नयाँ वर्षको सुरुतिरै एक सामान्य मान्छेको असामान्य आत्मकथा प्रकाशित भएछ। सामान्य यस अर्थमा कि लेखक कुनै राजनेता, उच्चपदस्थ कर्मचारी, सेनाको जर्नेल, अर्बपति व्यापारी, उपकूलपति, सेलिब्रिटी कलाकार होइनन्। बरु उनी त तपाईं र मजस्तै एक आममान्छे हुन्, जसको जीवनकथा भुइँमान्छेको संघर्षले भरिएको छ।
असामान्यचाहिँ यस अर्थमा कि एउटा मध्यमवर्गीय परिवारमा एउटा पुत्र, पति र पिताको भूमिका, सहायकस्तरको सरकारी कर्मचारी र अकस्मात आइपरेको कडा स्वास्थ्य समस्याविरुद्धको अनवरत लडाइँ अनि विकसित समभाव र दार्शनिक चेत।
गोर्खाको तान्द्राङमा पाँच दशकअघि जन्मिएका लेखक गाउँकै संस्कृत माध्यमिक विध्यालयबाट प्रारम्भिक अध्ययन, आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण र उच्च शिक्षाका लागि राजधानी छिरेपछि पढाई अपुरो रहँदै जागीरको सिलसिलामा पाल्पा पुग्छन्। त्यसपछि जीवनको सबैभन्दा ऊर्जामय समय कसरी त्यो माटोमा खर्चिन्छन् भन्ने जान्न, बिरानो ठाऊँमा समायोजन हुने क्रममा कसरी जीवनशैलीमा समेत परिवर्तन भयो भन्ने थाहा पाउन र तत्कालीन अवस्थामा नेपाली भूगोलको एउटा कुनोको मान्छेलाई अर्को कुनोको मान्छेले कसरी आत्मीयतापूर्वक ग्रहण गर्थ्यो भन्ने बुझ्न यो आत्मकथाले सहयोग गर्छ।
एक मिर्गौला रोगीको रुपमा आफूलाई प्रस्तुत गर्दै लेखकले आफ्नो बाल्यकाल, स्कुले जीवन, जागिरे अवधि, हाल सेवानिवृत्त जीवनसम्मका उल्लेखनीय सम्झनाको फेहरिस्त दिएका छन्।
जनस्वास्थ्यको विद्यार्थीकौ हिसाबले, खानपिनको सम्बन्धमा उनको प्रश्न र संजय गान्धी पोस्ट ग्राजुएट संस्थान, लखनउका प्राध्यापक तथा वरिष्ठ नेफ्रोलोजिस्ट डा एम एस भदौरियाको सल्लाह एकदमै महत्वपूर्ण छ। तर के बसाईसराईको क्रममा आधुनिकतासँगै हाम्रो भान्सामा भित्रिएका (अ)खाद्य पदार्थहरुलाई गाऊँघरमा त्यो बेला पाइने विषादीरहित खाने कुराहरुले हटाउन सक्ला त?
त्यसैगरी बाल्यकालको सम्झनामा, लेखक लुतो फाल्ने साउने संक्रान्तिको कुरा गर्छन् जसमा त्यो बेलाको धुलो माटोमा खेलिने, पानीको अभाव, हत्पत्ति नुहाउन नपाइने कुरासँग लुतो, खटिरा, दाद आदि छालाका रोगहरु लाग्ने र विभिन्न वनस्पतिहरु जस्तै कुकुरडाइनो, पुरेनी, भलायो, कुरिलो आदि जम्मा गरी साँझ अगुल्टोसहित चार दिशामा फालेपछि छाला रोगबाट मुक्त हुने भन्ने विश्वास रहेको कुरा गर्छन्। साथै आजकल समयसँगै छाला रोग पनि घट्दै गएको अनि त्यो संस्कार पनि हराउँदै गएको कुरा गर्छन्।
स्वास्थ्य विज्ञानमा इपिडेमियोलोजी भन्ने एउटा विषय हुन्छ । यो विषयका थुप्रै अरु क्षेत्रमध्ये रोगव्याधीहरुको मौसमी सम्बन्ध व्याख्या गर्नु पनि हो। लेखक स्वास्थ्यकर्मी त होइनन् तर उनको गाउँमा त्यतिबेला हिउँद लागेपछि के कस्ता रोग देखिन्थे भनेर सम्झिन्छन्। सँगै त्यतिबेलाको सामाजिक, आर्थिक अवस्था, लुगाफाटो आदिको कारणले हुन सक्ने पनि भन्छन्। त्यसैगरी बिरामी परेपछि उपचारका लागि जेठाबाले छामेको नाडी, नाईटो वरिपरी घुमाएको हँसिया सम्झिन्छन्। रोगको निदान पनि पिशाच लागेको, नेपाले व्यथा, जुका परेको, बेगार परेको आदि। व्याख्या जे सुकै भए पनि जेठाबाले नाडी फुकेपछि निको हुन्थ्यो रे।
किशोरावस्था जीवनको महत्वपूर्ण अवस्था हो भनेर त्यसै भनिएको होइन। १८ वर्षे उमेरमा जागीरको सिलसिलामा घर छोडेर हिडेपछि र आफ्नो घर परिवार, मान्यजनबाट टाढा रहँदा, साथीभाईको संगतसँगै कसरी मान्छेले चालै नपाई आफ्नो बानी व्यहोरा परिवर्तन गर्दै जान्छ र त्यसले उसलाई नसताउन्जेलसम्म मान्छेले होसै पाउँदैन । ठीक यही बेला मद्यपानको अम्मली भएका लेखकलाई त्यसो हुनमा उनकै नियमित मासिक आम्दानी पनि सहायक भयो होला।
