काठमाडौं– चितवनको ठिमुरास्थित नारायणी किनारामा एउटा सुन्दर घर छ। टाढैबाट देख्ने जो कोहीलाई पनि उक्त घरले सहजै आकर्षित गर्छ। अनि अधिकांशले भन्छन्– ‘आहा! कस्तो राम्रो घर।’
अहिले यसले नयाँ नाम पाएको छ– भाइरल घर।
पुरानो शैलीको छानो, बार्दली, पुरानै शैलीका झ्याल र ढोका। ठाउँ–ठाउँमा लाल्टिन तथा थुन्छे राखिएको छ।
झट्ट हेर्दा नेपालका ग्रामीण बस्तीहरुमा बिजुली बत्ती पुग्नुअघि बनाइनेजस्तै घर छ। उहिले रातोमाटो र कमेरो लगाइए जस्तै, रातो र सेतो रङको मिश्रणले घरको मौलिक स्वरूपलाई दुरुस्तै देखाएको छ।
२०७२ सालको भूकम्पपछि ग्रामीण बस्तीहरुमा समेत पुराना शैलीका घर हराउँदै गएका छन्। ढलान गरिएका आरसीसी घरले पुराना शैलीका घरहरुको ठाउँ लिएका छन्। तर, यो घरले त्यही पुरानो समयलाई सम्झाइरहेको छ।
यो घर पछिल्लो समय सामाजिक सन्जालमा खुब छायो। यहाँ पुगेर टिकटक बनाउनेहरूका कारण घर भाइरल भयो।
हामी भाइरल घरमा पुग्दा आँगन, पिँढी, बार्दली सबैतिर मानिसहरुको भिड थियो। कोही टिकटक बनाउँदै थिए। कोही भिडियो र फोटो लिँदै थिए।
को हुन्, यस्तो भाइरल घर बनाउने व्यक्ति? उनी हुन् अर्थोपेडिक्स सर्जन डा प्रमोद लामिछाने। डा लामिछानेको पुर्ख्यौली घर लमजुङ हो। तर, त्यहाँको घर २०७२ सालको भूकम्पले भत्कायो। अनि, त्यही शैलीमा ठिमुरामा घर बनाए। त्यो घर अहिले ‘पर्यटकीय’ बनेको छ। तर, उनले भने गाउँको सम्झनाका लागि पुरानो शैलीमा यो घर बनाएका थिए।
‘खासमा यो घर बस्नको लागि बनाएको थिएँ, टिकटकमा भाइरल भयो। अहिले मान्छेहरु आउँछन्, हेर्छन्, टिकटक बनाउँछन्,’ डा लामिछानेले भने, ‘चिकित्सा पेसाले मात्र होइन, घरले पनि चिनिएको छु, खुसी लाग्छ।’
घर भाइरल भएपछि हेर्ने मानिसहरुको भिड बढ्दै गयो। त्यसपछि डा लामिछानेले यो घरलाई पर्यटकका लागि खुला गरेका छन्।
‘परिवार, बच्चाहरु बिदामा यहीँ आएर बस्थे, म बिहान बेलुका आउने गरेको थिएँ,’ उनले भने, ‘धेरै पर्यटकहरु आउन थालेपछि डिस्टर्ब भयो, त्यसपछि बस्न छाडिएको छ।’
यो घर बनावटको शैली मात्र पुरातन छैन, पराम्परागत सामान पनि राखिएको छ। नेपालका मौलिक वस्तुहरु ढिकी, जाँतो, खुर्पेटो, मादल, सारंगी लगायत देख्न पाइन्छ। तर, यो घर ढुंगामाटोले बनेको भने होइन। कंक्रिटले बनेको घरको डिजाइन मात्र परम्परागत बनाइएको हो। यो घरलाई करिब ४० लाख रुपैयाँ खर्च गरेर बनाएको डा लामिछानेले बताए।
‘भाइरल घरको डाक्टर भनेर चिनिदा कस्तो लाग्छ?’ घरको अवलोकन पछि हामीले साध्यौं।
