१९ वैशाख २०७८। धुलिखेल अस्पतालको कोरोना शैयाबाट...गलेको शरीर कोलाहल अंगहरु लिएर मैदानमा छ। रण मैदानमा।
विवश शरीर अनि कोलाहल मन लिएर म उही मैदानमा छु। रण मैदानमा।
सरकारले लकडाउन दिएर हाम्रो युद्धलाई सान्त्वना दिएको छ। साएद ऊ सोच्दछ उसको तयारी मैले गर्ने तयारीमा सिमित हुन्छ। सरकार आफ्नो जिम्मेवारी हामीहरुका अस्पतालहरुलाई दिएर युद्धलाइ नितान्त हाम्रो बनाइदिएको छ। हो यो युद्ध हाम्रो हो। तर के हाम्रो मात्र हो र ? ऊ भन्छ व्यक्तिको नियति नितान्त एक्लो हुन्छ। हरेक व्यक्तिले आफ्नो आफ्नो रणभूमिमा खेल्ने हो। हेर म कति सफल छु। कसरी अनेक व्यवधानहरुलाई सामना गरेर अझै बाँचिरहेको छु। नत्र मेरा विरुद्ध लाग्ने के कोरोना भाइरस भन्दा कम छन् र?
लाग्छ हाम्रो युद्ध सामान्य छ। केवल सास फेरेमात्र जित्न सकिन्छ। संकटमा जिउनुनै प्रगति हो। प्रगतिले समयको त्रासदीलाई जित्न सक्छ।
मध्यान्ह १२ बजे
अब त मेरा शय्याहरु पनि कोलाहल हुन लागेका छन्। शय्याहरुका पनि त क्षमता छन्। सोच्दछु मेरो क्षमताको सिमा पार नहोस्। तर सोचाइले संसार चलाइदिने भए ? मध्यान्ह सुरु भएर १२ बज्दै छ। अब त मेरो मन पनि। समय टुकुटुकु भित्तामा हिँड्दै छ। म मेरो वार्डमा दौडदै छु। मेरो बिरामी उसको ओछ्यानमा दौडदै छ। उसको सासको रफ्तार दौडदै छ। मुटुको रफ्तार दौडदै छ। ऊ जस्तै दौडने यहाँ प्रशस्त छन्। मेरो अस्पतालको शय्याभन्दा बढी। मेरो क्षमता भन्दा बढी।
यो मेरो साम्राज्य हो। मेरो राज्यमा मैले दिन सक्ने अथाह छ। केहि मुठी सास (अक्सिजन) न्यानो अनुगमन, नियमित जाँच, बिरामीको प्राण धान्न बहुमुल्य हुन्छ। हरेक संकटका विरुद्ध आधारभूतमा फर्कनुहोस् (ब्याक टु बेसिक्स) भन्ने अवधारणाले सफलता दिलाउछ। अन्तमा जानपर्ने त सामान्यको निगरानीमा हो। आखिर जीवन आधारभूत आवश्यकताको प्रवाहले धानेको छ। सास फेर्नु, नसामा रगत बग्नु, रगतमा अक्सिजन बग्नु।
म सामान्य बन्न प्रयास गर्दै छु। सामान्य अक्सिजन दिन उद्धत छु। मेरो अस्पतालका भित्ताहरुमा हावाहरु बहदैछन्। ती प्राणवायू पाइपमा प्रवाहित भएर मेरो बिरामीको सासमा विलिन हुन्छन्। म खुसी छु मैले मेरो क्षमताको उच्चतम प्रयोग गरेको छु। मेरा बिरामीहरुलाई चाहिने सास फेर्ने सहजताका केहि उपाए, केहि सामान्य औषधि अनि सान्त्वना, माया सकेको दिएको छु। तर मलाई थाहा छैन मेरो क्षमता कति हो ? मेरो क्षमता पर्याप्त छ या छैन ? धेरै सफलता छ, केहि असफलता छ तर म भन्न सक्छु मैले आफ्नो सबैकुरा दिएको छु। नत्र भए आफ्नै प्राणको बाजी लगाएर यो महायुद्धमा होमिने थिइन। कुनै दिन इमान्दार भएर कोरोनासँग विजय भएको भविष्यलाई सत्य कथा सुनाउन सक्छु –‘मैले आफ्नो सक्दो गरेको थिएँ।’ म पक्कै मेरा बिरामीहरुजस्तै ति समयसम्म बाँच्न सक्नेछु। मेरो आत्मविश्वास।
