काठमाडौं - चारैतिर ध्वजा–पताका, रातो त्रिपाल अनि मानिसको बाक्लो भीड। हेर्दा कुनै महोत्सवभन्दा कम थिएन।
यो दृश्य टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको हो। बुधबार शुक्रराज अस्पतालको माहोल दैनिकभन्दा निकै फरक थियो। सबै चिकित्सकहरु अस्पतालको परिसरमा जम्मा भएका थिए। अधिकांश स्वास्थ्यकर्मीको अनुहारमा बेग्लै मुस्कान देखिन्थ्यो। त्यो मुस्कानमा धेरै खुसी र केही डरको समिश्रण थियो।
त्यही भीडमा अस्पतालका निर्देशक डा सागर राजभण्डारी र डा अनुप बाँस्तोला पनि थिए। अस्पतालका निर्देशक डा राजभण्डारी त्यही व्यक्ति हुन्, जो बुधबार कोभिड–१९ विरुद्धको खोप लगाउने पहिलो स्वास्थ्यकर्मी बनेका छन्। खोप लगाएपछि उनको अनुहारमा बैग्लै खुसी थियो।
कोभिड–१९ विरुद्धको खोप लगाउने पहिलो व्यक्ति हुन पाउँदा निकै गौरवान्वित महसुस भएको उनी बताउँछन्। यो खोप निर्धक्कका साथ लगाउन उनी सबैलाई आग्रह समेत गर्छन्।
डा राजभण्डारीपछि डा अनुप बास्तोला कोभिड–१९ विरुद्धको खोप लगाउने दोस्रो व्यक्ति बनेका छन्। खोप लगाउँदा मनमा कुनै पनि डर नभएको उनी बताउँछन्। कोरोनाबाट बचाउन खोप महत्वपूर्ण भएकाले खोप लगाउनुपर्ने डा बास्तोला बताउँछन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाले पनि बुधबार खोप लगाइन्। उनी कोभिड–१९ विरुद्धको खोप लगाउने पहिलो नेपाली महिला पनि बनेकी छिन्। खोप सुरक्षित भएकाले फ्रन्टलाइनर सबैलाई खोप लगाउन उनको आग्रह छ।
शुक्रराज अस्पतालमा आगामी दिनमा दैनिक ३ सय जनालाई खोप लगाइने छ। कोरोना संक्रमण बढ्दै गएपछि शुक्रराज अस्पताललाई कोभिड अस्पतालको रुपमा परिणत गरिएको थियो। यस अस्पतालले हालसम्म ९ सय जना संक्रमितको उपचार समेत गरिसकेको छ।
सरकारले पहिलो चरणमा कोभिड विरुद्ध खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शवबाहन चालक, सरसफाइकर्मी गरी ४ लाख ३० हजार बढीलाई कोभिड विरुद्धको खोप लगाउँदै छ।
क्यामेरामा निमेषजंग राई र अनुराग लम्सालका साथमा कमला गुरुङले तयार पारेको रिपोर्ट