‘यो घरले मलाई एकैपटक ह्वात्तै प्रचारमा ल्याएको हो। तर, म १० वर्षको मिहिनेत र लगनशीलताले यसअघि नै चिनिएको हुँ। मलाई अस्पतालले एउटा डाक्टरको रूपमा चिनाएको हो,’ उनले भने, ‘घरको आफ्नै पहिचान छ, कसको घर भन्दा बल्ल मेरो नाम आउँछ।’
भाइरल घरको कारण भन्दापनि बिरामीको सेवा गरेर चिकित्सकको रुपमा चिनिन पाउँदा खुसी लाग्ने उनले सुनाए।
‘मलाई आफ्नो चिकित्सा पेसा नै प्यारो लाग्छ,’ उनले भने, ‘हड्डी टुक्राटुक्रा भएका बिरामीलाई निको पार्ने डाक्टर भनेर चिनिँदा खुसी हुन्छु।’
स्कुल पढ्दा सधैं प्रथम
डा लामिछाने लमजुङमा २०३८ सालमा जन्मिएका हुन्। उनको स्कुले जीवन भने कहिले पोखरा त कहिले लमजुङ गर्दै बित्यो। उनले लमजुङको भक्ति नमूना माविबाट एसएलसी उत्तीर्ण गरे।
बाल्यकालमा लामिछाने चुलबुले स्वभावका थिए। आमाबुबाले पोखरामा बोर्डिङ स्कुलमा भर्ना गराएका थिए। ५ कक्षसम्म बोर्डिङ पढेपछि ६ र ७ कक्षा नपढाइ सरकारी विद्यालयमा ८ कक्षामा भर्ना गरियो। उमेर बढ्दै जाँदा उनमा पढाईंप्रति लगाब बढ्दै गयो।
आफ्नो स्कुले जीवनमा र चिकित्साशास्त्र पढ्दा पनि कतै शुल्क तिर्नु नपरेको उनी बताउँछन्। स्कुल पढ्दा कक्षामा कहिल्यै दोस्रो भएनन्।
‘स्कुल पढ्दादेखि एमबीबीएस, एमएस गर्दा कहिल्यै पैसा तिर्नु परेन,’ लामिछानेले गर्वका साथ सुनाए, ‘स्कुल पढ्दा म सधैं फस्ट हुन्थ्यें। एमबीबीएसमा सरकारको छात्रवृत्ति पाएँ, एमएस पनि छात्रवृत्तिमै पढें।’
स्कुल पढ्दासम्म लामिछानेलाई भविष्यमा के भन्ने कुनै योजना थिएन। उनी राम्रो पढ्ने र स्कुलमा सधैं प्रथम हुने भएकाले उनका बुबाले भने डाक्टर बनाउने सपना बनाएका थिए। बुबाकै सपना र अध्ययन क्षमताले लामिछाने चिकित्सा शिक्षा अध्ययन गर्न प्रेरित भए।
‘डा उपेन्द्र देवकोटाहरुले पढेको, काम गरेको देखिरहनुभएको बुबाले, यस्तै डाक्टर बनाउनुपर्छ भन्ने सोच भएछ,’ डा लामिछानेले भने, ‘पढ्दै गएपछि आफूलाई पनि डाक्टर नै बन्न मन लाग्यो।’
उनले एसएलसी उत्तीर्ण गरेपछि काठमाडौंको लैनचौरस्थित नेसनल स्कुल अफ साइन्सेसमा कक्षा ११ र १२ पढे। त्यसपछि एकवर्ष घरमै बसेर एमबीबीएस अध्ययनको तयारी गरे। अनि भरतपुरको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) बाट सन् २००० मा एमबीबीएस अध्ययन सुरु गरे। एमबीबीएस अध्ययन पछि करिब तीन महिना पुरानो मेडिकल कलेजमै चिकित्सा अभ्यास गरे। त्यसपछि अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रमा १० महिना काम गरे।
