काठमाडौं- पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ। नयाँ भेरियन्टको कोरोना भाइरस समेत फैलिएपछि सरकारले यसको नियन्त्रण र रोकथामका लागि सोमबार ३० बुँदे आदेश जारी गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले संक्रमण बढ्दै गएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको छ।
आदेशमा संक्रमण फैलिएका २५ वटा ठूला शहरका विद्यालय तथा शिक्षण संस्थाहरुको शैक्षिक गतिविधि वैशाख मसान्तसम्म बन्द गर्ने र ती क्षेत्रमा भर्चुअल माध्यमबाट सिकाइका विधि अपनाउन, सिनेमा हल, क्लब तथा पार्टी प्यालेसहरु वैशाखभर बन्द गर्ने, सामाजिक तथा सांस्कृतिक चाडपर्व मनाउँदा २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने र जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने लगायतका छन्।
कोरोना महामारी रोकथामका लागि के के नियम पालना गर्ने?
१) सार्वजनिक सवारी साधनमा सबैले अनिवार्य मास्क लगाउने
२) सिनेमा हल,पार्टी प्यालेस, दर्शक सहितको खेलकुद, हाटबजार, जुलुस, आमसभा बन्द गर्ने
३) होटल तथा रेष्टुरेन्टले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सेवा दिने
४) विवाह वा वर्तबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्न परेमा प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति लिने
५) डिपार्टमेन्ट स्टोर, मल भित्र भौतिक दुरी कायम गर्दै प्रवेश गर्ने
६) शहरी क्षेत्रका विद्यालय भौतिक रुपमा बन्द गर्ने, पूर्वनिर्धारित परीक्षा जनस्वास्थ्यका मापदण्डसहित संचालन गर्ने
७) सभासम्मेलन संचालन गर्दा भर्चुअल पालना गर्ने
८) धार्मिक स्थलमा जनस्वास्थयका मापदण्ड पालना गर्ने गरी नित्य पूजा, ध्यान, र पार्थना मात्र गर्ने
८) विदेशबाट आउनेले १०दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्ने
९) जुनसुकै प्रयोजनका लागि २५ जनाभन्दा बढी भेला नहुने