काठमाडौं– मंगलबार सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) रानी, मोरङबाट खटिएको टोलीले मानव हड्डीसहित एमबीबीएस अध्ययनरत एक भारतीय विद्यार्थीलाई पक्राउन गर्योए। बीओपी रानीका असई प्रभातकुमार गौतमको कमाण्डमा खटिएको टोलीले भारतको बिहार प्रदेशस्थित पूर्णिया ग्रामपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको थियो।
प्रहरीले उनीबाट १ वटा मानव खप्पर, खुट्टाको हड्डी ३ थान, हातको हड्डी ६ वटा, करङ ७ वटा, बंगाराको हड्डी १ वटा, काँधको हड्डी २ वटा, घाँटीको हड्डी १ वटा, हिपको हड्डी १ वटा, ढाडको हड्डी ८ वटा, औलाको हड्डी ८ वटा र कुरकुच्चाको हड्डी ८ वटा बरामद गरेको थियो। रिक्सामा सवार सिन्हाले कार्टुनभित्र उक्त हड्डी राखेर ल्याएको भन्दै पक्राउ गरेर सशस्त्र प्रहरीले उनलाई थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको थियो।
प्रहरीले पक्राउ गरेर विज्ञप्ति जारी गरेको केही समयपछि ती व्यक्ति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत विद्यार्थी रहेको र उनले अध्ययनका लागि हड्डीहरु बोकेको जानकारी पनि बाहिर आयो। तर यतिबेलासम्म प्रहरीले सिन्हालाई पक्राउ गरेर हिरासतमा लिइसकेको थियो।
मानव हड्डीसहित आफ्ना विद्यार्थी पक्राउ परेको सार्वजनिक भएपछि उनलाई तुरुन्त रिहा गर्नुपर्ने भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रहरीलाई पत्र नै लेख्यो।
प्रतिष्ठानले प्रहरीलाई पत्र लेख्दै सिन्हा प्रतिष्ठानका विद्यार्थी रहेको र उनले अध्ययनका लागि आवश्यक पर्ने हड्डी (बोन सेट) ल्याएकाले आवश्यक सहयोग गरी घर जान अनुमति दिन अनुरोध गरेको गर्यो।
‘प्रतिष्ठानमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी आदित्य सिन्हा भारत घर भई हाल विशेष कारणबस घर जाने क्रममा अध्ययनमा आवश्यक पर्ने सामग्रीसहित लिएर जाँदै गरेको अवस्थामा पक्राउ गरी हिरासतमा रहेको जानकारी प्राप्त भएको हुँदा उनी यस प्रतिष्ठानको विद्यार्थी भएको र चिकित्सा शास्त्र अध्ययनमा पुराना बोन सेट पनि आवश्यकता पर्ने भएकाले सिन्हालाई आवश्यक सहयोग गरी घर जान अनुमति दिनुहुन अनुरोध छु’ प्रतिष्ठानले प्रहरीलाई लेखेको पत्रमा भनिएको छ।
प्रतिष्ठानले मेडिकल विद्यार्थीको अध्ययनका लागि हड्डी चाहिने विवरणसहित प्रहरीलाई पत्र लेखर रिहा गरी घर जाने वातावरण बनाउन भनेपछि स्वास्थ्यखबरले सिन्हा रिहा भए नभएको वा प्रहरीले के कारबाही प्रक्रिया अगाडि बढायो भन्ने विषयमा थप जानकारी लिएको छ।
यसरी मानव हड्डी लिएर हिँड्न मिल्ने–नमिल्ने वा पक्राउ परेका सिन्हा तथा उनीजस्तै अवस्थामा मेडिकल विद्यार्थी फेला परे भने के कारबाही हुन्छ भन्नेबारे हामीले खोज्ने प्रयास गरेका छौं।
सशस्त्र प्रहरी बलको ३ नम्बर कंकालनी गणका गणपति राजकुमार लामिछानेले मंगलबार नै स्वास्थ्यखबरसँग कुरा गर्दै उनलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानी पठाइएको बताएका थिए। त्यसकारण हामीले इलाका प्रहरी रानीका प्रमुख तथा प्रहरी निरीक्षक महेन्द्र दर्नाललाई एमबीबीएस विद्यार्थी सिन्हाको बिषयमा के हुँदैछ भनेर जानकारी माग गर्यौंम।
यसबारे जवाफ दिँदै दर्नालले भने, ‘नजिकै कार्यालय भएकाले सशस्त्रले हाम्रो जिम्मा लगाएको हो। हामीले हिजै (मंगलबार)जिल्ला पठाइसक्यौं। अब कुन कानून अनुसार कारबाही हुन्छ त्यो जिल्लालाई नै जानकारी होला।’
पक्राउ परेका सिन्हालाई रानी प्रहरीले मंगलबार नै जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको जानकारी पाएपछि हामीले मोरङ प्रहरीसँग जानकारी लियौं।
मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक (डीएसपी) दीपक श्रेष्ठले सिन्हाको विषयमा कुनै पनि कानून आर्षित नहुने देखिएपछि परिवार तथा प्रतिष्ठानको जिम्मा लगाइएको जानकारी दिए।
‘मानव हड्डी बोकेर हिँड्नेलाई कारबाही गर्नका लागि भनेर कुनै पनि कानून आकर्षित हुने देखिएन। एक त उनी एमबीबीएस अध्ययनरत विद्यार्थी रहेको र रिहा गर्नुभन्दै प्रतिष्ठानले पत्र समेत लेखेपछि हामीले जिम्मा लगाइसकेका छौं’ डीएसपी श्रेष्ठले भने।
उनले मेडिकल विद्यार्थीहरुले यसरी मानव हड्डी बोकेर हिँड्नु पर्ने अवस्था आएमा सम्बन्धित शिक्षण संस्थाको पत्र (अध्ययन प्रयोजनका लागि मानव हड्डी लिएको) बोकेमा आगामी दिनमा सिन्हाको जस्तो समस्या भोग्नु नपर्ने बताए।
‘यसरी मानव हड्डी बोकेर हिँडेकै भरमा कारबाही गर्ने कानूनी आधार त देखिएन,' उनले भने, 'तर मानव हड्डी नै बोकेर हिँडेको फेला परेपछि प्रहरीले अनुसन्धान त गर्नैपर्छ। त्यसकारण मेडिकल विद्यार्थीले सम्बन्धित शिक्षण संस्थाको पत्र लिएको भए अहिलेको जस्तो समस्या आउने थिएन।'
यदी बरामद भएका यस्ता हड्डीमा कोही व्यक्ति वा परिवारले आफूले चिनेको वा आफन्तको हड्डी हो भनेर दाबी गर्दै निवेदन दिएको अवस्थामा भने अनुसन्धान गरेर कारबाही गर्ने कानून भनेर रहेको जानकारी डीएसपी श्रेष्ठले दिए।
डीएसपी श्रेष्ठले भनेजस्तो यसअघि यस्तै घटनामा कारबाही नै नगरी दुई जनालाई छाडिएको समेत पाइएको छ। सशस्त्रले नै यसअघि गत असोज १८ गते पनि विराटनगर–१५ बाटै मानव हड्डी बरामद गरेको थियो। भारतबाट नेपाल प्रवेश गरेको को२च ९६४८ नम्बरको मारुती भ्यान खानतलासी गर्दा सशस्त्रले मावन खप्परको हड्डी २८ थान र नली खुट्टा एवं हातको हड्डी १० थान बरामद गरेको थियो। उक्त हड्डीसहित बरामद भएका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई पनि कानूनको अभावमा अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो। पछि उनीहरु रिहा भएका थिए।