उनले काठमाडौं विश्वविद्यालय अन्तर्गत अर्थोपेडिक्समा एमएस गरेका हुन्। त्यतिबेला एमबीबीएस अध्ययन गरेकाहरु अमेरिका जाने गर्थे। डा लामिछाने पनि अमेरिका जाने प्रयासमा थिए। उनको कार्यक्षेत्र अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रमा थियो। जसले उनलाई अर्थोपेडिक्स पढ्नुपर्छ भन्ने सोचको विकास गरायो। त्यसपछि अमेरिका जाने प्रक्रिया त्याग गरे।
डा लामिछाने सन् २०१० देखि चितवनमा छन्। उनले चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययन पूरा गरेपछि चितवनमा आफैंले अस्पताल सञ्चालन गरेर बसेका हुन्।
श्रीमतीको गहना बेचेर अस्पतालमा लगानी
एमएसको अध्ययन पूरा गरेको करिब आठ महिनापछि लामिछानेले चितवनमा ‘एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर’ स्थापना गरे।
अस्पताल सञ्चालन गर्दा श्रीमतीको गहना नै बेचेर स्वास्थ्य सामग्री खरिद गरेको डा लामिछानेलाई अझै स्मरण छ। ‘धेरै दुःख गरेर यो ठाउँसम्म आइपुगेको हो,’ उनले भने, ‘त्यतिबेला श्रीमतीको गहनासमेत बेचेर हस्पिटलको सामान किनेका थियौं।’
आफैंले सञ्चालन गरेको अस्पतालमा रहेर १० वर्षदेखि बिरामीको सेवामा खटिएका डा लामिछानेसँग बिरामीसँग जोडिएका अनेकन अनुभव छन्। उनले धेरै बिरामीको हाडजोर्नी तथा नशा रोग सम्बन्धी सामान्य तथा जटिल शल्यक्रिया गरेका छन्।
उनले विशेषगरी दुर्घटनामा परेका अर्थोपेडिक्स केसहरु, घाँटीभन्दा मुनिका भागहरु भाँचिएको, ठूला–ठूला घाउ तथा चोटपटक लागेको, नशा चुडिएको, रगत बग्ने, ढाडका नशा च्यापिएको, ढाड भाँचिएका लगायतकाको उपचार गर्दैआएका छन्।
अपांगताको समस्या भएका व्यक्तिहरुको उपचार र शल्यक्रिया सेवा पनि च्यारिटीमार्फत गर्ने गरेको उनले सुनाए। १० वर्षमा हजारौं बिरामी हेरेका डा लामिछाने केही केसहरु भने सँधै सम्झिरहन्छन्।
‘सम्झान लायक केसहरु भन्नुपर्दा विदेशमा गएर उपचारमा लागेर आर्थिक अवस्थाले धान्न नसकेर नेपाल फर्किएकाहरु, खुट्टा काट्नुपर्छ भनिएका बिरामीलाई खुट्टा नकाटी उपचारमार्फत हिड्न सक्ने बनाइएको केसहरु धेरै छन्,’ डा छामिछानेले भने, ‘आठ वर्षदेखि ओछ्यानमा थलिएका बिरामीको उपचार गरेर काम गर्न सक्ने बनाइएको थियो। भरतपुर महानगरमा गोली काण्ड हुँदा खुट्टा छिन्ने अवस्थाका व्यक्तिलाई तीन वर्षसम्म उपचार गरेपछि अहिले अटोरिक्सा लचाइरहेका छन्। यस्तो थुप्रै घटनाहरु सम्झदा खुसी लाग्छ।’
यसरी बनाए भाइरल घर र रिसोर्ट
