काठमाडौं- सरकारले कारबाहीको सिफारिसमा परेका र विवादै विवादमा मुछिएका डा पुकारचन्द्र श्रेष्ठलाई उमेरहदका कारण अनिवार्य अवकाश पाए पनि शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नै निरन्तर रहने गरी कानुन नै संशोधन गरेको छ।
सरकारले मानव अङ्ग प्रत्यारोपण विकास समितिको गठन आदेशमा संशोधन गर्दै भदौबाट अवकास पाउन लागेका डा श्रेष्ठलाई कार्यकारी निर्देशकमा निरन्तरा दिने गरी बाटो खोलिदिएको हो। असार २ मा सरकारले मानव अङ्ग प्रत्यारोपण विकास समिति (गठन) (तेस्रो संशोधन) आदेश, २०७९ को दफा ६ को उपदफा ३ (क) थप गरेको छ।
जसमा भनिएको छ ‘उपदफा २ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त भएको चिकित्सक नेपाल स्वास्थ्य सेवा वा केन्द्रको सेवाबाट अवकास हुने भएमा समेत उपदफा (३) बमोजिमको अवधीसम्म कार्यकारी निर्देशकको पदमा बहाल रही रहन बाधा पर्ने छैन।’ डा पुकार भदौमा ६० वर्ष उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन्। तर सरकारले अहिले नै गठन आदेश संशोधन गर्दै उक्त पदमा डा पुकारलाई नै निरन्तर हुने व्यवस्था मिलाइदिएको हो।
डा पुकारको केन्द्रमा यो तेस्रो कार्यकाल हो। केन्द्रमा रहँदा उनी सँधै विवादमा आउने र अनियमिततामा मुछिएका छन्। दुई कार्यकाल केन्द्रको निर्देशक हुँदा केन्द्रमा अनियमितता गरेको प्रमाणित हुँदा पनि सरकारले कारबाही गर्न सकेको थिएन। यस्तै केन्द्रमा रहँदा उनले कर्मचारीहरुलाई शोषण गरेको आरोप समेत लागेको थियो।
दुई कार्यकाल नै विवाद र अनियमिततामा मुछिएका डा पुकारलाई सरकारले गत वर्षको असोजमा कारबाही नगरी निर्देशक बनाएको थियो। केन्द्रको निर्देशक पद ४ वर्षको हुनेछ।
६० वर्ष उमेहदका कारण अवकाश पाउनु पर्ने डा श्रेष्ठलाई सरकारले थप तीन वर्ष काम गर्ने मिल्ने गरी कानुन नै संशोधन गर्नु गलत भएको स्वास्थ्य मन्त्रालयका कर्मचारी बताउँछन्। उनी स्वास्थ्य सेवा तर्फका १० औं तहका कर्मचारी हुन्।
'१० औं तहका एक जना कर्मचारीका लागि सरकारले राज्यशक्तिको दुरुपयोग गरेको छ,' मन्त्रालयका एक कर्मचारीले भने, 'उमेरका कारण अवकाश पाउने एकजना व्यक्तिलाई नै निर्देशकमा निरन्तरता दिन कानुन नै संशोधन गर्नु राम्रो कुरा होइन। नेपालमा उनीजस्ता धेरै डाक्टरहरु छन्।'
हेरौं संशोधित राजपत्रमा रहेको व्यवस्था
केन्द्रको दुई कार्यकाल निर्देशक हुँदा संस्थागत हितभन्दा पनि आफ्नो निजी अस्पताल निदानमा बिरामीलाई प्रयोगशाला परीक्षणमा पठाउने काम गर्दै आएका डा श्रेष्ठ लामोसमयदेखि मन्त्री तथा नेताको दैलो चहार्दै हिँडेका थिए।
प्रत्यारोपण केन्द्रको निर्देशक हुँदा डा पुकारले गायिका आनी छोइङ डोल्माका नाममा समेत निजी अस्पताल निदानमा व्यापार गर्दै आएका थिए। आफ्नो नामको दुरुपयोग भएको चाल पाएपछि आनी र डा पुकारबीच विवाद उत्पन्न समेत भएको थियो।
मन्त्रालयले नै गरेको थियो कारबाही सिफारिस
प्रत्यारोपण केन्द्रका निर्देशकका रुपमा डा पुकारले गलत काम गरेको निष्कर्ष निकाल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै उनलाई कारबाही सिफारिस गरेको थियो। स्वास्थ्य मन्त्रालयका तत्कालिन चिकित्सा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठको संयोजकत्वमा गठित समितिले डा पुकारलाई कारबाही सिफारिस गरेको थियो।
तत्कालिन समयमा स्वास्थ्य सचिव पुष्पा चौधरीलाई डा पुकारले माथिल्लो तहबाट दबाब र प्रभावमा पारेर उक्त कारबाहीको फाइल नै लुकाउन सफल भएका थिए।
डा भोलाराम श्रेष्ठको समितिले डा पुकारले कर्मचारीहरु माथि अन्याय गरेको, कर्मचारी नियुक्ति प्रक्रिया नियम अनुसार नगरेको, अस्पतालमा नर्सहरुले गरिरहेको आन्दोलन र कर्मचारीको समस्या समाधान गर्न नसकेको लगायतका समस्या देखाउँदै कारबाहीको सिफारिस गरेको थियो।
डा पुकारले अस्पतालमा नर्सहरुलाई धम्की दिने गरेको भन्दै अस्पतालमा नर्सहरुले लामो समयसम्म आन्दोलन गरेका थिए। यहाँसम्मकी अस्पतालभित्रै नर्सहरुले आमरण अनसन समेत बसेका थिए। नर्सहरुले डा पुकारले अन्याय गरेको भन्दै मन्त्रालयमा समेत उजुरी दिएपछि छानबिन समिति बनेको थियो।
यो पनि
मिर्गौला 'तस्करी' प्रकरण : 'सेटिङ'मा डा पुकारचन्द्र श्रेष्ठको पनि हात रहेको प्रतिवादीको बयान
गायिका आनीका नाममा निजी अस्पतालमा व्यापार गर्दै डा पुकार
प्रत्यारोपण केन्द्रकै डाक्टरले निर्देशक पुकारलाई दिए अहंकारी र हृदयहीनको संज्ञा
कारबाही गर्नुपर्ने विवादित डा पुकार प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त