त्यसैगरी गरी लेखकले मान्छेहरुको थातथलो परिवर्तनसँगै कसरि दाजुभाइ, इस्टमित्रहरुसँग पनि टाढा भइन्छ र सामाजिक सहायता प्रणाली कमजोर हुँदै जान्छ भन्ने चिन्ता उदाहरणसहित प्रकट गरेका छन्।
नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने तथा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वन्चित गरिने छैन भनेर कबुल गरेको छ। तर यसरी कबुल गरेबमोजिम स्वास्थ्य सेवा पु¥याएको छ कि छैन भन्ने कुरा बुझ्न जब लेखकको शरीरमा एक्कासी रगतमा क्रियटिनिन बढेर १३ पुग्छ तब तत्काल डायलासिसमा बस्न कति कठिनाई भयो भन्ने कुरा पढे पुग्छ।
काठमाडौँका सबै अस्पतालमा बेड खाली नभएपछि सधै जाँच गर्ने डाक्टरले १ सिट मिलाइदिन्छन् र १ हप्ता भर्ना गरेर ३ पटकसम्म डायलासिस गरेर क्रियटिनिन घटेपछि, थप १५ दिन काठमाडौँ बसेर फेरि रगत जाँच्दा केही समय धान्ने भनेर डाक्टरले भनेपछि प्रत्येक महिनामा आउजाउ गर्ने गरी घर जान्छन्। एउटा जागिरे मान्छेको त पुरा मासिक तलब फलोअपमा मात्र खर्च हुन्थ्यो भने यस्तो समस्या हुने अन्य सामान्यजनको के हालत होला?
यस कथाको अर्को पाटो जो विना कथा अपुरो छ, उनी हुन् लेखककी श्रीमती । एक साहसी महिला जसका बारेमा पुरा बुझ्न किताब नै पढ्नु पर्छ। यो कुरालाई लेखकले सिधा तथा आफ्नै कृषिकर्मको विम्ब तथा चिकित्सकीय प्रविधिको तुलना गरेर पनि प्रस्तुत गरेका छन्। समीक्षकको रुपमा यो कुराको सार खिच्न तथा व्याख्या गर्न मेरो क्षमता पुग्दैन।
त्यसैगरी, सरकारी नीति र परराष्ट्र सम्बन्धले कसरी दाहालजस्ता मृगौलारोगीहरुको प्रत्येक दिनलाई छोएको छ भन्ने कुरा बुझ्न पनि यो कृतिले सघाउने छ। यस विषयमा एउटा सरकारको राम्रो र हितकारी निर्णयहरु समेत अर्कोले उल्टाउने अनि बारम्बार सरकार परिवर्तन हुने हाम्रोजस्तो देशमा सुरुको आशापछि कसरी निराशामा बदलियो भन्ने कुरा लेखक बताउँछन्।
अन्त्यमा, नेपाल–भारतको खुल्ला सीमा र साँस्कृतिक सम्बन्धमा कहिलेकाहीँ पर्ने राजनीतिक हिलोले उपचारका लागि पनि वारीपारि गर्नेलाई पर्ने असुविधाप्रति पनि दाहालले आफ्नो अनुभवमा आधारित धारणा पेश गरेका छन्।
यो पुस्तक एउटा संघर्षशील मनको आत्मकथा हो। यो पढ्दै गर्दा मलाई अभिनेत्री मनिषा कोइराला र साहित्यकार जगदीश घिमिरेको झल्झली याद आयो, जसले पनि आफ्नो व्यथासँग जुधेका कथा आफ्नै रचनामार्फत् भनेका छन्। फरक यत्ति हो कि मनिषा र जगदीशसँग जस्तो साधन र स्रोत दाहालसँग थिएन। तर रोगसँग लड्ने आत्मबल भने पक्कै थियो।
कहिलेकाहीँ हामीहरु पनि आफूहरुसँग थोरै भए पनि भएको साधन, श्रोत, उपलब्ध पारिवारिक तथा सामाजिक सहायता प्रणालीलाई नदेखी तत्कालमा नभएकोजस्तो देखिने तर हुनसक्ने कुराहरु मात्र आफ्नो समय र मन लगाएर दुःखी भईरहेका हुन्छौं। दाहालको कथाले वास्तविक दुःखको स्वरूप सामान्य अवस्थामा हामीले मेरो यो भएन वा त्यो भएनभन्दा निकै माथिको हुन्छ र जस्तोसुकै अवस्थामा पनि हार खानु हुँदैन भन्ने कुरा पनि सिकाउँछ।
लेखक आफैँले प्रकाशन गरेको र कुनै व्यावसायिक प्रकाशकको संलग्नता नभएर पनि होला यस्तै र यत्तिकै आकारका अन्य पुस्तकभन्दा निकै सस्तो मूल्यमा भइकन पनि कागजको गुणस्तरमा सम्झौता गरिएको छैन। अझै पनि वितरकको व्यवस्था गर्न सके पुस्तकले राम्रो चर्चा पाउने सम्भावना रहेको छ। त्यसैले यो किताब सबै आम मान्छे तथा विशेषगरी स्वास्थ्यकर्मीहरुलाई पढ्न अनुरोध गर्छु।
कृति-मुमूर्षा
लेखक-चिरञ्जीवी दाहाल
विधा-आत्मकथा
मूल्य-३५०
प्रकाशक-लेखक स्वयं
ढकाल स्कुल अफ पब्लिक हेल्थ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छन्।