाराको पानी २०–२५ मिनेटसम्म खन्याउने। त्यसपछि सफा कपडाले छोपेर अस्पताल लैजानुपर्छ।
आगोले पोलेको भागलाई किन बगिरहेको पानीमा नै भिजाउनु पर्छ?
कुनै भाँडोमा राखिएको पानीमा पोलेको हात डुबाउँदा त्यो पानी तातो हुँदै जान्छ। बगेको पानीमा हात भिजाउँदा एउटै टेम्पे्रचरको पानी पोलेको भागमा पर्छ। पोलेको भागमा चिसो पानी पर्दा आगोले पोलेको भागमा गहिरो असर गर्नबाट रोक्न सकिन्छ। तर यत्तिकै छाडिदिँदा त्यसको गहिरो असर देखिन सक्छ। चिसो पानी खन्याउँदा पोलेको ताप भित्रसम्म पुग्न पाउँदैन। यत्तिकै छाडिदिँदा पोलेको ताप भित्रसम्म पुग्छ र पछि गहिरो असर पुर्याउँछ।
सर्जरी गर्न चाहे पनि कस्ता व्यक्तिलाई प्लास्टिक सर्जरी गर्नु हुँदैन? कस्तो व्यक्तिमा सर्जरी गर्दा नकारात्मक असर पर्ने सम्भावना हुन्छ?
सर्जरी गर्ने व्यक्तिको स्वास्थ्य अवस्था सामान्य हुनुपर्छ। मधुमेहको समस्या नभएको हुनपर्छ। शरीरमा हेमोग्लोबिनको मात्रा १० भन्दा माथि हुनुपर्छ। सबै कुरा नर्मल भएमा सबैले सर्जरी गर्न मिल्छ। तर सर्जरी गर्नुअघि डाक्टरलाई भेटेर परामर्श लिनुपर्छ। गुगलमा हेरेर, कसैको कुरा सुनेर वा आर्टिकल हेरेर सर्जरी गर्नु हुँदैन। कस्मेटिक वा रिकन्स्टक्टिभ सर्जरी गर्दा डाक्टरलाई भेट्नैपर्छ। डाक्टरले हेरेर सर्जरी गर्न मिल्छ मिल्दैन वा रिजल्ट कस्तो आउँछ भन्न सक्छ। त्यसैलै डाक्टरलाई भेटेर यसबारे राम्रोसँग बुझेर मात्र प्लास्टिक सर्जरी गर्नुपर्छ।
धेरै समयदेखि प्लास्टिक सर्जरीको क्षेत्रमा कार्यरत हुनुहुन्छ। हरेक क्षेत्रको काममा राम्रा तथा नराम्रा घटना हुन्छन्। यसरी काम गर्दैगर्दा कुनै समय कुनै बिरामीको जटिल प्लास्टिक सर्जरी गरेर अत्यन्तै खुसी लागेको घटना छन्?
जब कुनै बिरामी समस्या बोकेर वर्षौंसम्म कष्टकर जीवन बिताइरहेको हुन्छ। त्यस्तो बिरामीलाई उपचार गरेर उसको जीवनलाई सहज बनाउन पाउँदा हामीलाई एकदमै खुसी लाग्छ। बिरामी पनि खुसी हुन्छ। पूर्वको एक जना बिरामी गालामा ११ किलोको ट्युमर लिएर वर्षौंसम्म बसेका थिए। उसले त्यो ट्युमर झोलामा बोकेर हिँड्थे। संक्रमण भएर त्यो ट्युमर गन्हाउँथ्यो। त्यो ट्युमर निकाल्दा उसले ट्युमरको बारी बोक्नु परेन, उसको जीवन नै परिवर्तन भयो। ऊ धेरै खुसी भयो। बिरामीले सफल उपचार पाएर खुसी हुँदा हामी पनि धेरै खुसी भयौं।
आगोले पोलेर अंगभंग भएको केस पश्चिममा बढी छ। पश्चिममा यस्ता केस बढी हुनुको कारण पश्चिममा भौगोलिक विकटता हो। पश्चिमको सल्यान, रुकुम, डोटीका बिरामीलाई अझै पनि काठमाडौं आउनभन्दा भारत जान सजिलो पर्छ। शिविर लिएर जाँदा ठूला केस भेटिँदा काठमाडौंमा आउनूस्, निःशुल्क उपचार गर्छौं भन्दा उहाँहरुले हामीलाई काठमाडौं आउनभन्दा लखनउ जान सजिलो पर्छ भन्नुहुन्छ।
पोलेको वा दुर्घटना भएको कति समयसम्ममा सर्जरी गर्दा अंगभंग हुनबाट जोगाउन सकिन्छ?
