विभिन्न सुचना, प्रविधि, खोज तथा अनुसन्धानको विकास क्रमसँगै हाम्रो शरीरलाई सन्तुलित राख्न र मोटोपना घटाउन विभिन्न थरिका डाइट प्लान तथा प्रविधि भित्रिएका छन्। अहिले नेपालमा इन्टरमिटेन्ट फास्टिङ र किटो डाइटको चर्चा ह्वात्तै बढेको छ। नयाँ नयाँ प्रविधि आए पनि हामी तिनीहरुको वास्तविकता नबुझिकन त्यसको पछाडि लाग्नु भन्दा यिनीहरूको फाइदा बेफाइदा बुझेर मात्र अगाडि बढनु राम्रो हुन्छ। इन्टरमिटेन्ट फास्टिङको बारेमा हामीले पहिले नै चर्चा गरिसकेका छौं। (यहाँ क्लिक गरौं: १६ घण्टे उपवास र यसका फाइदा)। यो आर्टिकलमा हामी हामी अहिले चर्चा बटुलिरहेको किटो डाइटको बारेमा चर्चा गर्दै छौं।
१) आखिर के हो त किटो डाइट भनेको?
किटो डाइट भनेको खानाको एउटा विधि हो जसमा फ्याट अर्थात बोसोको मात्रा उच्च (७०-८०प्रतिशत), प्रोटिनको मात्रा मध्यम (१०-२०प्रतिशत) र कार्बोहाइड्रेटको मात्रा न्युन (५-१०प्रतिशत) हुन्छ। यो प्रविधि वा तालिका सन् १९२१ मा इपिलेप्सी वा सिजर भएका बिरामीको उपचारको लागि प्रयोगमा ल्याइएको थियो र अहिले यो तौल नियन्त्रण तथा मोटोपन भएका व्यक्ती बिच तौल व्यवस्थापनका लागि चर्चा बटुली रहेको छ। अहिले आएर यो विधि विश्वव्यापी रुपमा छलफलको बिषय बनेको छ। किटो डाइटलाई मानिसहरुले परामर्श लिएर, स्व-अध्ययन गरेर वा विना सोधखोज प्रयोगमा ल्याइरहेका छन्।
यसमा मुख्य गरी फ्याट (बोसोलाई) प्राथमिकतामा राखिन्छ। कार्बोहाइड्रेट जुन हाम्रो शरीरको उर्जाका लागि अपरिहार्य हुन्छ यस डाइटमा न्यून मात्रमा राखिएको छ। त्यसो भए किटो डाइटमा शरीरलाई चाहिने उर्जा कहाँबाट मिल्छ त? यसमा हाम्रो शरीरलाई चाहिने उर्जा फ्याट (बोसो) वा प्रोटिनबाट मिल्दछ र त्यो प्रकृयालाई किटोसिस वा किटोजेनेसिस भनिन्छ। फ्याट प्रशस्त मात्रामा पाइने खानाहरुमा नट्स, एभोगाडो, अन्डा, माछा तथा मासुहरु पर्दछन्। त्यसैले सामान्य अर्थमा भन्नु पर्दा किटो डाइटमा अन्डा, माछा र मासुको मात्रा बढी हुन्छ। हामिहरुले दैनिक रूपमा खाने अन्न, दाल, गेडागुडी, माटोमुनी फल्ने तरकारी तथा अन्य तरकारीहरु न्यून मात्रामा पर्दछन्।
२) के यो किटो डाइट सबैका लागि प्रभावकारी छ त ?
