चोटपटक लागेर हड्डी भाँचिनु हाम्रा लागि वा कसै न कसैका लागि जीवनकालमा पर्न सक्ने कुरा हो। कुनै पनि हड्डीको आकारमा टुटफुट भए त्यसलाई फुटेको, भाँचिएको वा फ्रयाक्चर भएको भनिन्छ। पछिल्लो समयमा आएर फ्रयाक्चरको परिभाषा केही परिमार्जित पनि भएको छ।
फ्रयाक्चर भन्दा यो हड्डीको मात्र चोट नभई यसको वरिपरिको मांसपेसी र तन्तुहरुको पनि चोट हो भन्ने कुरालाई नयाँ परिभाषामा बढी जोड दिइएको छ। एक्सरेमा हड्डी मात्र देखिने हुन्छ तर उपचार पुरै नरम तन्तुहरुको पनि चोट भनी गर्नुपर्दछ। फ्रयाक्चरलाई विभिन्न कोणबाट वर्गीकरण गर्न सकिए पनि मुख्यतः यसलाई भाँचिएपछि सरेको र नसरेको गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ। यसलाई खुला वा बन्द फ्रयाक्चरको आधारमा पनि वर्गाीकरण गरिन्छ।
हड्डी भाँचिए पनि नसरिकन बसकेकोलाई चर्केको वा क््रयाक फ्रयाक्चर मात्रै भनिन्छ। यस्तो फ्रयाक्चरलाई नचलाइकन राख्न, ब्यान्डेज, ट्राक्सन वा प्लास्टर बाहेक केही गर्नु पर्दैन। यहाँ बुझ्नैपर्ने कुरा के छ भने भाँचिएको हड्डीलाई डाक्टरले, प्लास्टरले वा स्टिलपाताले, औषधिले जोडिदिने होइन। भाँचिएको हड्डीलाई शरीर आफैँले जोडिदिने हो, जब भाँचिएका भागहरु नहल्लिकन रहन्छन्। शरीरको रगत र हड्डी भित्रको मासीले आफैँ हड्डीहरु जोड्ने हो।
उपचार भनेको केवल भाँचिएका भागहरुलाई पूर्ववत् अवस्थामा राखिदिने प्रयास मात्र हो। त्यसबाहेक कुनै खाना खाएर, क्याल्सियम खाएर, जडिबुटी लगाएर, औषधि खाएर हड्डी छिट्टै जोडिन्छ भन्ने ठोस रुपमा प्रमाणित भएको छैन। कुनै पनि हड्डी फुटेपछि कुनै प्लास्टर, ब्यान्डेज नै नचाहिने र सो भागलाई आराम गराए मात्र पुग्ने हुन्छ। यस्ता फ्रयाक्चरहरुमा शरीरका चेप्टा हड्डीका टुटफुट, करङको फ्रयाक्चर र औँलाका टुप्पाका फ्रयाक्चरहरु आदि हुन्।
हड्डी भाँचिएर सरेको अवस्थामा चाँहि उपचारको तरिकामा विविधीकरण हुँदै जान्छन्। आजकल प्राय: लामा हड्डीहरु भाँचिंदा अपरेशन गरिहाल्नुपर्छ र स्टिल हालिहाल्नु पर्छ भन्ने चलन आएको छ, जुन गलत प्रचलन हो। धेरैजसो फ्रयाक्चरलाई अपरेशन गर्नुपर्दैन। ब्यान्डेज, प्लास्टर र आराम गरे पुग्छ। हड्डीहरुहरु जोडिन कम्तीमा ६ हप्ता लाग्दछ। साना बच्चाहरुमा ४–५ हप्तामा जोडिन सक्छन्। वृद्ध–वृद्धामा केही हप्ता बढी लाग्न सक्छ। त्यसभन्दा छिटो हड्डी जोडाउने कुनै जादु अहिलेसम्म छैन। त्यसैले यो समयमा हतार चाँही गर्नु हुँदैन। चिकित्सकको सल्लाह अनुसार बिच–बिचमा एक्सरे चेक गर्नुपर्छ र, प्लास्टर, ब्यान्डेजबाट हुने समस्या पनि चिकित्सकलाई देखाउनुपर्छ।
प्लास्टर लगाएपछि गर्नुपर्ने कुराहरु
१. प्लास्टर लगाएर घर गएपछि हात वा खुट्टालाई कम्तीमा पाँच दिन नझुण्ड्याउने र सकेसम्म ठडाएर राख्ने गर्नुपर्छ।
२. प्लास्टर लगाएको ठाउँभन्दा तलको अंग वा औँलाहरु सुनिए, दुखे वा निलो भए तुरुन्त अस्पताल आई देखाउनुपर्दछ।
३. प्लास्टरभित्रका बाहेक वरिपरिका जोर्नीहरु चलाई राख्नुपर्दछ।
४. प्लास्टरभित्रको जोर्नी मासंपेशी पनि दिनमा कम्तीमा तीन पटक टाइट गर्ने–छोड्ने गर्नुपर्छ।
प्लास्टर लगाएपछि गर्न नहुने कुराहरु
१. प्लास्टरमा पानी पार्नु हुँदैन।