आगोले पोलेको व्यक्ति छ भने तुरुन्त अस्पताल जानै पर्छ। नेपालमा काठमाडौंमा मात्र वर्न सेन्टरहरु छन्। जाडोमा पहाडी र तराईका जिल्लामा पनि वर्नको केसहरु धेरै आउँछन्। उपत्यका बाहिर अस्पताल र मेडिकल कलेजहरुमा वर्न सेन्टर नै छैनन्। आगोले पोलिएका कतिपय बिरामीको त काठमाडौं आउँदाआउँदै बाटोमै मृत्यु हुने गरेको छ। आगोले पोल्ने बित्तिकै प्राथमिक उपचार भनेको स्लाइन पानी हो। आगोले पोलिएका बिरामीलाई स्लाइन पानी नशाबाट चढाउनु पर्छ। त्यो चढाइएन भने ८ घण्टाभित्र शरीरलाई चाहिने पानी पुगेन भने मिर्गौला लगायत शरीरका अन्य अंगहरु बिग्रन थाल्छ। तर उपत्यका बाहिरका बिरामीले आगोले पोलिएको ८ घण्टाको समय त बाटोमै बिताउँछ। त्यसैले गर्दा उहाँहरुलाई बचाउन धेरै गाह्रो हुन्छ। यस्तो अवस्था अझै पनि छ।
नेपालमा प्लास्टिक सर्जरी अन्य रोगको उपचार भन्दा महँगो हो?
कुनैकुनै दागहरु मेटाउन अप्रेसन गर्दा एक पटकमै जाँदैन। दुई–तीन पटकसम्म गर्न प्लास्टिक सर्जरी गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ शरीरको अर्को भागको छाला राखेर सर्जरी गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ त्यही छाला पनि दुई–तीन स्टेपमा सर्जरी गरेर राख्नुपर्ने हुन्छ। त्यसरी पटकपटक सर्जरी गर्नुपर्ने अवस्थामा मात्र महँगो भएको हो। नत्र अन्य देशको तुलनामा नेपालमा प्लास्टिक सर्जरी निकै सस्तो छ।
प्लास्टिक सर्जरी गरेका व्यक्तिले केके कुरामा ध्यान दिन जरुरी छ?
कस्तो खालको सर्जरी गरिएको हो भन्ने कुरामा भर पर्छ। छाला टाँसिएको हो वा कस्मेटिक सर्जरीमा पनि गरिएको हो, त्यसमा भर पर्छ। हेरचाह गरेन भने पछि बिग्रने सम्भावना हुन्छ।
आगोले पोलेर स्किन ग्राफ गरेको छ भने त्यो ठाउँमा चिल्लो लगाइरहनुपर्छ। नरिवलको तेल वा मोइस्चराइजर लगाइरहनुपर्छ। त्यो लगाइएन भने छाला टाँसिएको ठाउँ सुख्खा हुन्छ। सुख्खा भयो भने चिलाउँछ। चिलायो भने त्यहाँ घाउ भएर पछि क्यान्सरमा परिणत हुने सम्भावना धेरै हुन्छ। त्यसैले त्यो ठाउँमा चिल्लो लगाइरहनुपर्छ। फिजियोथेरापी पनि एकदमै जरुरी छ।
अर्को, दुर्घटना भएर शल्यक्रिया गरेकोले पनि फिजियोथेरापी गर्नु जरुरी हुन्छ। मसाज गर्ने र छालालाई चिल्लो बनाउनुपर्ने छ। कस्मेटिक सर्जरीमा सर्जरीपिच्छे नै फरक हुन्छ।
कस्तो अवस्थामा छाला प्रत्यारोपण गरिन्छ? अरुको छाला कसरी प्रयोग गर्न सकिन्छ?
