कोरोनाको विश्वव्यापी महामारीको समयमा अग्रपंक्तिमा खटेर काम गरिरहेका नर्सहरुलाई हेरेर सायद धेरैले नर्सिंग पेशाको महत्व बुझिसक्नुभएको छ। नर्सिङ पेशा केवल औषधि दिने र सुइ लगाउने मात्र होइन भन्ने कुरा पनि अलि अलि बुझ्न थाल्नुभएको छ होला। तर नर्सिङ शिक्षा र नर्सिङ पेशाको कार्यक्षेत्रको दायरा बुझाउन बाँकी नै छ। अनेकौं पीडादायी संघर्ष गर्दै काम गरेपनि यतिबेला स्टाफ नर्सको भूमिका धेरैजसो भनिरहनुपर्दैन तर विशेषज्ञ नर्सहरुको बारेमा राज्य नै अनभिज्ञ छ।
दशकौंदेखि स्वदेश तथा विदेशबाट उच्च शिक्षा हासिल गरेर आइरहेका विशेषज्ञ नर्सहरु केवल विश्वविद्यालय केन्द्रीत भएर सेवा दिइरहेको देखिन्छ। कुनै कुनै विश्वविद्यालयले अलि अलि बिरामीको सेवामा जिम्मेवारी दिएपनि, खासै देशको स्वास्थ्यमा प्रत्यक्ष रुपमा योगदान दिइराखेको देखिन्न या भनौं अप्रत्यक्ष रुपमा उपस्थित भए पनि उहाँहरुको भूमिका देखिदैन। सरकारी सेवामा नगन्य रुपमा उच्च शिक्षा लिएका नर्सहरुको माग गरिन्छ तर विधा छुट्टाएर विशेषज्ञको माग हुँदैन।
नर्सिङ पेशा बाहेकका अन्य पेशा या सर्वासधारण व्यक्तिहरु; जसको घरमा नर्स हुनुहुन्न, उहाँहरु मध्ये कतिलाई थाहा छ होला? नेपालमा नर्सिङ विषयका विशेषज्ञ नर्सहरु पनि छन् भनेर| या भनौं स्वास्थ्य र स्वास्थ्य शिक्षा सरोकारवालाहरू कतिलाई थाहा होला कि नहोला भन्ने कुराको सार्है खुल्दुली लाग्छ। खुल्दुली लाग्ने धेरै कारणहरु मध्ये केहि कारण म यहाँ यसप्रकार राख्दैछु:
१. यदि थाहा भएको भए देश यस्तो महामारीको चपेटामा पर्दा कुनै विशेषज्ञ नर्सको माग भएको देखिएन।
२. सयौंको संख्यामा स्वदेश तथा विदेशबाट वार्षिक रुपमा विभिन्न विधामा उत्पादन भएका विशेषज्ञ नर्सहरुको विज्ञापन खुलाएको देखिन्न। (एकदम थोरै संख्यामा सामुदायिक नर्सिङमा बाहेक)
३. समुदायमा रोगको रोकथाम, स्वास्थ्य प्रबर्धन र बिरामी भइसकेपछिको उपचार, सबै ठाँउमा स्वास्थ्य सेवामा बहुपक्षीय संलग्नता हुनुपर्छ भनिन्छ तर विशेषज्ञ नर्सको भूमिका कहिँ देखिन्न।
यी कुराहरुले मलाई यस सम्बन्धि सरोकारवालाहरुसंग केहि प्रश्न राख्न प्रेरित गरेको छ। हुन त त्यसको व्यक्तिगत रुपमा म पनि जिम्मेवार सदस्य हो, तर यसमा व्यक्तिगत भन्दा नीतिगत समाधानको जरुरी टड्कारो देखिन्छ।
के स्वास्थ्य क्षेत्र या भनौं चिकित्सा क्षेत्र विकसित हुँदै विशिष्टकृत सेवा दिइरहँदा, त्यही समुहमा काम गर्ने स्वास्थ्य प्रणालीको एक अभिन्न सदस्य नर्सको विशेषज्ञता आवश्यक पर्दैन?
के पेडियाट्रीक नर्स भनेका पिसिएल वा स्नातक उतिर्ण गरेर बाल रोग विभागमा अनुभव गरेका नर्स भन्ने बुझिन्छ? मानसिक स्वास्थ्य नर्स भन्नाले मनोरोग विभागमा अनुभव भएको भन्ने बुझिन्छ? क्रिटिकल केयर स्पेशालिस्ट भनेको आइसीयूको अनुभव हो? अवश्य पनि कार्यदक्षता अनुभवले निर्धारण गर्छ, तर के अनुभव मात्र भएर त्यसको विशेषज्ञ भएको मानिन्छ? यदि मानिन्छ भने स्वास्थ्यका अरु विधामा किन उच्च अध्ययन गर्नुपर्यो?
महामारीले देश आक्रान्त परेका बेला पनि उचित योजना र व्यवस्थापन हुन नसकेका जनशक्ति कहिले र केका लागि उत्पादन हुँदैछन्?
देश आक्रान्त बनिरहँदा विभिन्न विशेषज्ञ नर्सहरु; सामुदायिक नर्सहरु रोकथामका लागि, मानसिक स्वास्थ्य नर्सहरु मानसिक स्वास्थ्य प्रबर्धन, मनोरोग रोकथामको लागि र मनोस्वस्थ्य परामर्शको लागि, क्रिटिकल केयर नर्सहरुसो सम्बन्धि सेवाको प्रबर्धन र अनुगमनको लागि उचित दरबन्दी ल्याएर परिचालन गर्न नसक्नु अत्यन्तै दुखदायी छ।
सरोकारवालाहरु, विश्विवद्यालय, नर्सिङ काउन्सिल, नर्सिङ संघ, स्वास्थ्य मन्त्रालय र राज्य या नर्स उत्पादन गर्ने संस्थाका सर्वोच्च ओहोदामा रहनुभएका कुलपति, सहकुलपतिज्युहरु सबैले गम्भीरता पुर्वक सोचेर नीतिगत योजना तर्जुमा गर्नुपर्ने देखिन्छ। नत्र पिसिएल नर्सिङ मात्र गरेर स्वास्थ्य प्रणाली आरामका साथ चल्छ र आम नागरिकको स्वास्थ्य गुणस्तरीय हुन्छ भने नर्सहरुले उच्च शिक्षा या विशेषज्ञता हाँसिल गरिराख्नु पर्ने औचित्य देखिन्न। हुन त शिक्षा पदको लागि मात्र होइन आफ्नो चौतर्फी विकासको लागि अपरिहार्य कुरा हो, तर आफ्नो विकासको लागि जागिर गर्दै पढ्न सकिने अरु विषयहरु पढ्दा पनि हुन्छ। पुरा आफ्नो जीवनको उर्वर समय केवल पढ्दैमा खर्चेर आखिर अवसर छैन भने त्यो प्राविधिक शिक्षामा गरिएको आर्थिक, सामाजिक, शारीरिक र मनोवैज्ञानिक खर्चको के नै काम लाग्ला र?
-(पोखरेल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साइक्याट्रिक नर्सिङकी एसोसिएट प्रोफेसर हुन्)