२. चिलाएमा पनि कुनै बाहिरी कुराले प्लास्टर भित्र घोच्नु हुँदैन। भित्र घाउ भएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ।
३. समय अगावै आफूखुशी प्लास्टर काट्न वा छोट्याउनु हुँदैन।
४. प्लास्टरभित्रको कपास झिक्ने गर्नु हुँदैन।
त्यसबाहेक अपरेशन गर्नुपर्ने अवस्थामा चिकित्सकको सल्लाह अनुसार अघि बढ्नुपर्छ। प्रयोग गरिने धातुहरुमा स्टिल बाहेक टाइटानियम भन्ने धातु पनि प्रचलनमा आएको छ। भाँचिएका हाडहरुलाई भित्रबाट फिक्स गर्न रड, पाता, पेचकिल्ला, तार आदि प्रयोग हुन्छन्। यी धातुहरु शरीरमा मिल्ने चिजले बनेका हुन्छन्। त्यसैले कतिपय क्यान्सर हुन्छ भन्ने त्रास गलत हो। निकाल्नैपर्ने अवस्थामा ६ महिनादेखि २ वर्षभित्रको अवधिमा निकाली हाल्नुपर्छ। त्यसभन्दा ढिला गर्दा निकाल्न गाह्रो हुन सक्छ।
हाडजोर्नी भाँचिई हड्डी बाहिर निस्केको रहेछ भने त्यसलाई खुला फ्रयाक्चर भनिन्छ र यसलाई गम्भीर रुपमा लिनुपर्छ। किनकी यसले संक्रमण निम्त्याउँछ र हड्डी एक पटक पाकेपछि सञ्चो गराउन निकै गाह्रो हुन्छ। त्यसबाहेक खुला फ्रयाक्चरमा हड्डी जोडिन पनि गाह्रो हुन सक्छ। सामान्य क्लोज्ड फ्रयाक्चरमा बिरामीहरु आत्तिए पनि यो इमरजेन्सी विषय होइन तर खुला फ्रयाक्चरहरुलाई अर्थोपेडिक इमरजेन्सी भनिन्छ। र, यसलाई दु्रत गतिमा सफा गर्ने, अपरेशन गर्ने र एन्टिबायोटिक प्रयोग गर्ने गर्नुपर्दछ। हाडजोर्नी प्लास्टरमा वा अपरेशन गरेर जोडिएपछि उपचार सकियो भन्ने भान बिरामीलाई लाग्न सक्छ। तर यहाँनिर उपचार आधा मात्र भएको हुन्छ। आधा उपचार बाँही नै हुन्छ, जुन हो फिजियोथेरापी।
हड्डी जोडिने क्रममा सम्बन्धित जोर्नीहरु जाम भएका हुन्छन्, मांसपेसीसुकेका हुन्छन् र हामीले फिजियोथेरापी र अभ्यास गरेनौँ भने यी जोर्नी र मासंपेसी पूर्ववत् अवस्थामा आउँदैनन्। र, उपचार नै बिगारिदियो भन्ने दोष उपचारकर्मीलाई लाग्न सक्छ। हड्डी जोड्नलाई दुध र दुग्धजन्य पदार्थको सेवनले फाइदा गर्दछ भने चुरोट र सुर्तीजन्य पदार्थले बेफाइदा गर्दछ।
हड्डी भाँचिएपछि गर्नुपर्ने कुराहरु
१. भाँचिएपछि हड्डी जोडिने क्रममा केही थप इनर्जी चाहिन्छ र यसमा पनि बढी प्रोटिन चाहिन्छ। त्यही अनुसार खानामा विचार गर्ने।
२. भिटामिनहरु सी,डी, ई ले फ्रयाक्चरको जोडाईमा मद्दत पुग्छ।
३. वैशाखी, वाकर वा लट्ठीलाई सही तरिकाले प्रयोग गर्नुपर्छ। नत्र लड्न सकिन्छ।
४. क्याल्सियम धेरै भएको दुध र दुग्धजन्य पदार्थ, मह आदिको सेवनले फाइदा गर्छ भन्ने छ।
५. भाँचिएको भन्दा तल्लो भागमा दुख्ने, झमझम गर्ने वा लाटो भए वा अरु कुनै समस्या भए तुरुन्त डाक्टरलाई भेट्नुपर्दछ।
हड्डी भाँचिएपछि गर्न नहुने कुराहरु
१. चुरोट र सुर्तीजन्य पदार्थ नखाने। यसले फ्याक्चर हिलिङ नै ढिलो हुन्छ भन्ने देखिएको छ।
२. जाँड रक्सीले पनि फ्रयाक्चर हिलिङमा फाइदा पुग्दैन र हिड्दा उभिँदा सन्तुलन बिग्रिएर अर्को चोट लाग्न सक्छ।
३. वैशाखी वा वाकरले सहाराले भर्याङ र अप्ठ्यारो ठाउँमा हिड्नु हुँदैन।
(प्राडा कष्णप्रसाद पौडेलको ‘कम्मरी देखि कोभिड उपचार (हाडजोर्नी, नसा र स्वास्थ्य सम्बन्धी जानकारी) पुस्तक बाट)