छाला राख्ने भनेको सामान्यताः वर्न केसमा प्रयोग हुन्छ। धेरै पोलेको छ भने अन्यत्रको छाला ल्याएर राखिन्छ। सानो छ भने आफैं निको हुन्छ। कसैको ४० प्रतिशतभन्दा बढी जलेको छ भने उसको शरीरको छालाले पुग्दैन। पुगेन भने स्किन बैंक, जहाँ अरुको छाला स्टोर गरेर राखिएको हुन्छ। त्यो छालालाई केही समयको लागि मात्र प्रयोग गर्न सकिन्छ। बिरामीको शरीरबाट पानी नबगोस् भनेर अरुको छाला प्रयोग गरिन्छ। त्यो पछि निस्कन्छ। तर आफैं छाला प्रयोग भएको छ तर, आफैं छाला प्रयोग भएको छ भने त्यो बस्छ। निको हुन्छ। पछि निकाल्नु पर्दैन।
सामान्यतः छाला निकाल्दा तिघ्राबाट निकालिन्छ। तिघ्राको भाग ठूलो हुने भएकाले निकाल्न पनि सजिलो हुन्छ। तिघ्रामा भएन भने हामीले टाउकोबाट निकाल्छौँ। टाउकोको कपाल खौरिएर छाला निकाल्न मिल्छ। टाउकोबाट छाला निकाल्दा कपाल नै नआउने भन्ने हुँदैन। छाला निकाल्ने भनेको एकदमै बाक्लो छाला निकाल्ने होइन। मेसिनले एकदमै पातलो लेयर निकाल्ने हो। पछि थाहा पनि हुँदैन छाला निकालेको भनेर। टाउकोबाट छाला निकाल्दा बेस्ट मानिन्छ। पछि कपाल आउँछ, दाग पनि देखिँदैन। तिघ्रामा चाहिँ हल्का दाग देखिन सक्छ।
छाला निकाल्दा सुरुमा तिघ्रा, त्यसपछि टाउको र दुवै ठाउँमा भएन वा आवश्यक भएको खण्डमा ढाडबाट पनि निकाल्न मिल्छ। त्यो वर्न केसमा मात्र हो।
नेपालमा कस्मेटिक सर्जरी गर्नेहरु बढेका हुन्?
पछिल्लो १० वर्षमा अलिकति बढेको छ। सबैभन्दा आँखाको सर्जरी बढेको छ। मैले पनि धेरै आँखाकै सर्जरी गर्छु। धेरैजसो मंगोलियन फेस भएका व्यक्तिको आँखा सानो हुने भएकाले उनीहरुले आँखा ठूलो बनाउन सर्जरी गर्ने गर्छन्।
अर्को स्तन सर्जरी पनि हुन्छ। स्तन सानो भए ठूलो बनाउने वा अत्यधिक ठूलो भए सानो बनाउनेहरु पनि धेरै हुनुहुन्छ। यसलाई कस्मेटिक सर्जरी मात्र होइन साइकोलोजिकल ट्रिटमेन्ट पनि भन्न सकिन्छ।
बच्चा भइसकेपछि पेटमा बोसो लागेर मासु बढ्ने समस्या भए त्यसलाई टाइट बनाउन पनि कस्मेटिक सर्जरी गराउनेहरु छन्।
पहिलापहिला कस्मेटिक सर्जरी ग्ल्यामर क्षेत्रका व्यक्तिले मात्र गराउने हो भन्ने सोच थियो। तर अहिले सर्वसाधारण सबैले आफूलाई चित्त नबुझेको भए नाक, आँखा, ओठ, स्तन, कान फर्केको छ भने सिधा बनाउन सर्जरी गराउन सक्नुहुन्छ।
तर, कस्मेटिक सर्जरीले अनुहारको स्वरुप नै परिवर्तन गर्न सकिन्छ भन्ने भ्रममा भने पर्नु हुँदैन। नाक, आँखा, पातलो ओठ ठूलो बनाउने, सानो स्तन ठूलो, ठूलो स्तन सानो बनाउन भने मिल्छ। तर कस्मेटिक सर्जरीको सतप्रतिशत रिजल्ट नहुन सक्छ। एक पटक सर्जरी गरेपछि चित्त बुझेन भने पुनः सर्जरी गरेर बनाउन नसकिने हुनसक्छ।
त्यसैले, कुनै पनि सल्यक्रिया चिकित्सकसँग पटक पटक भेटेर स्पष्ट भएर गर्नु उपयुक्त हुन्छ। प्लास्टिक सर्जरीमा मानिसको अपेक्षा एउटा हुन्छ। सर्जरीपछिको रिजल्ट फरक हुनसक्छ। त्यसैले चिकित्सकले सेवाग्राहीलाई पनि राम्रोसँग बुझाउनुपर्छ।