काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार चिकित्सकहरुको देश दौडाह पनि बढ्दै गएको छ। उनीहरु आफ्ना प्रतिवद्धता र योजना लिएर मतदाता चिकित्सककहाँ पुगिरहेका छन्।
काउन्सिलका ऐन कानुन तथा कामका विषयमा केन्द्रित आफ्ना कार्ययोजना लिएर उनीहरु भोट माग्न व्यस्त छन्। काउन्सिलको सदस्य पदमा उम्मेदवारी दिएका डा प्रकाश पौडेल पनि आजभोलि चुनावी प्रचार–प्रसार अभियानमै व्यस्त छन्।
उनले एमबिबिएस काठमाडौं मेडिकल कलेज सिनामंगलबाट अध्ययन गरेका हुन् भने एमडी चीनबाट।
डा पौडेल चिकित्सा क्षेत्रमा ८ वर्षदेखि कार्यरत छन्। उनी हाल नेपाल नेशनल अस्पताल काठमाडौंमा कार्यरत छन्। पल्मोनोलोजिष्ट डा पौडेल कोभिडको समयमा करिब ५ हजारभन्दा बढी कोभिडका बिरामीको उपचारमा पनि संलग्न थिए।
डा प्रकाशलाई भोट किन? के–कस्ता छन् उनका कार्ययोजना? डा प्रकाशको भनाइ उनकै शब्दमाः
काउन्सिलको दायरामा रहेर गर्न सकिने कामहरुलाई सहजतापूर्वक गर्ने मेरो सोच छ। चिकित्सकहरुलाई काउन्सिलबाट हुने काममा समस्या आइरहेको देखिन्छ। यस्ता समस्याहरु समाधान होस् भन्ने कुरालाई ध्यान दिएर काम गर्न चाहन्छु। म मेडिकल प्राक्टिस काठमाडौंमै बसेर गरिरहेको हुनाले काउन्सिलको हरेक मिटिङमा सहभागि भएर काउन्सिलले गर्न खोजेका कामहरुलाई सहजता पूर्वक गर्न सकिन्छ र लबिङहरु गर्न सकिन्छ भन्ने अवधारण लिएर नै मैले उम्मेदवारी दिएको हुँ।
मेरो मुख्य एजेन्डा भनेको काउन्सिलको मातहतमा रहेर गर्न सकिने कामहरुलाई अगाडि बढाउने नै हो। विशेषगरी एकेडेमिक पक्षलाई समेट्न खोजेको छु। जस्तो अहिले एमबिबिएस गर्न नेपालमा प्रशस्त सिटहरु छन्। तर एमडीमा एकदमै कम सिट भएको हुनाले मेडिकल अफिसरको संख्या मात्र बढी भएको देखिन्छ। त्यसले गर्दा चिकित्सकहरुमा पनि निराशा बढेको छ।
यो समस्या कसरी समाधान गर्ने भन्ने विषयमा केही काम गर्नुपर्ने देन्खिन्छ। जस्तो आइसीयु तथा क्रिटिकल केयरमा धेरै नै काम भइरहेको छ, त्यस्तो सेन्टरमा एमबिबिएस कोर्षको डिप्लोमा विकास गर्न सकिन्छ। १ वर्ष, २ वर्ष डिप्लोमा कोर्ष गर्दा मेडिकल अफिसरहरुको क्षमता अभिवृद्धि पनि हुने र उनीहरु दक्ष जनशक्तिको रुपमा पनि तयार हुने हुन्छ। त्यो जनशक्ति भोलि छरियर जाँदा देशको समग्र स्वास्थ्य स्थितीमा पनि सुधार हुन्छ।
अहिले मेडिकल अफिसरहरुको तलब, रेजिडेन्टहरुको तलब कम भएको, ड्युटी आवर बढी भएको कुरा आइरहेको छ। तलबको समस्या काउन्सिलले प्रत्यक्ष रुपमा समाधान गर्न सक्ने अवस्था छैन। त्यसकारण यस्ता खालका ट्रेनिङहरुले अप्रत्यक्ष रुपमा सहयोग गर्छ जस्तो मलाई लाग्छ। यो कुरालाई अगाडि बढाउने मेरो सोच छ।
त्यसैगरी एमडी गर्दैगरेका रेजिडेन्ट डाक्टरहरुको ड्युटी आवर बढी तर त्यो अनुसार पाइने सुविधा कम भएको कुरालाई पनि समाधान गर्ने कोसिस गर्नेछु।
अर्को कुरा एमडी गरिसकेपछि पनि फेलोसिप प्रोगामहरु नेपालमा विकास भइरहेको छैन। हाम्रा चिकित्सकहरु फेलोसिप गर्न भारत लगायत अन्य देशका प्राइभेट इन्टिच्युटहरुमा गइराख्नु भएको छ। काठमाडौंकै ठूला–ठूला सेन्टर जस्तो युरोलोजिमा धेरै राम्रा काम भइरहेका छन्। यहीँको सेन्टरमा एकवर्ष काम गर्नेगरी नेपालमै फेलोसिप प्रदान गर्न सकियो भने दक्ष जनशक्ति बढ्छन्। जसले गर्दा दक्ष जनशक्ति पनि वृद्धि हुने र देशको स्वास्थ्य सेवामा पनि सुधार हुने हुन्छ।
कुनै पनि चिकित्सकले कुनै विषय पढीसकेपछि उसले गलत काम गर्ने भन्ने सम्भावना रहँदैन। तर अहिले के भइरहेको छ भने कहिलेकाँही बिरामीको मृत्यु भइदिँदा उपचारको क्रममा कुनै समस्या आइदिदा तुरुन्तै लापारबाही गर्यो भन्दै भिड र हुलमुलले अस्पताल फुटाउन थाल्ने, चिकित्सकमाथि हातपात हुन थाल्ने घटनाहरु बढ्दै गइरहेका छन्। यो समस्यालाई पनि समाधान गर्नुपर्छ। मेरो यसमा के अवधारण छ भन्दा सेकेण्ड ओपेनियन सेन्टर बनाउनुपर्छ। यो प्रत्यक्ष रुपमा काउन्सिल वा अस्पतालसँग सम्बन्धित होस्। एउटा सेकेण्ड ओपेनियन सेन्टरको अवधारणा ल्याउन सकियो भने कुनै पनि व्यक्तिलाई चिकित्सकले गरेको उपचार ठिक लागिरहेको छैन वा कुनैपनि शंका छ भने सेकेण्ड ओपेनियन सेन्टरले काम गर्न सकिन्छ।
त्यसैगरी चिकित्सकले आफ्नो चिकित्सकिय सेवा प्रदान गर्दा निर्धक्क भएर सेवा दिन सक्यो भने कार्यक्षमता पनि बढ्छ जसले गर्दा बिरामीलाई नै फाइदा पुग्छ।
अहिले चिकित्सकमाथि कुटपिटका घटना बढीरहेको अवस्थामा चिकित्सकहरु बिरामीको उपचार गर्न पनि डराउनुपर्ने अवस्था भइरहेको छ। यो सँगै यताकता चिकित्सकहरुबाट पनि गल्ती भएको छ भने त्यसलाई पनि कारबाही नै गर्नुपर्छ। तर त्यो कारबाही भिड वा व्यक्तिले होइन ऐन कानुनले गर्नुपर्छ भन्ने विषयमा मेरो जोड रहन्छ। साँच्चै गल्ती भएको छ भने कारबाही नै हुनुपर्छ। यस्ता कुरालाई संरक्षण दिनुपर्छ भन्ने लाग्दैन। तर त्यो कानुनसंवद हुनुपर्छ।