मध्य पहाडबाट तराई झरेका एकजना जमिनदार मकहाँ उपचारका लागि आउँथे। त्यो परिवारका सवै सदस्य राष्ट्रियस्तरमा चिनिएका थिए। उनले साधारण डिप्रेसनको औषधि खाइरहेका थिए। कुरा २०५५ सालतिरको हो। उनी कहिलेकाहिँ सानो छोरा विग्रन लाग्यो कि भनेर पनि ल्याउँथे।
उनको एउटा मुद्दा थियो। जवानीमा विहे नै नगरी महिलासँग सम्बन्ध भएको रहेछ। छोरा भएछ तर उनलाई स्वीकार नगरी अर्कि महिलासँग विहे गरेर घरजम गरेका रहेछन्।
विहे नगरेकी पट्टीबाट जन्मिएको छोरो ठूलो भए पछि अंश दावी गरेर मुद्दा हालेछ। उ पनि साधाण मानसिक समस्या भएर मकहाँ आउने गरेको थियो। हेर्दा पनि ठ्याक्क बाबु जस्तै थियो। बाबु भन्दा धेरै पहिले देखि छोरो आउने गरेको थियो। छोराले मलाई बाबुसँग मुद्दा लडेको सुनाएको थियो। मलाई सवै थाहा थियो, तर बाबुले यसवारेमा कुनै कुरा बताएका थिएनन्।
बाबु छोरा झगडिया भएकाले बोलचाल हुने कुरा भएन। एकदिन संयोगवस मेरो क्लिनिकमा बाबु बसिरहेको बेला छोरा पनि आइपुगेछन्। सँगै परेछन्।
उनीहरुमध्ये बाबु पहिला भित्र आए। मलाईं देखाए। सामान्य समस्या थियो, सल्लाह दिएँ, गए।
त्यसदिन बाबुले आफ्नो मुद्दा सम्बन्धी महत्वपूर्ण फाइल त्यहीँ छोडेर हिँडेछन्, छोराले पाएछन्। बाबुपछि लगत्तै छोरो भित्र आए। ‘आज तपाईंको क्लिनिकमा जचाउँन आउँदा मलाई खूव ठूलो फाइदा भयो’ भने। मैले ‘के फाइदा भयो बाबु ?’ भनेँ। ‘मेरो अंशसम्बन्धी मुद्दा चलिरहेको तपाईँलाई थाहै छ, बुढाले महत्वपूर्ण कागजपत्र यहीँ खसालेर गएछन्, मैले पाएँ, मुद्दासम्बन्धी कुराहरु नै रहेछन्। मलाई सजिलो हुने भयो’ भनेँ।
मैले ‘खै लेउ त हेरौँ’ भनेँ। ‘आइ एम सरी, म तिमीलाई यो फाइल दिन सक्तिन, यो उनले विर्सिएर गएको हो, उनी मेरो प्यासेन्ट हुन्। बरु तिम्रो बुबा अहिलेसम्म गएका छैनन् होला बोलाएर जिम्मा लगाउँछु’ भनेँ। उनले शुरुमा त नाइ भन्दै थिए तर मैले अडान लिएपछि ‘हुन्छ, मलाई चाहिदैन’ भने।
म बााहिर आएँ। बाबु औषधि किन्दै रहेछन्। आफैँ गएर फाइल बाबुलाई दिएँ। उनी छक्क परे। ज्यादै खुसी भए।
‘मैले यो कागज कसको हातमा पर्यो भनेर अनुमान गरिसकेको थिएँ। डा सावले आफैँ आएर दिनु भयो। यस्तो पनि गरिदिनु हुँदो रहेछ’ भनेर धेरै खुसी व्यक्त गरे। तर झगडिया छोरो हो भन्ने उल्लेख गरेनन्। पछि फलोअपमा आउँदा पनि यो कुरा सम्झेर औधि खुसी प्रकट गरेका थिए।
मुद्दा लड्दै जाँदा गाह्रो हुन्छ भन्ने सोचेर उनले सवैसँग सल्लाह गरेर अंश भाग दिएछन्। बाबु अहिले वितिसके। छोरो चाहिँ अहिले पनि उपचारमा आउँछन्। ‘तपाईँले मसँगबाट कागज लिएर पुर्याउन जानु भएको थियो त्यसकारणले पनि तपाईँलाई म एकदमै मान्छु’ भन्छन्।
यसरी झगडियाहरु मकहाँ उपचार गराउँन आउँदा थुप्रैको जम्काभेट हुन्छ। डिभोर्स भएका लोग्ने र स्वास्नी यहाँ उपचार गराउने सिलसिलामा जम्काभेट भएका घटनाहरु पनि छन्।
-(मानसिक रोग विशेषज्ञ डा विश्वबन्धु शर्माको पुस्तक मान्छेको मनको एक अंश)