काठमाडौं- कोरोना महामारीपछिको नयाँ जीवनशैली– मास्क, सामाजिक दूरी र हातको सफाइ। महामारीले भयावह रुप लिएपछि यी तीन व्यवहार सबैका लागि अनिवार्य बनेको छ।
अन्य देशमा नयाँ प्रजातिको कोरोना भाइरस र संक्रमणको दोस्रो, तेस्रो वेभ आउँदा लकडाउनको अवधि बढिरहेका समाचार आइरहेका छन्। त्यसको ठिक विपरीत नेपालमा भने आफैंले बनाएका नियम, मापदण्ड तोड्दै सरकार प्रमुखहरु नै सभा–सम्मलेन र भीडभाड गर्दै हिँडेका छन्।
मास्क, सामाजिक दूरी र सरसफाइ त कसैलाई पनि याद भएको देखिँदैन। हजारौंको भीडले पुनः संक्रमणको भयावह स्थिति दोहोरिने त होइन भन्ने चिन्ता बढाएको छ।
किन यति निस्फ्रिक्री छन् नेपाली?
कोरोना भाइरस संक्रमणको जोखिम यथावत् नै छ। तर पछिल्लो समय देशको राजनीतिक उतारचढावले कोरोना नेपालमा कहिल्यै आएकै थिएन जस्तो देखाइरहेको छ।
मानिसहरु मास्क नलगाई हिडिँरहेका छन्। सार्वजनिक सवारी साधानहरुमा पनि पहिल्यैको जस्तो भीडभाड हुन थालिसकेको छ। संक्रमणबाट जोगिन भौतिक दूरी कायम हुन छाडिसकेको छ। ९/१० महिनादेखि बन्द रहेका विद्यालय, सरकारी तथा निजी कार्यालयहरु तथा अन्य सार्वजनिक कार्यालय, होटल, रेस्टुरेन्ट समेत खुलिसकेका छन्। बजारमा किनमेल गर्न निकस्नेको भीडले पनि कोरोनाप्रतिको डर हटिसकेको जस्तो देखाउँछ।
पछिल्लो समयमा सरकारले कोरोना परीक्षणको दायरा समेत घटाउँदै लगेको छ। जसको कारण कोरोना पोजेटिभ हुनेको संख्या र मृत्यु हुने संख्या पनि निकै कम देखिन्छ। तर चिकित्सकहरु कोरोना भाइरसले जुनसुकै बेलामा झुक्याउन सक्ने र नेपालमा संक्रमण झन् भयावह हुनसक्ने भन्दै चिन्तित छन्। स्वास्थ्य मन्त्रालयले नियमित रुपमा मास्क, भौतिक दूरी र सरसफाइमा जोड दिन आग्रह गर्दै आइरहेको छ।
के नेपालमा कोरोना नियन्त्रण भएको हो ? नेपाली कोरोना भाइरस छैन भन्ने कुरामा ढुक्क भएका हुन् ? कि उनीहरु कोरोना भाइरस संक्रमणबाट डरमुक्त भएका हुन् ?
पछिल्लो समय धेरैको मनमा यी प्रश्नहरु आइरहेको हुनसक्छ। तपाईंले आफ्नै साथीभाइलाई पनि कोरोना छ कि छैन भनेर सोध्नुभएको पक्कै होला। धेरैको जवाफ कोरोना नै छैन वा केही होइन भन्ने खालको हुन्छ।
नेपाली किन यति निस्फ्रिकी भएका होलान् भनेर हामीले मनोविद् डा करुणा कुँवरलाई सोधेका थियौँ।
डा कुँवरका अनुसार नेपालीको जुझारुपन राम्रो मानिन्छ। नेपालीहरु छिट्टै तनावसँग जुधेर अघि बढ्न सक्छन् भन्ने अध्ययनहरुले पनि देखाएको उनको भनाइ छ। अलि पुराना अध्ययनहरुले नेपालीहरुमा छिट्टै नै तनावलाई बिर्सेर अगाडि बढ्नसक्ने क्षमता रहेको देखाएको उनी बताउँछिन्।
उनी भन्छिन्, ‘नेपाली डराउँदै डराएनन् भन्ने त होइन। सुरुवातमा निकै डराएका थिए। पछि अलि सचेत भए भन्न पनि सकिन्छ। अर्को कुरा, घरबाट ननिस्की साँझ–बिहानको छाक टार्नै पर्ने जस्ता बाध्यताले पनि यस्तो लागेको हुनसक्छ। ‘गर वा मर’ को अवस्थाले पनि होला।’
