आउनुस् सेवा लिनुस्
म, हजुरको सेवामा तल्लिन भएर बसेकी छु।
हो,
बिहान एक गिलास पानीले घाँटी भिजाएर
बेलुकाको स्क्रब ड्रेस पङ्खामा फिँजाएर
फेरि पिपिइको भरमा दिन काट्न
हजुरको पिडालाई प्रेमसँग साट्न,
मनको त्रास लुकाएर हिम्मतसँग मिली
हजुरले पानी सारेर खाँदा थुक घुटुक्क निली
जेलिएको सासलाई खुकुलो पार्न
जेलिएको नसल प्रोङ र मास्कको डोरी खोल्दै
अर्धचेतन हजुरमा थोरै खुशी सार्न
म तल्लिन छु
आउनुस् सेवा लिनुस्।
आउनुस् सेवा लिनुस्
म हजुरको सेवामा तल्लिन भएर बसेकी छु
म एक डाक्टर
आफ्नो पिसाबको थैलोलाई ढक्ढकाएर भर्दै
तपाईको शरीरको प्रत्येक सासको कणको हिसाब गर्दै
ज्वरोले रन्किएको शरीरमा
थोरै शितलता दिन
फेभास्टिनको कुरो र रेमडिसिभिरको चुरो बुझ्न
फेरि
फेरि
चरकका ज्वरका कुरा पल्टाउँदै छु
के डी त्रिपाठी र डेबिडसन सल्टाउँदै छु
आउनुस् सेवा लिनुस्
म हजुरको सेवामा तल्लिन भएर बसेकी छु।
आउनुस् सेवा लिनुस्
म हजुरको सेवामा तल्लिन भएर बसेकी छु
म एक नर्स
तपाईको निम्ती आमालाई काखे बालिका थमाई
तपाईको ओखतीको समय तालिका बनाइ
इन्जेक्सन र एक्सपोजरको डरलाई वार्ड बाहिर राखेर
हजुरको चिसोपन र चिसो मनलाई
सकि नसकी मुस्कानमा थापेर
थाकेको शरीर लतार्दै
गल्तीलाई सपार्दै
सिपिआर दिन सक्ने हुन अचेल पुसअप गरेर बसेकी छु
आउनुस् सेवा लिनुस्
म हजुरको सेवामा तल्लिन भएर बसेकी छु।
आउनुस् सेवा लिनुस्
म हजुरको सेवामा तल्लिन भएर बसेकी छु
सेवा त गरेरै छाड्छु।
तर मलाई के छ खै?
अक्सिजन सिलिन्डरमा माननियको मोहोर लाग्छ,
नेपालको अस्पताल हो, ठूलालाई फोहोर लाग्छ
हजुरलाई ठिक पार्न म रातदिन एक पार्छु
तपाईलाई तपाईंको म नै चोर लाग्छ।
ज्यान जोखिममा मैले पनि पारेकी हुँ पार्नलाई
कुटि मर्नु एक्साइटिङ छ, इनफेक्सन त बोर लाग्छ
तर, यो सत्य हो,
सरकारलाई सत्ताको पिर छ
मलाई हजुरको॥
आउनुस् सेवा लिनुस्
म हजुरको सेवामा तल्लिन भएर बसेकी छु