काठमाडौं- जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। ३ लाख ६ हजार ९७० भायल खोप टेकुमा भण्डारण गरिएको हो। एक भायलमा पाँच डोज खोप रहेको छ।
जोन्सनको यो खोप एक डोज मात्र लगाए पुग्छ। अमेरिकी सरकारले कोभ्याक्स फ्यासिलिटीमार्फत उक्त खोप नेपाललाई उपलब्ध गराएको हो। खोप आज बिहान कतार एयरबाट नेपाल आएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त खोप ५० देखि ५४ वर्ष उमेर समूह र पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरुलाई लगाउने निर्णय गरिसकेको छ।
साथै, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने निर्णय गरिएको छ।