डा लामिछानेको चितवनमा अस्पताल मात्र होइन, भाइरल घरसँगै ठूलो रिसोर्ट पनि छ। उनको भाइरल घर र रिसोर्ट ठिमुरामा छ। तर, ठिमुरामा जग्गा किन्दै गर्दा उनले त्यहाँ अपांगता भएकाहरुका लागि पुनर्स्थापना केन्द्र बनाउने सोच बनाएका थिए।
उनकी श्रीमतीले जग्गा देखेपछि ठिमुरामा पुर्नस्थापना केन्द्र भन्दा पनि रिसोर्ट बनाउन उपयुक्त हुने सुझाइन्। श्रीमतीकै चाहना र संलग्नतामा रिसोर्ट बनाउन थाले। उक्त रिसोर्ट भाइरल घरसँगै छ।
तर, रिसोर्टको निर्माण योजना बनाएकी उनकी श्रीमति भने रहिनन्। ‘रिसोर्ट बनाउन थालेको एक–डेढ वर्षपछि श्रीमतीलाई क्यान्सर देखियो, उपचार सम्भव भएन,’ डा लामिछानेले सुनाए, ‘म भएपनि नभए पनि रिसोर्ट कम्प्लिट गर्नू भन्थिन्, उसैको चाहना पूरा गर्न यो बनाएँ। श्रीमतीले देख्न त पाइनन्, तर मैले उनको सपनालाई पूरा गरेँ।’
डा लामिछानेको दुखान्त कहानीबारे जानकारी पाउनेहरु ठिमुरा रिसोर्टलाई नियाल्दै भन्ने गर्छन्, ‘मुमताजले बनाएको ताजमहल अथवा खड्गशमशेरको रानीमहलजस्तै डा लामिछानेले भाइरल घर र रिसोर्ट बनाएका छन्।’
क्यान्सर भएकी श्रीमतीलाई बाँचुन्जेल खुसी राखे
डा लामिछानेले एमएस सकिएलगत्तै विवाह गरेका गरेका थिए। उनकी श्रीमती पनि चिकित्सक नै थिइन्।
२०७३ माघदेखि श्रीमती एक्कासी दुब्लाउदै गइन्। खान रुच्न छाड्यो। चिकित्सक नै भएकाले सुरुसुरुमा डाइटिङ गरेर तौल घटाएको होला भन्ने पर्यो। तर, एकदिन छोरासँग खेल्दैगर्दा पेटमा चोट लाग्यो, सोही क्रममा पेटमा डल्ला भेटियो।
पेटमा डल्ला देखिँदा सुरुमा ठोक्किएको होला भन्ने सोचे। तर, केहीदिनसम्म पनि दुखाइ कम नभएपछि भिडियो एक्सरे गराए।भिडियो एक्सरेको रिपोर्टले डाक्टर दम्पतीलाई झस्कायो। पेटको क्यान्सर भएर फैलिएको अवस्थामा रहेछ।
क्यान्सर पत्ता लाग्दा नै चौथौं स्टेजको भएकाले निको हुन सम्भव नभएको नेपाली क्यान्सर रोग विशेषज्ञले बताए। ‘क्यान्सर पत्ता लाग्दा नै चौंथो स्टेजमा पुगिसकेको रहेछ, डाक्टरहरुले त तीन देखि ६ महिना बाँच्ने हो, बाँचुन्जेल खुसी राख्नू भन्नुभयो,’ डा लामिछानेले श्रीमतीलाई क्यान्सर पत्ता लागेको दिन सम्झिए।
भनिन्छ, सास छउन्जेल आस रहन्छ। उनी श्रीमतीको उपचारका लागि भारत, जापान लगायतका देशहरुमा पनि पुगे। उनको हेरचाह र उपचारको प्रयास तथा श्रीमतीको आत्मबलले चिकित्सकले भनेको ६ महिनाको समय लम्बियो।
‘श्रीमतीको मृत्यु भएको दुईवर्ष पुग्यो। उनी मृत्युको दुई हप्ता अगाडिसम्म पनि एक्टिभ नै थिइन्। अन्तिम दुई हप्ता भने गाह्रो बनायो,’ डा लामिछानेले भने, ‘क्यान्सर भएको तीन वर्षको जीवन खुसीयालीमै बिताइन्।’