कोरोना संक्रमणको दर दैनिक बढिरहँदा स्वास्थ्य सेवा प्रवाहको क्षेत्रमा ठूलो चुनौती थपिएको छ। सरकारी अस्पतालका आइसीयू र भेन्टिलेटर भरिँदै गएका छन्।
निजी अस्पतालमा पनि कोरोना संक्रमितको चाप बढिरहेको छ। कोरोना संक्रमितको उपचार गर्ने निजी अस्पतालमध्येको एक हो निदान अस्पताल। कोरोना संक्रमणको दर बढिरहँदा निदान अस्पतालले पनि संक्रमितको उपचारका लागि पूर्वतयारी सुरु गर्यो। कोभिड र नन कोभिड बिरामीको उपचारका लागि अस्पतालले विशेष व्यवस्था पनि लागु गरेको छ।
अस्पताल छिर्ने गेटदेखि नै बिरामीको स्क्रिनिङ शुरु हुन्छ। त्यसपछि मात्र बिरामीको अवस्था अनुसार उपचार हुन्छ। अस्पतालमा भइरहेको कोरोना संक्रमितको उपचारको अवस्था तथा उपचारका क्रममा भोगेका समस्यालगायत विषयमा अस्पतालका आइसीयू कन्सलटेण्ट डा सन्तोष आचार्यसँग स्वास्थ्यखबरले गरेको कुराकानीः
– नेपालमा दैनिक बढ्दो कोरोना संक्रमणको दर र जोखिमलाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ?
नेपालसहित पूरा विश्व नै यतिखेर कोरोनाको त्रासमा छ। हामी अहिले कोरोनाको दोस्रो लहरमा पनि छौं। नेपालमा अहिले दुई हजार बढी संक्रमित भेटिने गरेका छन्। पहिले सय जनालाई कोरोना भयो भने ८५ जना जतिमा लक्षण देखिने गरेको थिएन। बाँकी १५ जनामा लक्षण देखिन्थ्यो भने ४/५ जना गम्भीर खालका हुने गर्थे।
अघिल्लो पटक कोरोना व्यवस्थापनका लागि गरिएका तयारी काठमाडौं केन्द्रित थियो। अहिले पनि अवस्था खासै फरक छैन। बाहिरी जिल्ला या नाकाहरूमा यसको तयारी पर्याप्त देखिँदैन। भारतमा अहिले कोरोना तीव्र गतिमा फैलिरहेको छ। भारतमा बढेको ४ देखि ६ हप्तामा नेपालमा पनि संक्रमण दर बढ्ने हो। भारतमा यो उच्च विन्दुमा पुगेको छ। नेपालमा पनि केही हप्तामा संक्रमणको दर उच्च विन्दुमा पुग्ने देखिन्छ।
– कोरोना उपचारका लागि निदान अस्पतालमा कस्तो किसिमको व्यवस्था गरिएको छ?
नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि यस अस्पतालको कोभिड टिम कमिटीको बैठक बस्यो। त्यसपछि अस्पताल छिर्ने गेटमै हामी सबै बिरामीको स्क्रिनिङ गर्छौं। कुनै पनि बिरामी अस्पताल आउँदा रुघाखोकी, ज्वरो, शरीर दुख्ने समस्या पाइएमा एक जना मेडिकल अधिकृतले ती बिरामीको थप जाँच गर्छ।
कोभिडको जस्तो लक्षण देखिए उनीहरूको पीसीआर परीक्षण गर्छौं र आइसोलेसनमा पनि राख्छौं। पीसीआर रिपोर्ट पोजिटिभ आए कोभिड वार्ड वा बिरामीको अवस्था अनुसार व्यवस्थापन हुन्छ। पीसीआर रिपोर्ट नेगेटिभ आए बिरामीले नियमित उपचार हुन्छ।
– देशभर आइसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या दैनिक बढ्दो छ। कतिपय अस्पतालमा त शय्या पाउन पनि मुस्किल भइसक्यो। निदान अस्पतालले गम्भीर खालका संक्रमितका लागि कति आइसीयू र भेन्टिलेटरको व्यवस्था गरेको छ?
