काठमाडौं- सरकारले होटल तथा रेष्टुरेण्ट बिहान आठ बजेदेखि बेलुकी आठ बजेसम्म मात्र सञ्चालन हुन पाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी नियन्त्रणका लागि भन्दै बेलुकी आठ बजेसम्म मात्र निश्चित मापदण्ड पालना गरी होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न पाउने निर्णय गरेको हो।
मन्त्रिपरिषदले कोरोना रोकथाम तथा नियन्त्रणका लागि होटल तथा रेष्टुरेण्टमा पालना गर्नुपर्ने जनस्वास्थ्यका ७ बुँदे मापदण्ड अनिवार्य लागू गर्न पनि आदेश दिएको छ।
होटल तथा रेष्टुरेण्टमा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड
- होटल तथा रेष्टुरेण्टका कामदारले अनिवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउने
- होटल तथा रेष्टुरेण्टमा प्रवेश गर्ने सबै सेवाग्राहीलाई मास्क अनिवार्य गर्ने
- कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्ने
- स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने
- होटल तथा रेष्टुरेण्टलाई नियमति रुपमा निसंक्रमित गर्नुपर्ने
- होटल तथा रेष्टुरेण्टमा मास्क नलगाउनेलाई प्रवेश गर्न नदिने
- मास्क नलगाई सेवाग्राही प्रवेश गरेमा व्यवस्थापकले बढीमा १० रुपैयाँ लिई मास्क उपलब्ध गराउने