अहिलेको विभिन्न अनुसन्धान र खोजसँगसँगै मोटोपना र विभिन्न रोगहरुको सन्तुलन तथा नियन्त्रणको लागि विभिन्न तरिका तथा प्रयोगहरु आइरहेका छन्। त्यसमध्यको यो किटो डाइट पनि मोटोपना तथा विभिन्न रोगहरुमा फलदायी देखिएको छ। यसमा हाम्रो शरीरको लागि आवश्यक पर्ने उर्जा फ्याट (बोसो)बाट प्राप्त हुन्छ। हाम्रो दैनिक खानामा कार्बोहाइड्रेटको मात्रा उच्च हुने हुँदा त्यो समयमा उर्जाको स्रोतको रुपमा कार्बोहाइड्रेट अर्थात ग्लुकोज ग्लाईकोजेनेसिस प्रकृयाम जान्छ र शरीरलाई उर्जा प्रदान गर्ने काम गर्छ भने किटो डाइटमा बोसोबाट किटोन बडीज् निक्लने गर्छ र किटोजेनेसिस प्रोसेसमा गएर बोसो मार्फत उर्जा प्राप्त हुन्छ। यो पद्धती प्रयोगमा लिएर आउनु पूर्व यस सम्बन्धी दक्ष परामर्शदाता वा पोषणाविदसँग सल्लाह सुझाब लिएर उनीहरुको निगरानीमा मात्र शुरु गर्नुपर्छ। यसमा खानाको सन्तुलन मिलाउन सकिएन वा जानिएन भने हाम्रो शरीरमा चाहिने भन्दा बढी किटोनको निष्कासन हुन जान्छ र हाम्रो शरीरलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ।
यो पद्दति सबैका लागि प्रभावकारी हुँदैन। यसमा रेशादार खानाको कमी हुने भएको कारण कब्जियत तथा पाचन प्रणालीमा समस्या भएकाहरुको लागि उचित हुँदैन। त्यसैगरी विभिन्न अङ्गहरुमा जस्तै प्यान्क्रियाज, कलेजो, मिर्गौला, पित्तथैली,थाइराइड जस्ता अंगहरूमा समस्या भएका तथा मिर्गौला र पित्तथैलीमा पत्थरी भएका व्यक्तिहरूलाई उपयुक्त हुँदैन। त्यसैगरी शारीरिक परिश्रम गर्ने, छिटो छिटो उर्जाको आवश्यक पर्ने व्यक्तिहरूका लागि पनि उचित हुँदैन।
३) के नेपाल जस्तो देशमा यो प्रभावकारी छ त ?
अमेरिका, यूरोप जस्ता पश्चिमा देशहरूमा मासुजन्य चिज तथा उच्च बोसोयुक्त खानाको उपभोग बढी हुन्छ। त्यस्ता राष्ट्रहरुमा यो किटो डाइट पालना गर्न सजिलो अनि प्रभावकारी पनि हुन्छ। तर नेपाल लगायत अन्य एशियाली राष्ट्रहरु जहाँ मुख्य खाना नै कार्बोहाइड्रेट अर्थात अन्न (चामल वा रोटी )पर्छ त्यहाँ यो डाइट प्लान त्यति उचित देखिँदैन।
अमेरिका तथा यूरोपमा बसोबास गर्ने मानिसहरु प्रशोधित र मासुजन्य खाना अत्याधिक सेवन गर्छन् र फलफुल तथा सागसब्जीको न्यून प्रयोग हुन्छ। त्यस्ता ठाउँमा बसोबास गर्नेहरुको लागि प्रशोधित खानाहरूको उपभोग घटाएर किटो डाइट प्रयोगमा लिएर आउनु मोटोपना तथा अन्य रोगको उपचारमा उचित देखिन्छ। तर हाम्रो जस्तो न्यून आय भएको तथा विभिन्न अन्न, गेडागुडी, दाल, फलफुल, सागसब्जी प्रशस्त मात्रामा उत्पादन तथा प्रयोग हुने राष्ट्रहरुमा यो डाइट प्लान त्यती प्रभावकारी नहुन सक्छ।