केही हदसम्म सरकारले गरेका गतिविधिले पनि जनता डराउन छाडेको अनुभव सुनाउँछिन् डा कुँवर। ‘पहिले कोरोना संक्रमण भएका व्यक्तिहरुलाई समाजमा गरिएको दुव्र्यवहार र सरकारले परीक्षणबाट विस्तारै हात झिक्न थालेपछि यस्तो अवस्था आएको हुनसक्छ,’ उनी भन्छिन्।
मनोविद् डा कुँवरको भनाइलाई विश्लेषण गर्ने हो भने पनि कोरोना भाइरस नेपालमा देखिन थालेपछि कोरोना पोजिटिभ भएका व्यक्तिलाई गरिने दुव्र्यवहार, अस्पतालमै पनि चिकित्सकले उपचार गर्न नमान्ने, रुघाखोकी लागेर अस्पताल गएकाहरुलाई तपाईंलाई केही भएको छैन, परीक्षण गर्नु पर्दैन भन्ने जस्ता व्यवहारका कारण मानिस विरक्त भएको हुनसक्ने देखिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख मनोरोग विशेषज्ञ डा रोशन पोखरेल पनि मानिसले कोरोना केही होइन भन्ने रुपमा बुझ्न थालेको बताउँछन्। उनी भन्छन्, ‘कोरोनाकालपछि हामीले आफ्नो व्यवहार त परिवर्तन गर्नैपर्छ। त्यसको विकल्प पनि छैन। अहिलेको अवस्थाले झन् कोरोनाको दोस्रो फेज आउँछ कि भन्ने खतरा पनि देखिएको छ। साथै नयाँ प्रजाति पनि देखिनुहुँदैन भन्ने हो।’
प्रमुख विशेषज्ञ पोखरेल देख्दा सामान्य देखिएपनि मास्क, स्यानीटाइजर जस्ता कुरा खरीद गर्न समस्या हुने धारणा राख्दै भन्छन्,‘हामीकहाँ साँझविहान काम गरेर खाने धेरै छैन। ५ रुपैयाँ मात्र पर्ने मास्क भने पनि सबैले खर्च गर्न समस्या हुनसक्छ। धेरैलाई समस्या पनि भएन, निको हुने रहेछ भन्ने लागेर पनि मानिस मुभ अन हुन खोजेको हुनसक्छ।’
इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेल पछिल्ला गतिविधि कोरोना भाइरसको जोखिम थप बढाएको बताउँछन्।
उनले भने, ‘हामीले अहिले कोरोनालाई बेवास्ता गर्दा अबको केही समयमा भथ भयावह आउँछ कि भन्ने चिन्ता हामीलाई छ। कोरोनाको जोखिम नघटेकाले मास्क, स्यानिटाइजर र सामाजिक दूरी राख्ने कुरा पालना गर्नैपर्छ।’
स्वास्थ्य तथथा जनसंख्या मन्त्रालयले अझै पनि कोरोना महामारीको जोखिम यथावत् रहेको भन्दै स्वास्थ्यका मापदण्ड पालन गर्न भनिरहेको छ।
डा पोखरेल, डा पौडेल र कुँवर मानिसहरु डराउन छाड्नुको पछाडि आफूलाई कुनै क्षति वा जोखिम अनुभव गर्नुनपर्ने भएकोले हुनसक्ने साझा विचार व्यक्त गर्छन्।
महामारीमा खटिएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्वास्थ्य कर्मचारी सरकारले 'रिक्स कम्युनिकेसन' व्यवस्थापनमा काम गर्न नसकेकोले जनता सचेत हुनुपर्नेमा निस्फ्रिक्री हुन थालेको बताउँछन्।
उनीहरु कोरोना भाइरसबारे सुरुवातमा निकै भम्र फैलाएर पछि केही होइन भन्नेतिर जनतालाई डोर्याउन खोजेको अनुभवन सुनाउँछन्।
‘खासमा कोरोना केही होइन भनेर ती व्यक्तिले भनिरहेका छन्, जसले आफ्नो परिवारका सदस्य बिरामी भएको देखेका छैनन्। त्यसैले उनीहरु डराएका छैनन्। कोभिड भएर मृत्यु भएको देखेका छैनन्। कोरोना के हो भन्ने त परेका व्यक्तिलाई थाहा छ। नपरेकाहरु अझै पनि सुरक्षित त छैनन् नि,’ महाशाखाका एक कर्मचारीले भने।
अहिले पनि कोरोना भाइरस संक्रमणको जोखिम कायम नै रहेकाले ढुक्क भएर हिँड्ने स्थिति नरहेको उनको भनाइ छ।