काठमाडौं- पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ। नयाँ भेरियन्टको कोरोना भाइरस समेत फैलिएपछि सरकारले यसको नियन्त्रण र रोकथामका लागि सोमबार ३० बुँदे आदेश जारी गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले संक्रमण बढ्दै गएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको हो।
आदेशमा संक्रमण फैलिएका २५ वटा ठूला शहरका विद्यालय तथा शिक्षण संस्थाहरुको शैक्षिक गतिविधि वैशाख मसान्तसम्म बन्द गर्ने र ती क्षेत्रमा भर्चुअल माध्यमबाट सिकाइका विधि अपनाउन, सिनेमा हल, क्लब तथा पार्टी प्यालेसहरु वैशाखभर बन्द गर्ने, सामाजिक तथा सांस्कृतिक चाडपर्व मनाउँदा २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने र जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने लगायतका छन्।
यसका साथै कोरोना भाइरस सार्वजनिक यातायातबाट पनि सर्न सक्ने खतरा रहेको भन्दै सरकारले सार्वजनिक यातायातमा पनि के गर्ने भन्ने विषयमा आदेश जारी गरेको छ। सरकारले यातायातका क्षेत्रमा ८ बुँदे आदेश जारी गरेको छ।
कोरोना रोक्न सार्वजनिक यातायातमा के गर्ने?
१) सिट क्षमताभन्दा बढी यात्रु नराख्ने
२) सबै यात्रुलाई मास्क अनिवार्य गर्ने
३) सवारी साधनको ढोकामा र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्ने
४) चालक तथा सहचालकले मास्क र भाइजर लगाउनु पर्ने
५) सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्ने
६) सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा १० रुपैयाँ लिई मास्क उपलब्ध गराउने
७) मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने
८) लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटव्मा थप यात्रु नचढाउने गरी शुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुको विवरण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई उपलब्ध गराउने।
कोरोना रोक्न होटल तथा रेष्टुरेण्टमा पालना गर्नुपर्ने जनस्वास्थ्यका ७ मापदण्ड
सरकारले होटल तथा रेष्टुरेण्ट बिहान आठ बजेदेखि बेलुकी आठ बजेसम्म मात्र सञ्चालन हुन पाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी नियन्त्रणका लागि भन्दै बेलुकी आठ बजेसम्म मात्र निश्चित मापदण्ड पालना गरी होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न पाउने निर्णय गरेको हो।
मन्त्रिपरिषदले कोरोना रोकथाम तथा नियन्त्रणका लागि होटल तथा रेष्टुरेण्टमा पालना गर्नुपर्ने जनस्वास्थ्यका ७ बुँदे मापदण्ड अनिवार्य लागू गर्न पनि आदेश दिएको छ।
होटल तथा रेष्टुरेण्टमा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड
- होटल तथा रेष्टुरेण्टका कामदारले अनिवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउने
- होटल तथा रेष्टुरेण्टमा प्रवेश गर्ने सबै सेवाग्राहीलाई मास्क अनिवार्य गर्ने
- कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्ने
- स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने
- होटल तथा रेष्टुरेण्टलाई नियमति रुपमा निसंक्रमित गर्नुपर्ने
- होटल तथा रेष्टुरेण्टमा मास्क नलगाउनेलाई प्रवेश गर्न नदिने
- मास्क नलगाई सेवाग्राही प्रवेश गरेमा व्यवस्थापकले बढीमा १० रुपैयाँ लिई मास्क उपलब्ध गराउने