कोभिडको दोस्रो लहर आउँछ भन्ने पूर्वानुमान गरिसकेका थियौं। त्यो अनुसार हामीले निदानमा १० शय्याको आइसीयू शुरु गर्यौं। हरेक बेडमा नेगेटिभ प्रेसर छ, जुन कोभिडका बिरामीलाई हेरचाह गर्ने नर्सिङ कर्मचारीलाई बचाउन पनि सहयोग गर्छ। दोस्रो, एक बिरामीबाट अर्को बिरामीलाई संक्रमण हुनबाट जोगाउँछ।
त्यसबाहेक डायलासिस या अन्य सुविधा पनि छ। अहिलेको अवस्थामा चार वटा भेन्टिलेटर, अक्सिजन दिन चाहिने मेसिनहरू पनि छ। एक पटकमा भेन्टिलेटर चाहिने ४ देखि ५, अक्सिजन चाहिने गरी आठ बेडमा सिकिस्त र २ बेडमा अरु बिरामीलाई व्यवस्थापन गर्न सक्छौं।
आइसीयूमा भएका नेगेटिभ प्रेसरको सुविधा भनेको यो अन्तर्राष्ट्रिय स्तरको हो। नेगेटिभ प्रेसरसँगै एन्टी रुम छ। जसले संक्रमण नियन्त्रणका लागि ठूलो भूमिका छ। हरेक बिरामीको बेड अगाडि नै एन्टी रुम छ, जहाँ चाहेको पीपीई लगाउन सकिन्छ र बिरामी हेरेपछि फर्किंदा त्यो रुममा पीपीई निकाल्दा बिरामीबाट स्वास्थ्यकर्मीमा सर्ने र स्वास्थ्यकर्मीबाट बिरामीमा सर्ने जोखिम पनि कम हुन्छ।
– अन्य अस्पतालमा भन्दा निदान अस्पतालमा आइसीयू सेवा, कर्मचारी व्यवस्थापन र अन्य सेवा सुविधामा फरक के छ?
नेपालमा भएको पहिलो लहरको कोरोना महामारीबाट हामीले धेरै कुरा सिक्ने अवसर पायौं। अस्पतालमा कोभिडको बिरामीलाई उपचार गरिरहँदा धेरै अस्पतालमा बिरामीलाई एन्टीबायोटिक चलाउने गरेको पाएका छौं।
हामी सबैलाई थाहा छ, कोभिड भनेको भाइरल डिजिज हो। भाइरल डिजिजमा एन्टीबायोटिकको भूमिका हुँदैन। यदि कुनै संक्रमितमा ब्याक्टेरियल संक्रमण देखिएको अवस्थामा मात्र एन्टीबायोटिक चलाउने हो। अहिले पनि धेरै अस्पतालमा कोरोनाका बिरामीलाई एन्टीबायोटिक प्रयोग गरिरहेका छन्। त्यो हामी गर्दैनौं।
बिरामीको अवस्था अनुसार हामी उपचार गर्छौं। बिरामीलाई अक्सिजन चाहिएको छ/छैन, छ भने कति मात्रामा चाहिएको छ हेर्छौं। अक्सिजन चाहिएको बिरामीका लागि स्टेरोइट त्यसपछि क्लेक्जेनजस्ता रगत पातलो बनाउने औषधि चलाउँछौं। त्यसले पनि भएन भने रेमडिसिभिर औषधि प्रयोग गर्छौं। बिरामीको अवस्था र आवश्यकता अनुसार मात्र एन्टीबायोटिक चलाउने÷नचलाउने निर्णय गर्छौं।
आइसीयूमा भर्ना हुने एक बिरामीको लागि एक जना नर्सको व्यवस्था हुन्छ। जबकि, यो व्यवस्था नेपालका विभिन्न अस्पतालमा निकै कम छ। यसले बिरामीले विशेष हेरचाह पाउनुका साथै मनिटरिङ राम्रो हुन्छ अनि एकबाट अर्कोमा संक्रमण सर्न पाउँदैन। कोभिडका बिरामीलाई आइसीयूमा भर्ना गरेर बाहिर क्यामेरामा हेर्ने प्रचलन हामी कहाँ छैन। हामी बिरामीको प्रत्यक्ष रुपमा मनिटरिङ गर्छौं।
– कोभिडका बिरामीलाई विशेष प्राथमिकतामा राखिरहँदा नन कोभिडका बिरामी मर्कामा पनि पर्न सक्छन्। यो अवस्था आउन नदिन कोभिड र नन कोभिडका बिरामीको उपचारका लागि कस्तो व्यवस्था गर्नु भएको छ ?
