चिकित्सक वा कुनै स्वास्थ्यकर्मीले गर्ने कुनै पनि उपचार, औषधि वा परीक्षण वा तपाईंलाई दिने सुझावले आफ्नो स्वास्थ्यको बारेमा स्पष्ट हुन सघाउँछ। राम्रो उपचारको आशा गर्ने हो भने डाक्टरकहाँ जानुअघि के सोध्ने र के नसोध्ने भन्ने विषयमा पहिल्यै प्रष्ट हुनुपर्छ। चिकित्सकलाई प्रश्न सोध्ने र त्यसबारेमा जानाकारी लिने भन्नुको अर्थ आफ्ना लागि उपयुक्त स्वास्थ्य सम्बन्धि निर्णय लिएको बुझिन्छ।
आफूले सेवन गरिरहेको औषधिको नाम सम्झनुहुन्न भने लेखेर चिकित्सककहाँ जानु राम्रो हुन्छ। यदि त्यो पनि सम्भव नभए खोलसहित औषधिको नमूना लैजाँदा उत्तम हुन्छ। आफ्नो स्वास्थ्य बारे जानकारी लिने र राम्रो उपचार पाउने हो भने निम्न कुरा सोध्नुहोस्।
स्वास्थ्य समस्याबारे
तपाईंलाई भइरहेको अवस्थालाई चिकित्सकीय भाषमा के भनिन्छ। यसलाई अन्य कुनै नामले पनि चिनिन्छ कि?
यो लेखेरै दिनुहोस् न?
अवस्था कत्तिको गम्भीर छ?
के कारणले यस्तो समस्या भयो?
यो रोग अन्य मानिसलाई सर्छ कि सर्दैन?
उपचार आवश्यक छ कि छैन? यदि छ भने कस्तो उपचार गर्ने?
मैले अन्य कुनै चिकित्सक वा विशेषज्ञलाई देखाउन जरुरी छ कि?
मेरो तर्फबाट कुनै सुधार गर्न आवश्यक छ कि?
यो रोग कति समय रहला?
उपचार प्रक्रियाबारे
उपचार अन्तर्गत विभिन्न विषय पर्छन्। जस्तैः औषधि, उपचार विधि, जीवनशैली परिवर्तन (पोषण र व्यायाम), फिजियोथेरापी इत्यादि।
यो उपचार कत्तिको प्रभावकारी छ?
यसको कुनै खतरा वा साइड इफेक्ट छ कि छैन?
यो अवस्थालाई उपचार गर्ने अन्य तरिका पो छन् कि?
कति समय मैले यसको उपचार गर्नुपर्छ?
उपचार नगरे के हुन्छ?
उपचार खर्च कति लाग्छ?
उपचारमा कुनै छुट हुन्छ कि हुँदैन?
औषधिबारे
यो औषधि मलाई किन आवश्यक छ?
यो औषधि कति समय खान आवश्यक छ?
यो औषधि खाँदा कुनै साइड इफेक्ट हुन्छ कि?
यदि मैले कुनै साइड इफेक्ट महशुस गरे के गर्ने?
यसको विकल्पमा अन्य कुनै औषधि पो छन् कि?
यो औषधि नखाए मलाई के हुन्छ? स्वास्थ्य अवस्था झन् जटिल हुन्छ कि?
यो औषधि मैले कतिखेर खाने?
खानासँग खाने कि पानीसँग?
औषधि खाँदा के खान वा पिउन हुँदैन?
औषधिलाई कहाँ राख्न सकिन्छ?
यदि औषधि पसलले भिन्न ब्रान्डको उही औषधि दियो भने खान हुन्छ कि हुँदैन?
नियमित डोज खान बिर्सें भने के हून्छ?
गर्भवती अवस्थामा यो औषधि कसरी खाने?
औषधिलाई कति पर्छ?
परीक्षणबारे
तपाईंलाई विभिन्न परीक्षण आवश्यक हुन सक्छ। जस्तै रगत, पिसाब, एक्सरे, स्क्यान इत्यादि। कुनै परीक्षण निकै
सामान्य हुन्छन् भने केही जटिल हुन्छन्। परीक्षणबारे निम्न प्रश्न गर्न सकिन्छ?
केका लागि परीक्षण गर्ने
कसरी परीक्षण गर्ने?
कहिले–कहिले परीक्षण गर्ने?
परीक्षण गर्दा के फाइदा हुन्छ?
कुनै वैकल्पिक परीक्षण पो छन् कि?
परीक्षणको परिणाम कत्तिको सत्यतथ्य हुन्छ?
सकरात्मक परिणाम आयो भने के हुन्छ?
नकरात्मक परिणमले के हुन्छ?
यो परीक्षणले रोग थाहा पाउन सहयोग गर्छ?
परीक्षण अगाडि नियम पालना (भोकै बस्ने वा ग्लुकोजा खाने) गर्नु आवश्यक छ कि?
परीक्षणको खर्च कति लाग्छ?
कति–कति समयमा मैले परीक्षण गर्न आवश्यक छ?
परीक्षणको परिणाम कहिले आउँछ (केही घन्टा, दिन, साता इत्यादि)?