अब त सोचमा मध्यान्ह कटीसकेको छ। जति समय घर्कदै छ मेरो आत्मविश्वास गल्दै छ। मेरो क्षमता भरिएको छ तर बिरामीहरुको आगमन रोक्ने छाँटकाट छैन। निरन्तर प्रवाह छ। कोहि भनेर आए, लेखाएर आए, कोहि नभनेरै आए, यत्तिकै आए। धेरै आए। मेरा शय्याका क्षमता, मेरो भित्ताले दिने अक्सिजनको क्षमताभन्दा बढी आए। धेरै बढी आए। केहि सघन उपचार कक्ष जाने गरेर आए, कोहि नियमित निगरानी लिन पर्ने भएर आए। कोहि अक्सिजनको उच्च मात्रा प्रयोग गर्न आए, कोहि भेन्टिलेटरमा राख्न पर्ने भएर आए। अब त दोब्बर क्षमताको परिक्षा भइरहेको छ। सायद संकटले क्षमता देखाइदिन्छ। थाहा थिएन मेरो क्षमता यति सम्म रहेछ।
अब त हरेक शय्यामा श्याँ श्याँ गरेका आवाज मात्र सुन्छु। आफन्तका लाचारीका आवाजमात्र सुन्छु। लाग्छ म एक्लो छु। मेरो नर्स एक्लै छिन्। यो पिपिइ भित्रको गर्मी अनि गुम्साहट एक्लो छ। पिपिइ बाहिर हरेक मानिस अर्कै छ। यहाँ साथीभाइ, आफन्त बिराना भएका छन्। एक्लै लड्दै छु म। एक्लै एक्लै लड्दै छांै हामी। हरेक बिरामीजस्तै। अस्पतालका प्रत्यक कर्मचारीहरुजस्तै।
बिचरा मेरी नर्सहरुलाई पनि हरेक बिरामीको प्रत्येक धड्कन जाँच गर्नपर्ने छ। कोरोना वार्डका पाँच तल्ल भरिएका छन्। म पाँच तल्ला उकोलो ओरालो गर्दै छु। लाग्छ म उकालो ओरालोमात्र गर्दै छु। जीवनको आधारभूत आवश्यकता एक मुठी सास मेरा बिरामीहरुलाई दिन सकिरहेको छैन। म आफन्तहरुलाई प्राण वायु किनेर आउन आग्रह गर्दै छु। सके मागेर नसके किनेर या अझै नसके चोरेर ल्याउने सुझाव छ मेरो। आफन्तहरु त उल्टै मेरो आग्रह मै तर्फ सोझाउदैछन्। आग्रह कहिले धम्कीको बन्छ। ‘यत्रो अस्पतालमा मेरो बिरामीको लागि एक सिलिण्डर अक्सिजन पनि छैन?’ विचरा निमुखा हामीहरु। उचित प्रस्न उचित समयमा उचित मान्छेलाइ राख्नपर्छ भन्ने थाहा छैन। त्यसैले त हामी अझै हामी छौं। एक सानो झोँकाले पनि हामीलाई जरैदेखि उखेलेर लान्छ।
जब संकटको भेल सानो खोलालाई हान्छ। तब खहरे बन्छ। खहरे त केहि समयलाई बग्छ तर खहरेको भेलले लामो समयसम्मको त्रासदी स्मृतिमा राखिदिन्छ। बुद्धिमान मानिस खहरेको भेलको संम्भावित ठाउँमा घर बनाउदैनन्। खहरेबाट आफू बाँच्नु प्रगति मान्छन्। तर मेरो घर त खहरेको मध्य भागमा छ। म त खहरेको बिरुद्ध लड्ने सिपाही। म चाहँदिन मेरो घर सार्न। मेरो पहिचान र आत्मा यो कोरोना खहरेमा निर्भर छ। मेरो पेशा निर्भर छ। मेरो धुलिखेल अस्पताल निर्भर छ।
हामी भन्न सक्छौं हाम्रो अस्पतालले जानेर नजानेर कमसेकम आफ्नो क्षमता भन्दा तीन गुणा बढी आफ्नो जिम्मेवारी निभाएको छ। अहिले त्रासद समयमा हामी निदाउन पाएका छैनौं। तर एक दिन अवश्य आउनेछ हामी सन्तोष मन लिएर, घुर घुर..., अहिलेका थकान मार्ने गरेर, ढुक्क निदाउन सक्छौं।
हाम्रा कर्मचारीहरुले भोक प्यास तिर्खा अनि आर्थीक प्रोत्साहनबीना काममा दत्त चित्तछन्। प्रोत्साहन त यस्तो समयमा अरु कसले दिनसक्छ र? आफूले आफूमा खोज्ने कुरा रहेछ। पेशाको जिम्मेवारीले दिने कुरा रहेछ। प्रोत्साहन संकटले दिनेरहेछ जति सामान्यले दिन सक्दैन। डरले दिनेरहेछ जति मायाले दिन सक्दैन। यो डरलाग्दो संकटको समयमा म उभिएको छु। अडिग छु। अझै अडिग हुनेनै छु। मेरो अस्पताल र मेरो मन सगरमाथा झैँ उच्च छ।
-(डा ढकाल धुलिखेल अस्पतालमा कार्यरत छन्।)