नेपाल भौगोलिक विविधताले भरिपुर्ण मुलुक हो जहाँ विभिन्न थरिका अन्न र अन्य गेडागुडीहरु पाइन्छ र ति खानाहरुलाईनै सन्तुलनमा राखेर प्रयोग गर्न जानियो भने मोटोपन तथा अन्य दीर्घरोग लाग्नबाट बच्न सकिन्छ। यसको लागि हामीहरुले आफ्नो खाना खाने शैली, आनिबानी र हाम्रो भान्छामा प्रयोग हुने बस्तुको सही छनोट र परिवर्तन गर्न जरुरी छ। त्यसैगरी पशुपंक्षीको व्यवसायीक उत्पादनमा कुनै किसिमको निगरानी र कडाई सरकारी स्तरबाट नहुनुलेपनि माछा मासुजन्य बस्तुको उत्पादनमा धेरै लापरवाही भइरहेको छ। यस्ता मासुजन्य खानाको उत्पादनमा अनावश्यक रुपमा हुने भिटामिन, मिनरल तथा हर्मोनको प्रयोगले यि उत्पादनहरू हाम्रो शरीरलाई फाइदा भन्दा बेफाइदा बढी गर्छन् भन्ने कुरामा दुइमत नहोला। हाम्रा पुर्खाहरुले माछा मासुजन्य बस्तुको प्रयोग न्यून गरेका कारण हामीहरु पनि त्यही खानकीमा बानी परिसकेका र हाम्रो शरीर पनि त्यसमै बानी परेको हुनाले नेपाल जस्तो मुलुकको लागि अकस्मात किटो डाइट अपनाउनु त्यति उचित देखिँदैन र यसलाई हाम्रो बहुसंख्यक जनताको आय स्तरले धान्न पनि मुस्किल पर्छ।
हाम्रा पूर्वजहरु यही अन्न र विभिन्न थरीका गेडगुडी र सागसब्जी खाएर लामो आयु बाँचेका थिए। हाम्रो शरीर पनि त्यस्तै खानकीमा ढल्दै आयो र यही खानकीमा हाम्रो शरीरलाई बानी परिसकेको छ। त्यसैले नयाँ युग सँगसँगै नयाँ आएका प्रविधि, खाना, खाने तालिका तथा नयाँ डाइट प्लानहरुलाई आफ्नो शरीरमा लाद्ने कोसिस गर्नुको साटो पहिला हामीहरुले आफ्नो भान्छा र त्यहाँ भएका चिजहरुलाई परिवर्तन गर्न जरुरी छ। जस्तै हाम्रो भान्छामा सर्वाधिक प्रयोग गरिने चिल्लो पदार्थ जुन हाम्रा पुर्खाहरुले शुद्ध तोरिको वा घ्युलाई प्राथमिकतमा राख्थे तर अहिले आएर यसको ठाउँ अहिले आयातित तथा प्रषोधित तेलले ओगटेको छ। त्यसैले सबैभन्दा पहिले त दिर्घायु र स्वस्थ शरीरको लागि ति तेलहरुलाई परिवर्तन गर्न जरुरी छ। त्यसपछी आँउछ हाम्रो भान्छामा पकाउन प्रयोग गरिने भाँडाकुँडा। पहिले पहिले काँस, तामा, पितल, चरेस, फलाम तथा माटोको भाडाको प्रयोग हुन्थ्यो। तर अहिले आएर यसको स्थान एल्मुनियमका भाडाले ओगटेको छ जुन हाम्रो शरीरको लागि अत्यन्तै हानिकारक छ। त्यसपछि आँउछ खानेकुराको प्रशोधन विधि, पहिला पहिला ढिकीमा कुटेको रेसायुक्त चामल, पिठो, मकै, फापर, कोदो आदी प्रयोग गरिन्थ्यो तर अहिले अत्याधिक प्रशोधित र पोलिश गरिएका चामल, प्याकेज गरिएका खाना-खाजाको प्रयोग बढेर गएको छ। यिनीहरू मार्फत हामीले अत्याधिक ग्लुकोजको सेवन गरेका छौं जसको हामीलाई आवश्यकता नै छैन। त्यसैले आफ्नो शरीर स्वस्थ राख्न कुनै नयाँ विधि आएछ भनेर त्यस्को पछाडि लाग्नु भन्दा पहिला हामीहरुले हाम्रो भान्छा अनि हाम्रो बुझाइ परिवर्तन गर्न जरुरी छ। हाम्रो धरातल, भौगोलिक बनावट र परिवेश बुझ्न जरुरी छ। त्यति गरिसकेपछि हामीहरुलाई निरोगी र स्वस्थ रहनको लागि कसैको नक्कल गरिराख्न पर्दैन र कुनै नयाँ प्रविधि, डाइट प्लान तथा अन्य कुराहरुको खाँचो पर्ने छैन।
[पोषण विज्ञानमा विद्यावारिधी गरेकी अधिकारी हाल सात्विक न्यूट्रिफूडमा आबद्ध छिन्]