यो अस्पतालमा एक जना बिरामीका लागि एउटा मात्र क्याबिनको व्यवस्था छ। प्रत्येक आइसीयूमा नेगेटिभ प्रेसर पनि छ। यसले एउटा क्याबिनबाट निस्केको हावा फिल्टर भएर जान्छ। हामीसँग एन्टी रुम अनि आइसीयूमा भर्ना हुने एक बिरामीका लागि एक जना नर्सको पनि व्यवस्था छ।
समग्रमा आइसीयूमा भर्ना गरेको देखिए पनि त्यसभित्र इन्डीभिज्युअल आइसीयू छन्। त्यो भनेको बिरामीलाई फरक कोठामा राखे बराबर हो। जसले गर्दा एउटै आइसीयू कम्पलेक्सभित्र नै कोभिड र नन कोभिड बिरामीलाई राख्न सक्छौं। कोभिड हेरेको नर्सले तत्काल नन कोभिडको बिरामीलाई हेर्नु हुँदैन।
– निदान अस्पतालमा कोभिडका कस्तो खालको बिरामी उपचारका लागि आउने गरेका छन्?
एक हप्तादेखिको ट्रेण्ड हेर्ने हो भने सुरुमा आइसोलेसनमा राखे मात्र हुने बिरामी आउँथे। तर, अहिले जटिल खालका बिरामीहरू आउने क्रम बढिरहेको छ। अक्सिजन धेरै मात्रामा चाहिने, सिटी गरेर हेर्दा पनि कोभिडले दुवै फोक्सोमा कडा खालको निमोनिया भइसकेको अवस्थाका बिरामीहरू आइरहेका छन्।
– कोभिड संक्रमितको उपचारमा खटिनु भएको कति समय भयो?
नेपालमा कोरोना संक्रमण सुरु भएदेखि नै म खटिरहेको छु। लगभग एक वर्ष भएको छ।
– अहिले त नेपालमा दोस्रो लहर पनि सुरु भइसक्यो। जटिल खालका बिरामीको संख्या पनि दैनिक उकालो लाग्दैछ। कोरोनाको पहिलो लहरमा काम गर्दाको अनुभव र अहिलको अनुभव यहाँको कस्तो रह्यो ?
कोरोनाको पहिलो लहरमा आउने धेरैजसो बिरामी अवस्था जटिल भएपछि मात्र अस्पताल पुग्ने गर्थे। उनीहरूमा कडा खालको निमोनिया भएको र अक्सिजन चाहिने खालको हुने गथ्र्यो। त्यसमा पनि ६० वर्ष माथिका बिरामी बढी हुने गर्थे।
कोभिडको बिरामी हेर्दैमा कोरोना संक्रमण भइहाल्छ भन्ने होइन। सही तरिकाले पीपीई लगाउने, जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ। अघिल्लो एक वर्षमा भेन्टिलेटरमा भर्ना भएका ६० प्रतिशत बिरामीलाई बचाउन सक्यौं। त्यसैले जुन किसिमको प्रविधि, जनशक्ति, सामान छ, त्यसबाट हामीले विश्वमा राम्रो सेवा दिन सक्ने राष्ट्रले जस्तै दिन सक्छौं।
यही खालको उपचार सेवा अन्य सेन्टरमा विस्तार गर्नु आवश्यक छ। हरेक बिरामीलाई बचाउन नसकिएला। तर ६० देखि ७० प्रतिशत बिरामीलाई बचाउन सक्छौं।